बलिउडमा स्टाइलिस्ट अभिनेताको रूपमा छवि बनाएका साहिल खानले आफूभन्दा २६ वर्ष कान्छी प्रेमिका मिलेना एलेक्जेन्ड्रासँग विवाह गरेका छन्। रुसमा इन्गेजमेन्ट गरेका ४८ वर्षीय साहिलले २२ वर्षीया मिलेनाका साथ दोस्रो विवाह गरेका हुन्।
केही दिन पहिले इसाई परम्पराअनुसार विवाह गरेका उनले हालै इन्स्टाग्राममा एक भिडियो सेयर गरेका छन्। जसमा उनले आफ्नी दुलही देखाएका थिए। यसअघि, उनले फेब्रुअरी १५ मा आफ्नो भिडियो र तस्वीरहरू सेयर गर्दै बुर्ज खलीफामा विवाह गरेको बताएका थिए। जहाँ उनका नजिकका साथीभाइ र परिवारका सदस्य सामेल थिए।
साहिलले मंगलवार अर्को भिडियो सेयर गरेका छन्। जसमा उनकी पत्नी मिलेनाले सेतो रंगको अबाया लगाएकी देखिन्छिन्। सेतो पोशाकमा देखिएका अभिनेता अन्य बेलाभन्दा निकै फरक देखिएका छन्। उनीहरूको विवाहका तस्विर र भिडियोमा उनका प्रशंसकले निकै प्रशंसा गरिरहेका छन्। साहिल मुस्लिम हुन् भने उनकी पत्नी क्रिश्चियन हुन्। त्यसकारण पनि उनले पहिला दुबईको बुर्ज खलीफामा इसाई धर्मअनुसार र त्यसपछि इस्लाम धर्मअनुसार विवाह गरेका हुन्।
अभिनेता साहिलको यो दोस्रो विवाह हो। यसअघि उनले इरानमा जन्मिएकी अभिनेत्री नेगर खानसँग विवाह गरेका थिए। तर २००५ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो। युरोपको बेलारुसकी बासिन्दा मिलेनाले आफ्नो पढाइ पूरा गरिसकेकी छिन्।











प्रतिक्रिया