७ महिनामा ३२ अर्बभन्दा बढीको गाडी भित्रिए


काठमाडौं।

चालू आर्थिक वर्षको सात महिनामा साढे ३२ अर्ब रुपियाँभन्दा बढीको सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपियाँ बराबरको ६ हजार २ सय ५६ युनिट विद्युतीय गाडी (ईभी)आयात भएको छ ।
नेपालले चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट विद्युतीय गाडीको आयात गरेको हो ।

ईभी आयातबाट सरकारले ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपियाँ राजस्व संकलन गरेको छ । गत वर्ष पनि १५ अर्ब रुपियाँमा ६ हजार भन्दा बढी विद्युतीय सवारी साधान आयात भएको थियो । सात महिनामा भारतबाट २ अर्ब ६९ करोडको १ हजार ४५९ वटा, जर्मनीबाट १४ करोडको १० वटा, अमेरिकाबाट २ करोड १४ लाखको पाँच वटा तथा दक्षिण कोरियाबाट २ करोडको तीन वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । चीनबाट सबैभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ईभीको आयात भएको छ । सो सेग्मेन्टका ईभी कार ८ अर्ब ७० करोड २ लाख रुपियाँ बराबरको ३ हजार ४९१ वटा, ५० किलोवाट क्षमताको ३ अर्ब ८८ करोड ९१ लाख रुपियाँ बराबरको २ हजार १५९ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २ अर्ब ७ करोड ६६ लाख रुपियाँ बराबरको ५९३ वटा, २०१ देखि ३०० र ३०० भन्दामाथि जम्मा ९ करोड ४४ लाख रुपियाँ बराबरका १३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

त्यस्तै सोही अवधिमा ३ अर्ब ७७ करोड रुपियाँबराबरको २ हजार ६६८ वटा इन्धन सवारी साधन आयात भएको छ । यसबाट सरकारले ९ अर्ब ५३ करोड रुपियाँबराबरको राजस्व संकलन गरेको छ । इन्धन सवारी साधनको आयात पनि गत वर्षकै हाराहारीमा रहेको छ ।
साउनदेखि माघसम्मको अवधि १४ अर्ब ९ करोड रुपियाँ बराबरको १ लाख १७ हजार ८८ वटा दुई पाङ्ग्रे सवारी साधन आयत भएको छ । जसबाट १२ अर्ब ३५ करोड रुपियाँ बराबरको राजस्व संकलन भएको छ ।

यसैबीच उक्त अवधिमा १ खर्ब ५० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमध्ये ६६ अर्ब रुपैयाँको डिजेल, ३७ अर्ब रुपियाँको पेट्रोल ३५ अर्ब रुपियाँको ग्यास र ११ अर्ब रुपियाँको हवाई इन्धन आयात भएको भन्सार विभागको तथ्यांक छ । चालू आर्थिक वर्षको सात महिनामा निर्यात ४६ दशमलव ५० प्रतिशले बढेर १ खर्ब २७ अर्ब रुपियाँको पुगेको छ भने कुल आयात १० प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।