जिरो फिगर: आकर्षणको परिभाषा कि स्वास्थ्यको जोखिम ?

4.7k
Shares

आजको आधुनिक समाजमा शारीरिक बनावटलाई सौन्दर्य र व्यक्तित्वको मापदण्डका रूपमा हेरिन्छ । विशेष गरी महिलाहरूमा ‘जिरो फिगर’ भन्ने अवधारणा निकै प्रचलित छ ।

जिरो फिगर भन्नाले अत्यन्त दुब्लो र पातलो शरीरलाई बुझाउँछ, जहाँ बोसोयुक्त शरीरलाई बोसोरहित बनाउन प्रयास गरिन्छ । जसलाई धेरैजसो मानिसहरूले आकर्षणको प्रतीक मान्छन् । तर, के यो सौन्दर्यको परिभाषा हो त ? कतै यसले स्वास्थ्यमा गम्भीर असर पु¥याएको त छैन ?

जिरो फिगरको अवधारणा मुख्यत पश्चिमी देशहरूबाट आएको हो, जहाँ फेसन उद्योगले साथै इन्टरटेन्मेट दुनियामा दुब्ला मोडलहरूलाई प्राथमिकता दिन थालियो । समयक्रमसँगै यो ट्रेन्ड अन्य मुलुकहरूमा पनि फैलियो । ग्ल्यामर उद्योग, चलचित्रहरू र सामाजिक सञ्जालले यसलाई थप प्रोत्साहन ग¥यो, जसले युवापुस्तामा जिरो फिगरप्रति आकर्षण बढायो । मिडिया र विज्ञापनहरूले दुब्लो शरीरलाई सौन्दर्य र सफलताको प्रतीकका रूपमा चित्रण गरेकोले धेरै मानिस यसप्रति आकर्षित हुन्छन् ।

यस्तै जिरो फिगरका मोडलहरूलाई विश्वमा रोलमोडलको रुपमा मान्न थालियो र अहिले सबै समाजमा यस्तो फिगरलाई सुन्दरताको मापदण्डको रुपमा लिन थालेको पाइन्छ । समाजमा दुब्लो व्यक्तिलाई सुन्दर, आत्मविश्वासी र फूर्तिलो मान्ने प्रवृत्तिले पनि यो ट्रेन्ड बढाएको छ । इन्स्टाग्राम, फेसबुकजस्ता प्लेटफर्महरूले ‘परफेक्ट बडी’ को झुटो परिभाषा प्रस्तुत गर्दा जिरो फिगरलाई आदर्श मान्ने प्रवृत्ति बढेको छ । तर समयसँगै, आजकल अलिकति मोटाइ भएका केटीहरुले पनि सामाजिक दबाबको सामना गर्नुपरेको छ ।

केवल समाजमात्र नभई अभिभावकहरू पनि आफ्ना छोरीहरुलाई दुब्लो, पातलो भएको रुचाउँछन् र अन्य केटीहरुले शारीरिक बनावटमा संयुक्त समूहमा रहेर नकारात्मक कुराहरु गर्छन् । नविना (नाम परिवर्तन) पढाइमा होसियार १३ वर्षकी केटी लगभग ८० केजी वजन भएकी उनी आफ्नै आभिभावक र रिलेटिभ्सबाट हरेक दिन मानसिक तनाव र बेइज्जती सहेको खुलासा गर्छिन् ।

पढाइमा सधैँजसो प्रथम र छात्रवृत्ति पाउने गरेकी उनी आफ्नो मोटाइको कारण पर्याप्त प्रोटिनयुक्त खानपिनमा घरपरिवारले अवरोध गर्ने गरेको, साथै अन्य सुन्दर र पातला केटीहरुलाई देखाएर ‘यस्तै हो भने अब तिमीलाई कुनै केटाले विवाहका लागि स्वीकार्दैन’ भनी अनावश्यकरुपमा शारीरिक परिवर्तनको दबाब दिने गरेको अनुभव सुनाउँछिन् ।

समाज बदलिएको छ, शिक्षित व्यक्तिहरू धेरै नम्बरमा छन् तर एक–अर्काको शारीरिक बनावटमा तथानाम कमेन्ट गरेर मानसिक तनाव दिने प्रचलन अझ बढेको छ, केवल समाजका बूढापाकाहरू, अभिभावकहरू मात्र नभई अहिलेका नयाँ पुस्ताका युवाहरू अझ नकारात्मक सोच र अरुलाई दुःख पु¥याउने व्यवहारका निस्किरहेका छन् ।

आजका केटाहरु मात्र नभई केटीहरु पनि आफ्ना साथीहरूलाई शारीरिक बनावटमा मन टुक्य्राउने कमेन्ट गरेर, मानसिक तनाव दिने गरेका छन् । त्यसैले आजकल जिरो फिगर प्राप्त गर्न मानिसहरूले डाइटिङ, एक्सरसाइज र कतिपय अवस्थामा स्वास्थ्यलाई हानि पु¥याउने औषधिहरूको प्रयोग गर्छन् । तर सबैभन्दा महत्वपूर्ण प्रश्नको जन्म के हुन्छ भने, के यो जिरो फिगर साँच्चै नै स्वास्थ्यपूर्ण छ ? कि हानिकारक छ ? फेमस सेलिब्रेटी, मोडल स्टारहरुसँग पर्सनल डाइटिसियन हुन्छन् । उनीहरुसँग सन्तुलित डाइटको चार्ट हुन्छ ।

सही एक्सरसाइज, डाइटिङ र सही शारीरिक हेरचाह गरेर उनीहरुको जिरो फिगर बनेको हुन्छ तर उनीहरुलाई देखेर जिरो फिगरका लागि प्रयत्न गर्ने सर्वसाधारण केटाकेटी जो न्यून वा मध्य आय भएका परिवारका छोरीहरुले कसरी आफूलाई पातलो बनाउँछन् ? सामान्यतया उनीहरु क्य्रास डाइट गरेर आफूलाई पातलो बनाउने गर्दछन् । उनीहरु प्रायः कम क्यालोरीयुक्त खाना खाने र सन्तुलित आहारलाई बेवास्ता गर्दछन् ।

कतिपय त कैयौँ दिनसम्म खाना खाँदैनन्, ताकि नमोटाइयोस् भनेर । समाज यति परिवर्तन भइसक्यो कि अभिभावकहरू आफ्ना छोरीहरुको आकर्षक शरीरमा घमण्ड गर्दछन् । उनीहरुको मानसपटलमा राम्रो शारीरिक बनाबटको अर्थ कुनै सफलता हो भन्ने छ ।

उनीहरु समाजमा गर्वसाथ भन्ने गर्छन् कि आफ्ना छोरीहरु मोटाइन्छ भनेर खाना नखाई बस्ने गर्दछन् । तर यो सुन्दरताको देखावटीपनमा आफ्ना सन्तानको शारीरिक स्वास्थ्य कस्तो छ भनेर जान्न कतिको इच्छुक छन् त आजका अभिभावकहरू ? खाना खान छोडेका छोरीहरुलाई के त्यसको विकल्पमा शरीरलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको पर्याप्त सेवन गर्न कतिको प्रोत्साहित गर्छन् आजका अभिभावकहरू ? किनकि सन्तुलित आहारविहारले नै रोग–प्रतिरोधात्मक क्षमता बढाउँछ ।
समयको परिवर्तनसँगै, हाम्रो समयमा धेरै नयाँ रोग र रोगीहरूको संख्या बढ्दो छ । आजकल हेर्ने हो भने केटीहरुमा पत्थरी, ग्यास्ट्राइटिस, कमजोरी, बाँझोपन, डिप्रेसनजस्ता अनगिन्ती समस्या देखा परेका छन् । साथै उचित पोषणको अभावमा हर्मोनल असन्तुलन भई कडा डाइटिङका कारण अधिकतम महिलाहरूमा महिनावारीसम्बन्धी समस्या, क्याल्सियमको अभावले हड्डीहरू कमजोर भई ओस्टियोपोरोसिसको खतरा बढ्न थालेको छ । ‘अस्वस्थ बानीहरू जारी: महिलाहरूमा रोगका संशोधित गर्न सकिने जोखिम कारकहरूको निरन्तर उपस्थिति’ नामक हालसालै गरिएको रिसर्च पेपरमा महिलाहरूको ठूलो हिस्सा-८० प्रतिशत) ले पर्याप्त फलफूल र तरकारी नखाएको रिपोर्ट गरिएको छ ।

स्वास्थ्यका लागि आवश्यक मापदण्डहरूसँग तुलना गर्दा, बहुमतले हप्तामा पर्याप्त शारीरिक गतिविधि नगरेको देखिन्छ (७० प्रतिशत) । साथै, आधाभन्दा बढी सहभागीहरू (५४ प्रतिशत) बढी तौलका थिए । केवल ३० प्रतिशतभन्दा कम महिलाहरूले पर्याप्त फलफूल, तरकारी, माछा, फलफूलको सेवन र शारीरिक गतिविधि गरेको रिपोर्ट गरेका छन् । त्यति मात्र कहाँ हो र, आजका केटीहरुमा अत्यधिक मनोवैज्ञानिक प्रभाव छ । जिरो फिगर प्राप्त गर्न नसक्दा मानिसहरूमा आत्मग्लानि, तनाव र डिप्रेसनको जोखिम बढ्दै गएको छ ।

भनिन्छ, नारीको शरीर केराको रुखजस्तै हुन्छ, एकपटक बच्चा पाएपछि आँत निकै कमजोर हुन्छ । आजको समयमा मिसक्यारेज, बाँझोपनको संख्या पनि अत्यधिक मात्रामा बढेको छ । कतै यो सब हाम्रो विनासोचबुझ गरिएको डाइटिङको कमाल त होइन ? जुनसुकै बोटबिरुवा, जनावरलाई हेर्ने हो भने मध्यम मोटाइ भएकोलाई स्वस्थ र प्रजननको लागि राम्रो मानिन्छ । ‘राम्रो स्वास्थ्य भएकी आमा मतलव राम्रो स्वास्थ्य भएको बच्चा’ ।

के सन्तुलित आहारविहार नभएकी आमा पूर्णरुपले स्वस्थ बच्चा जन्माउने क्षमता राख्छिन् ? कि बच्चा गर्भधारण गरेको ९ महिनाको आहारविहार स्वस्थ बच्चा जन्माउनको लागि पर्याप्त छ त ? के यसरी अत्यधिक डाइटिङ गरेका महिलाहरु आफ्नो जीवनभर स्वस्थ जीवनयापन गर्न सक्षम छन् त ? कतै जिन्दगीको पछिल्लो समयमा विभिन्न किसिमका रोगको सामना गर्नुपरेको कारण युवा अवस्थामा गरेको स्वास्थ्यको हेलचेक्र्याइँ त होइन ? यस समस्यामा कसको ध्यान आकर्षण हुनुपर्छ ?स्वास्थ्यसेवकहरुको, अभिभावकहरूको, युवाहरूको या ती केटाहरुको जो स्वस्थ बच्चा र परिवार चाहन्छन् ? जिरो फिगर आफैँमा नकारात्मक होइन तर यसको प्राप्ति सही रुपमा हुनुपर्छ ।

समाज, अभिभावक, केटीहरु मात्र नभई जीवनसाथी चयन गर्ने हरेक पुरुषले आफ्नो साथीको शारीरिक स्वास्थ्यको राम्रो ख्याल राख्नुपर्छ । पर्याप्त सन्तुलित आहारविहार, सही शारीरिक व्यायाम गर्न सबैलाई प्रेरित गर्नुपर्दछ । शारीरिक स्वास्थ्य केवल केटीहरुको लागि मात्र होइन, सम्पूर्ण समाजका हरेक उमेरका व्यक्तिहरूका लागि आवश्यकता छ । सही तरिकाले हामीले आफ्नो शारीरिक बनावटमा काम गर्नुपर्ने हुन्छ ।

यसको लागि सम्पूर्ण समाजका व्यक्ति सकारात्मक सोचसँगै अगाडि आउनुपर्ने हुन्छ । यसका लागि सरकार तथा समाजले पार्क, योग स्थान, विभिन्न स्वास्थ्य आहारविहारको जागरुकतासम्बधी कार्यक्रम ल्याउनुपर्ने हुन्छ । जति पनि स्वास्थ्यकर्मी छन्, उनीहरुले सोसियल मिडियामा, पत्रपत्रिकामा यसको नकारात्मक प्रभावको अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । साथै सक्रिय, सही व्यायाम र सन्तुलित आहारविहारको जागरुकतासम्बधी कार्यक्रम ल्याउनुपर्ने हुन्छ । यसको लागि जिरो फिगरको मिथ्या तोड्नु आवश्यक हुन्छ ।

जिरो फिगर सौन्दर्यको परिभाषा होइन, यो केवल मिडिया र समाजद्वारा बनाइएको मान्यता हो । सन्तुलित आहार, पौष्टिक खाना खाँदा मात्र शरीरलाई आवश्यक ऊर्जा र पोषण प्राप्त हुन्छ । सामान्य व्यायाम नियमितरुपमा गर्दा स्वास्थ्य राम्रो हुन्छ र फिट रहन सकिन्छ । साथै सबै समाजका व्यक्तिहरू खास गरी आजका शिक्षित युवाहरूले आफ्नो र आफ्नो साथीको स्वास्थ्यको ध्यान राख्नुपर्छ । शारीरिक बनावटमा नकारात्मक कमेन्ट र खिल्ली गरेर मानसिक तनाव बढाउनुभन्दा मिलेर स्वस्थ आहारविहार र सही व्यायामको आवधारणा अपनाउनुपर्ने हुन्छ ।

अन्ततः आफू नै आफ्नो सबैभन्दा ठूलो शुभचिन्तक हुनुपर्छ । आफ्नो शारीरिक बनावटमा आत्मविश्वास गर्नुपर्छ । समाज, अभिभावक, साथीभाइहरुको शारीरिक बनावटको नकारात्मक कमेन्टलाई पैतालामुनि दबाएर, सही परामर्शअनुसार सही आहारविहार एवं व्यायाम अपनाउँदै आफू स्वस्थ र आत्मनिर्भर हुनुपर्छ, ताकि समाजको, विवाहको र अन्य कुराहरूको तनाव लिएर डिप्रेसनको सिकार हुनु नपरोस् ।

जीवनमा सन्तुलन आवश्यक छ । सन्तुलित आहार, सकारात्मक सोच र नियमित व्यायामले तपाईंलाई स्वस्थ राख्न मात्र होइन, तपाईंको आत्मविश्वास र जीवनशैलीलाई पनि सुदृढ बनाउँछ । जिरो फिगर सौन्दर्यको परिभाषा होइन, यो केवल समाजले बनाएको भ्रम हो । यसलाई तोड्दै हामीले हाम्रो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसैले, स्वस्थ रहनुहोस्, आत्मविश्वासी बन्नुहोस् र समाजलाई सकारात्मक परिवर्तनका लागि प्रेरित गर्नुहोस् ।