त्रिवि स्ववियु निर्वाचनमा भाँजो नहालियोस्


मिनी संसद्को रुपमा रहेको त्रिभुुवन विश्वविद्यालयको स्ववियु निर्वाचनको आफ्नै विद्यार्थी संगठनका अध्यक्षले भाँजो हाल्न थालेका छन् । उमेर हदको कारण यो वर्ष उम्मेदवार बन्न नपाएका र निर्वाचन भाँडेर स्ववियुमा लामो समयसम्म राज गर्न चाहेका केही सभापतिले निर्वाचन भाँड्न खोजेका छन् ।

त्यसको पछिल्लो उदाहरण– निर्वाचन प्रमुख एवं रेक्टर खड्ग केसी र विद्यार्थी कल्याण तथा खेलकुद महाशाखा प्रमुख पशुपति अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । विद्यार्थी संगठनका अध्यक्ष तालाबन्दीको विरुद्धमा छन् । उनीहरुले कुनै पनि हालतमा निर्वाचन हुन्छ, तत्काल तालाबन्दी खोल्नुपर्ने चेतावनी दिएका छन् । आफ्नै अध्यक्षको निर्देशन अटेर गर्ने स्ववियु सभापतिलाई कारबाही गर्न सर्वत्र दबाब परेको छ ।

कार्यविधिमा उल्लेख भएको विषयलाई बखेडा झिकेर तालाबन्दी गर्नु गलत हो । तालाबन्दी सधैँको लागि रोक्नुपर्छ । चैत ४ गतेपछि कार्यकाल सकिने गरी निर्देशिका आएको छ । त्यसको विरोधमा तालाबन्दी गरेका सभापतिहरुले चैत ५ गते निर्वाचन हुन नसकेमा अर्को चुनाव नभएसम्मको लागि ६–६ महिनाको दरले कार्यकाल थपिनुपर्ने जिकिर गरेका छन् । तर त्रिविले निर्देशिका परिवर्तन गर्न नमिल्ने अडान राखेको छ । त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णयको आधारमा निर्देशिका बनेको हो । सभापतिहरुले निर्देशिकाको विषयमा छलफल नगरेको आरोप लगाएका छन् ।

कार्यकारीले बनाएको निर्देशिकाअनुसार नै निर्वाचन हुनुपर्नेछ । निर्देशिकामा कुनै कारणवश चैत ५ गते निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था छ । त्रिवि कार्यकारी परिषद्ले पास गरेर जारी गरेको निर्देशिका कानुनसरह हो । यसलाई सबै विद्यार्थी संगठनले पालना गर्नुपर्छ । यो विद्यार्थी संगठनको दायित्व पनि हो । समय थप गर्ने विषय औचित्यहीन हुन्छ । निर्वाचन स्थगित गर्नुहुँदैन । सबै संघ–संगठन मिलेर निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहँदा केही विद्यार्थीले तालाबन्दी गर्नु गलत संस्कार हो । कसैलाई पनि गलत संस्कार स्थापित हुन नदिन त्रिविले दृढ संकल्प गर्नुपर्छ ।

निर्देशिकाअनुसार त्रिविले २१ दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । अर्थात् फागुन तेस्रो साताभित्र तालिका प्रकाशन गर्ने तयारी गरेको छ । दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४ र उपत्यकाबाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झन्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गरिनेछ । त्यसको तयारी शुरु गरिरहँदा नेता विद्यार्थीले विरोध गरेका छन् । विरोधले समस्या समाधान हुँदैन । सबैको सहमतिलाई पालना गर्नु सबैको कर्तव्य हुन्छ । आफ्नो योजना पूरा नभएपछि तालाबन्दी गर्नु गलत हो । यो संस्कार सधैँका लागि बन्द गर्नुपर्छ । शिक्षा क्षेत्रमा तालाबन्दी निषेध नै गर्नुपर्छ । निर्वाचन गर्ने तयारीमा लागेका विद्यार्थी संगठन र त्रिवि प्रशासनलाई भड्काउने काम गर्नु नितान्त गलत हो । यस्तो कार्य तत्काल बन्द गर ।