सात महिनामा १ खर्ब ५० अर्बको इन्धन, ६६ अर्बको जनावर तथा वनस्पतिजन्य बोसो र तेल, ३१ अर्बका सवारी साधान, २५ अर्बको तरकारी, साढे १० अर्बको चामल, साढे १४ अर्बको धान, सवा १२ अर्बको फलफूल आयात भएको छ ।
काठमाडौं।
अघिल्लो आर्थिक वर्षको तुलनामा आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा निर्यात ४६ दशमलव ५० प्रतिशले बढेर १ खर्ब २७ अर्ब रुपियाँको पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० अर्ब ३७ करोड रुपियाँले बढी हो ।
गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपियाँको निर्यात भएको थियो । त्यस्तै आयात पनि १० प्रतिशतले वृद्धि हुँदै ९ खर्ब ८८ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ८ अर्ब ९७ अर्ब ९४ करोड रुपियाँको मात्रै निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा कुल वैदेशिक व्यापार १३ प्रतिशतले वृद्धि हुँदै ११ खर्ब १५ अर्ब रुपियाँ पुगेको छ । नेपालको कुल वैदेशिक व्यापारमा ११ दशमलव ४० प्रतिशत हिस्सा निर्यातको रहेको छ भने आयातको हिस्सा ८८ दशमलव ६० प्रतिशत रहेकोे छ । गत आवको सोही अवधिमा आयात निर्यात अनुपात १० दशमलव ३४ रहेकोमा अहिले ७ दशमलव ७ पुगेको छ । कुल व्यापारमा निर्यातको हिस्सा ८ दशमलव ८२ प्रतिशत रहेकोमा अहिले बढेर ११ दशमलव ४० प्रतिशत र आयातको हिस्सा ९१ दशमलव १८ बाट घटेर ८८ दशमलव ६० प्रतिशत पुगेको छ । सात महिना पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै रहेको छ ।
सात महिनामा १ खर्ब ५० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमध्ये ६६ अर्ब रुपैयाँको डिजेल, ३७ अर्ब रुपियाँको पेट्रोल ३५ अर्ब रुपियाँको ग्यास र ११ अर्ब रुपियाँको हवाई इन्धन आयात भएको भन्सार विभागको तथ्यांक छ ।
त्यस्तै सोही अवधिमा भटमासको तेल ३२ अर्ब ४१ करोड, सनफ्लावरको तेल ६ अर्ब ५७ करोड, कार्पेट ६ अर्ब ४६ करोड, अलैंची ५ अर्ब ३९ करोड र चिया ३ अर्ब १८ करोड रुपियाँको निर्यात भएको छ । विभागका अनुसार सात महिनाको अवधिमा ३६ अर्ब ३५ करोड रुपियाँ बराबर खाद्यान्न आयात भएको छ ।
जसमध्ये चामल १० अर्ब ५८ करोड, धान १४ अर्ब ५१ करोड, मैक ९ अर्ब ५ करोड रुपियाँको आयात भएको छ । त्यस्तै आलु ५ अर्ब ४८ करोड, प्याज २ अर्ब १३ करोड, लसुन ६ अर्ब ८१ करोड आयात भएको छ । समग्रमा सात महिनामा २५ अर्बको तरकारी, ३ अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, ५ अर्ब ४९ करोडको चिया कफी, २ अर्ब ६१ करोडको चिनी र ९० करोड ८४ लाख रुपियाँको दुग्धपदार्थ आयात भएको विभागले जनाएको छ ।
सो अवधिमा ६६ अर्ब २० करोडको जनावर र वनस्पतिजन्य बोसो र तेल, १४ अर्ब ७५ करोडको विद्युतीय सवारी साधन, १४ अर्ब ९ करोडको दुई पाङ्ग्रे सवारी साधन र ३ अर्ब ७७ करोडको इन्धन सवारी साधान आयात भएका छन् ।











प्रतिक्रिया