पुस्तकमा गोपाल योञ्जन


संगीत साधक गोपाल योञ्जनको जीवनी, योगदान र संगीत साधनालाई उजागर गर्दै हालै गोपाल योञ्जन नामक खोजमूलक पुस्तक सार्वजनिक गरिएको छ।

गोपाल योञ्जन फाउन्डेसनद्वारा प्रकाशित पुस्तक कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पाण्डे, काठमाडौंं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौंं महानगरपालिका सम्पदा तथा पर्यटन विभाग संयोजक आशामान संगत, अभिनेत्री मिथिला शर्मालगायतले सार्वजनिक गरेका थिए। सन् १९९७ देखि सन् २०२४ को बीच २७ वर्षको खोजी, अध्ययन र संकलन गरी १५ अध्यायमा बाँढिएको संग्रहमा संगीत साधक योञ्जनको जीवन, कलात्मकता र विरासतका विभिन्न आयाम समावेश छन्। पुस्तक प्रकाशनमा काठमाडौंं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले सहयोग गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले राज्य र सरकारले गर्नुपर्ने कर्तव्य पुस्तक प्रकाशन गरेर गोपाल योञ्जनको परिवारले पुरा गरेको चर्चा गरे। ‘उहाँ गीत संगीतको एउटा विश्वविद्यालय नै हो। एउटा ठूलो रिसर्चको काम यो पुस्तकमा सम्पादन भएको छ’ गोपाल योञ्जनको रचना, संगीत, स्वर, शब्द सबै साधना र तपस्या रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आफ्नो भनाइ राखे। विभागका संयोजक आशामान संगतले गोपाल योञ्जनका साथै नेपाली सांगीतिक क्षेत्रका सम्पूर्ण स्रष्टालाई सम्मान गर्ने महानगरपालिकाको प्रयास रहेको बताए। काठमाडौंं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गोपाल योञ्जनका गीतले आफूलाई ऊर्जा प्रदान गर्ने जनाउँदै संगीत मनोरन्जको माध्यम मात्र नभई ऊर्जाको स्रोत पनि रहेको चर्चा गरिन्।

गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जनले गोपालसँग सन् १९६८ को फेब्रुअरी महिनामा जावलाखेलस्थति सेन्ट जेभियर्स स्कुलमा कक्षा २ को शिक्षिकाका रूपमा भेटेको स्मरण गर्दै उनीसँगको पहिलो भेट, प्रेम, विवाह, जीवन यात्रा र गीत–संगीतप्रतिको उनको मोहबारे सुन्दर ढंगले प्रस्तुत गरिन्। ‘गोपालको पहिलो प्रेम सदैव उसको संगीत हुन् भन्ने कुरा हाम्राे विवाहको दु्ई वर्षमै थापा पाएको थिएँ। त्यसै कारण उसको जीवनमा मैले सधैं दोस्रो स्थानलाई नै स्वीकार गरे’ गोपाल योञ्जनको देश तथा गीत–संगीतप्रतिको लगावको अनुभूति सुनाउँदै उनले भनिन्।

गोपाल योञ्जनकी छोरी सिर्जना सिंह योन्जनले पुस्तकमा गोपालको दार्जलिङदेखि नेपाली सांगीतमा दिएको अतुलनीय योगदानलाई समेटिएको जनाउँदै पुस्तक तयार पार्दाको क्रममा विभिन्न उतार चडावबारे सेयर गरिन्। ‘यो पुस्तक तयार गर्दा विभिन्न उतारचढाव, खुशी उत्तिकै, उल्लास उत्तिकै, उमंग उत्तिकै, थकान उत्तिकै र फ्रस्टेसन पनि उत्तिकै महसुस भयो। पुस्तकका लागि बुवाका समकालीन साथीहरूमध्ये कतिले खुला दिलले कुराहरू बताए त कतिपयले कन्जुस्याँई गरे। पुरुष भनेको निकै कोमल हृदयको हुन्छ भन्ने बुवाबाटै बुझे पनि वास्तविक समाजमा भने यस्तो पाइन। बुवा निकै कोमल हृदयको हुनुहन्थ्यो’ सिर्जनाले सम्झिन् ‘फुपुले भन्नुभएको म सानो छँदा मेरो आँशु भुंइमा झर्न नदिइ उहाँले त्यो पिइदिनुनुहुन्थ्यो। तर बुवाको कृतिहरूको दस्तावेजीकरण गर्ने क्रममा मात्र मैले बाहिरी दुनियाँमा आएर पुरुष यति निदर्यी हुन्छन् भन्ने कुरा बुझें। कतिले त तिमी विवाह गरेकी छोरीलाई पनि कति चासो लागेको समेत भने। केहीले आफैं लेख्दै छु समेत भन्नुभयो।’
कलाकार क्याप्टेन विजय लामाले आफूहरू गोपाल योञ्जनको कालजयी गीत सुनेर हुर्केको र यी गीत हरेक युगले सुन्न र गाउन पाउनुपर्ने बताए।
कार्यक्रममा गोपाल योञ्जनका विषयमा अध्ययन गर्न चाहनेका लागि उनका गीतका क्यासेट, टेप, सीडी, नोटबुक, पेपर कटिङ, हार्मोनियम, पुरस्कारलगायत सामग्री अमेरिकाको कोर्नेल विश्वविद्यालयमा संग्रहण र सुरक्षित राखिएको जानकारी गराइयो। गोपाल योञ्जनको जीवन यात्रा समेटिएको सो पुस्तकमा उनीसँग विभिन्न समयमा संगत भएका १ सय ८ जना व्यक्तिले योगदान दिएका छन्।
कार्यक्रममा विभिन्न गायक गायिकाले गोपाल योञ्जनका गीतसंगीत प्रस्तुत गरेका थिए।