बानेश्वर बसस्टपमा ट्राफिकको संख्या थपियोस्


कार्यालय समयमा सार्वजनिक गाडीहरू जब यात्रु लिएर नयाँ बानेश्वरको बसस्टपमा पुग्छन्, यात्रुहरू गाडीमा ओर्लने र चढ्ने कार्य सकिएपछि केही बेरसम्म गाडी चालकहरू त्यहीँ रोकिन्छन् । धेरै भन्दा धेरै यात्रु गाडीमा खाँद्नु र यात्रुहरू कुरेर बस्नु गाडी चालकहरूको लागि दैनिकी नै भइसकेको छ । यसको कारण सार्वजनिक गाडीमा चढेका यात्रुहरू समयमै गन्तव्यमा पुग्न कठिनाइ हुन पुगेको छ ।

ट्राफिक प्रहरीले त्यस क्षेत्रतिर ड्युटी निभाएका छन् । तर उनीहरुको संख्या नै थोरै हुँदा गाडी चालकको मनोमानी देखिन्छ । यात्रुहरू कुरेर बसेका सार्वजनिक गाडीहरूलाई तुरुन्तै त्यहाँबाट जान र भीडभाड नगर्न ट्राफिक सक्रिय रुपले लागे पनि ट्राफिकलाई छल्दै ती गाडीहरू अलि पर पुगेपछि फेरि यात्रुहरू कुरेर बस्न थालिहाल्छन् ।

ट्राफिकहरूले आफ्नो ड्युटी निभाए तापनि पूर्ण प्रभावकारी हुन सकेको देखिँदैन । गाडी चालकहरूले पनि अटेरी गर्ने क्रम बढेको छ । यसका कारण यात्रुहरू नयाँ बानेश्वरको बसस्टपतिर धेरै बेर रोकिन्छन्, जसले गर्दा गन्तव्यतिर बेलैमा पुग्न कहिल्यै पनि पाउँदैनन् ।


यात्रुहरू समय बिताउनको लागि गाडी चढ्न आएका हुँदैनन् । काम विशेषले नै गन्तव्यमा पुग्न गाडी चढ्न आएका हुन्छन् । गाडी चालकहरूले यात्रुहरूको यो समस्या बुझ्दैनन् । उनीहरू त आर्थिक उपार्जनका लागि धेरैभन्दा धेरै यात्रुहरू गाडीमा खाँद्न चाहन्छन् । यो अवस्थाबाट यात्रुले पार पाउन गाह्रो परेको छ ।

यसैले नयाँ बानेश्वरको बसस्टप, जहाँ कोटेश्वरबाट आएर रोकिएका तथा माइतीघरबाट आएर पनि रोकिएका सार्वजनिक गाडीहरूलाई धेरै बेरसम्म त्यहाँ रोकिन नदिईकन तुरुन्तै त्यहाँबाट कुदाइहाल्नका लागि कमसे कममा पनि तीन–चारजना ट्राफिक प्रहरी थप गर्नुपर्ने देखिन्छ ।

सीमित ट्राफिकबाट आशा गर्न सकिँदो रहेनछ । उनीहरूको बर्गतले नै भ्याउँदो रहेनछ । बानेश्वर स्टपमा ट्राफिक प्रहरीको संख्या थप गर्न सकिएको खण्डमा सार्वजनिक गाडीमा चढ्ने यात्रुहरू धेरै बेरसम्म त्यहाँको बसस्टपमा अल्झिरहन पर्दैन भने बेलैमा गन्तव्यसम्म पुगी आफ्नो काम गर्न पाउँछन् पनि । यसैले सम्बन्धित निकायको ध्यान यस विषयमा तुरुन्तै जानु आवश्यक देखिन्छ ।
– बोधनाथ पौडेल
नयाँ बानेश्वर, काठमाडौं ।