पोखरा । सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हालै ब्याक टु नाइन्टिज विरासतलाई फर्केर हेर्दा कार्यक्रमको आयोजना ग¥यो।
९० को दशक नेपाली संगीतको क्षेत्रमा स्वर्ण युग नै मानिन्छ। अझ यो दशक पोखराको लागि खास रह्यो। यही दशकमा पोखराबाट कयौँ ब्यान्डको उत्पत्ति र विकास भयो। त्यही दशकलाई अहिलेका युवामाझ बाँड्न पोखरामा स्थापित ब्यान्डहरूको थलो बन्यो ब्याक टु नाइन्टिज।
सांगीतिक विरासत फर्काउने उद्देश्यका साथ आयोजना गरिएको कन्सर्ट ऐतिहासिक बन्न पुग्यो। पोखरामा युवा पुस्तालाई ९० का संगीत समेत सुनाइयो। कन्सर्टमा ९० को दशकका चर्चित पोखरेली ब्यान्डहरू कन्दरा, द मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्यान्ह र भोगाबोण्ड ब्यान्डले आफ्नो प्रस्तुति दिएका थिए।
ती ब्यान्डले प्रस्तुत गरेका पुराना पप गीतमा युवापुस्ता निकै झुम्यो। कन्सर्टमा कन्दराले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया, हङकङ पोखरालगायतका गीत प्रस्तुत गरेको थियो। द–मर्चा ब्यान्डका भाष्करध्वज श्रेष्ठ ले झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली तथा लेकाली ब्यान्डका हर्कराज गुरुङ – भाइ र नवीन गुरुङले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर, देउराली ब्यान्डका शान्त बज्राचार्यले देउरालीले ढुंगे साँघुको मेलामा, लुकीचोरी र सररर हावा प्रस्तुत गर्दा ब्रोसिस ब्यान्डका प्रकाश रानाले चाइना कम्पनी र जादू तिम्रो नजरले, मध्यान्ह ब्यान्डका कर्णदास र कुमार गुरुङले जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत गुञ्जाउँदा भेगाबोन्ड ब्यान्डका श्यामसुङ तामाङले यो जिन्दगानी र उकाली चढी गीत प्रस्तुत गरेका थिए।
‘हामीले यो ऐतिहासिक काम ग¥यौँ ९० को विरासत १९ लाई दिएका छौँ, यसलाई अगाडी बढाउनुहोस्’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठले भने। त्यस्तै मध्यान्ह ब्यान्डका भोकलिस्ट कर्णदासले आफू अस्वस्थ हुँदाहुँदै पनि ९० को दशकलाई फर्काउनका लागि स्टेजमा उग्लेको बताए। ‘डक्टरकोमा हुनुपर्ने म तपाईँहरूको मायाले मात्र यहाँ छु। मेरो स्पाइलन कर्डको रिब्स दुखिरहेको छ, तै पनि तपाईँहरूकोे माझमा छु’ कार्यक्रममा कर्णदासले भने।
ब्याक टु नाइन्टिजले मनोरञ्जनमात्रै प्रदान गरेको थिएन, नयाँ पुस्तालाई पुराना संग्रह पनि प्रदान गरेको थियो। जहाँ युवाहरूको कोलाहलले नयाँबजार पुरै थर्किएको थियो। ९० को दशकमा पोखरेली ब्यान्डहरूको हरेक गीत हिट थिए। तर, अहिलेको समयमा नेपथ्यबाहेक पोखराबाट ब्यान्डहरू चर्चामा आउन सकेका छैनन्। नेपथ्य पनि त्यही समयकै ब्यान्ड हो, जसले आजको दिनसम्म पनि पोखराको विरासतलाई जोगाइराखेको छ।
९० को दशकको ब्यान्डहरूको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम आयोजना गरिएको आयोजक प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए। ९० को दशकमा उदाएर राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल ७ ब्यान्डको प्रस्तुति रहेको कन्सर्टमा वल्र्ड टुरमा रहेका कारण नेपथ्य ब्यान्ड भने छुट्यो।
ब्यान्डको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित भएको भनाइ ब्यान्डहरूको थियो। सुषुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको भाष्करध्वज श्रेष्ठले बताए।











प्रतिक्रिया