मुलुकमा व्याप्त रोग, भोक र गरिबीका कारण यहाँका कैयौँ नगारिक आक्रान्त छन् । बाढी–पहिरो होस् वा भूकम्प, कुनै पनि प्राकृतिक प्रकोपको सबैभन्दा बढी मार खेप्नुपर्ने नै दुःखी, गरिब र विपन्न जनताले नै हो ।
हामीकहाँ धनी र गरिबबीचको खाडल झन्–झन् गहिरिँदै छ । धनीहरु झन् धनी र गरिबहरु झन् गरिब हुनुपर्ने दुःखदायी अवस्था छ । यो सबै हाम्रा शासक र सरकारहरुले देखाउँदै आएको भ्रष्ट चरित्रको उपज हो । हामीकहाँ जनतालाई समृद्ध र धनी बनाउने विषय शासकको दिमागमा कहिल्यै पनि आउँदैन । त्यसैले पनि गरिब जनता सधैँ गरिबीको दुश्चक्रमा पिल्सिएर बस्न र विभिन्न खाले विपत्तिको सामना गर्न विवश छन् ।
चारैतिर निराशाको बादल मडारिरहेको छ तर पनि आशा भने मार्नुहुँदैन । देश बन्न सकेन, शासकहरु भ्रष्ट र अनैतिक भए, कर्मचारीहरु पनि भ्रष्टाचारमा नै लिप्त भए भन्ने आम सर्वसाधारणको गुनासोलाई अब शासक–प्रशासकहरुले गम्भीरतापूर्वक लिएर सच्चिनुको विकल्प छैन ।
त्यसैले हाम्रा प्रधानमन्त्री, मन्त्री तथा आम कर्मचारी क्षेत्र नैतिक र सदाचारी बन्नै पर्छ । सत्यलाई स्वीकार गर्ने, सत्यलाई सामना गर्ने र सत्यका निम्ति जस्तोसुकै दुःख बेहोर्न सक्ने हिम्मत नै सदाचारिता हो । सदाचार यस्तो गुण हो, जुन जस्तोसुकै प्रभाव र दबाबबाट पनि भाँचिदैन । कसैले नहेरेको वा नदेखेको अवस्थामा पनि आफ्नै अन्तष्करणबाट आफू को हँुं र आफ्नो गन्तव्य के हो ? भन्ने कुरामा अविचलित रहने चरित्र नै सच्चरित्रता हो ।
चरित्रको पूर्णता, विस्तृतता र व्यापकता नै सदाचारिता हो । यो सम्झौता वा छनौटमा आधारित हुँदैन । यो अविच्छिन्न, नित्य र सम्झौताहीन प्रकृतिको हुन्छ । विजय वा पराजय, प्राप्ति वा अप्राप्ति जेसुकै भए पनि नैतिक मार्गदर्शनमा अविचलित हिँडिरहने प्रतिज्ञा नै सदाचारिता हो । अब हाम्रा शासकहरु तथा राजनीतिक नेतृत्व तन–मनले सच्चिएर नैतिक र सदाचारी बन्नै पर्छ । अन्यथा उनीहरु पतन हुन तयार रहनुपर्छ ।
व्यक्तिगत फाइदासँग शक्तिको साटफेर भ्रष्टाचार हो । यस्तो प्रवृत्तिले सदाचारितालाई नष्ट गर्छ । सार्वजनिक ओहोदामा बसेकालाई अनैतिक बनाउँछ । त्यसैले सार्वजनिक ओहोदामा बसेकाहरुले पदीय दुरुपयोग गर्नुहुँदैन । सार्वजनिक अधिकारी सार्वजनिक हित प्रवद्र्धनको लागि मात्र नियुक्त भएका हुन्छन्, भष्टाचार गर्न होइन । यस अर्थमा भ्रष्टाचार सार्वजनिक अधिकारीको सामान्य होइन, विचलित व्यवहार हो ।
सदाचार प्रवद्र्धन गर्ने भनेको शक्तिको व्यापार गर्ने असंख्य अवसरबाट घेरिएको निर्वाचित वा नियुक्त सार्वजनिक अधिकारीलाई भ्रष्टाचार गर्नबाट रोक्नु हो । सदाचारिता गुमाएका व्यक्तिको आचरणका सम्बन्धमा अनुमान गर्न सकिँदैन । अनिश्चित स्वभाव भएका व्यक्तिलाई विश्वास गर्न सकिँदैन । शासकीय पद्धतिमा त्यस्ता अविश्वसनीय व्यक्तिहरुको उपस्थितिले शासन प्रणालीलाई भताभुंग पार्दछ । यसर्थ सदाचारको विपरीत अवस्था नै भ्रष्टाचार हो ।
मेहनतविना धन आर्जन गर्न खोज्ने व्यक्तिले छोटो उपायको खोजी गर्छन् । त्यस्ता छोटो उपाय खोज्ने राजनीतिक नेतृत्व तथा कर्मचारीले आफ्नो जिम्मेवारी, कर्तव्य र मूल्यहरुसँग सम्झौता गर्छन् र भ्रष्टाचारमा अभ्यस्त हुन्छन् । आज हामीकहाँ यस्तै व्यक्तिहरुको वर्चश्व छ, राजनीतिक नेतृत्व होस् कि प्रशासनिक नेतृत्व होस् ।
त्यसैले पनि मुलुक भ्रष्टाचारको आहालमा डुब्न बाध्य छ र नागरिकले विभिन्न खाले संकट व्यहोर्न बाध्य भइरहेका छन् । क्लिजगार्ड सदाचारितामार्फत भ्रष्टाचार उन्मूलन गर्न नसकिए पनि घटाउनचाहिँ सकिन्छ भन्छन् । सिंगापुर, थाइल्यान्ड, हङकङ आदि देशको अनुभवले छोटो अवधिमा पनि भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने देखाएको छ । त्यसैले शासक–प्रशासकहरु सदाचारी र नैतिक बन्नै पर्छ ।
प्रतिक्रिया