–शिक्षा मन्त्रालयमा हेल्प सेन्टर शुरू
–भारतमा अध्ययन गर्ने विद्यार्थीको तथ्याङ्क तयार हुँदै
–एनओसी नलिइकनै भारत जाने बढे
–उडिसा विश्वविद्यालयमा एनओसी लिन रोक
–उच्च शिक्षा अध्ययन गर्न वार्षिक करिब १५ हजार भारत जाने
–चालू आवमा एनओसी लिनेको संख्या १ हजार ७ सयमात्र
काठमाडौं ।
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बल्ल तातेको छ ।
घटनाको विवरण सार्वजनिक भएको भोलिपल्ट हिजो मंगलवार मन्त्रालयले नेपाल शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) का पदाधिकारीसँग जानकारी लिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले हालसम्म वैदेशिक अध्ययनका लागि भारत पुगेका विद्यार्थीको तथ्याङ्क माग गर्नुभएको थियो ।
घटनाको यथार्थ जानकारी दिन तथ्याङ्क खोजी गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तथ्याङ्कमात्र होइन कानुनी वा गैरकानुनी रूपमा कुन परामर्श संस्थाले कति विद्यार्थी पठाएका छन् भन्नेबारेमा समेत जानकारी लिन लागेका हौं ।’ उहाँले यकिन तथ्याङ्क आएपछि मन्त्रालयले थप पहल गर्ने जानकारी दिनुभयो ।
ईक्यानका अध्यक्ष शेषराज भट्टराईले मन्त्रालयले भारतको घटनाबारेमा जानकारी लिएको बताउनुभयो । उहाँले भारतमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या यकिन हुन नसकेको बताउनुभएको थियो । ‘हामीलाई मन्त्रालयले जानकारी मागेको थियो, सकेसम्म विवरण पेस गर्ने तयारी गरेका छांै’ –अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले मन्त्रालयलाई इक्यानले आवश्यक पर्दा सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । सो घटनामा इक्यान आबद्ध संघसंस्था दोषी नभएको दाबी इक्यानको छ । नेपालबाट करिब सय बढी शैक्षिक परामर्श संस्थाले भारत अध्ययनमा पठाउने गरेको तथ्याङ्क छ ।
तीमध्ये केही इक्यान आबद्ध छन् भने केहीले गैरकानुनी रूपमा पठाइरहेका छन् । तथ्याङ्कअनुसार देशभर करिब ३ हजार परामर्शतदाता संस्था छन् । ९ सय ३४ संस्थामात्र दर्ता छन् । इक्यानले अवैध रूपमा सञ्चालन भइरहेको संस्थामाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । भारतको घटनापछि मन्त्रालयको उच्चशिक्षा महाशाखाले सबै संस्थाको बारेमा सूक्ष्म अध्ययन शुरू गरेको छ । महाशाखा प्रमुख सहसचिव वैकुष्ठ अर्यालले कुनकुन संस्थाबाट विद्यार्थी अध्ययन गर्न भारत पुगेका हुन् भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताउनुभयो ।
महाशाखाले सोमबारै इक्यानका अधिकारीसँग घटनाको बारेमा जानकारी लिएको थियो । महाशाखाले गैरकानुनी रूपमा सञ्चालन भएका र ती परामर्श संस्थाबाट भारत गरेका विद्यार्थी र संस्थाको बारेमा अनुसन्धान शुरू गरेको छ । इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले इक्यान आबद्ध नभएका धेरैजस्तो संस्थाले विद्यार्थीलाई भारत पठाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले उडिसाको घटना पनि इक्यानको सदस्यले गरेको होइन । अवैध रूपमा खुलेका संस्थाले छात्रवृत्ति दिने भन्दै विद्यार्थी पठाएका हुन् ।’
उहाँका अनुसार नेपाल र भारतबीच खुला सिमानाको कारण अधिकांश विद्यार्थी एनओसी पत्रबिना नै भारत पुगेका छन् । अहिले उक्त विश्वविद्यालयमा पुगेका विद्यार्थीसँग एनओसी छैन । परामर्शदाता संस्थाको पहलमा गएका हुन् । ती विद्यार्थीको दुर्घटनालगायत कुनै पनि बिमा छैन । उहाँका अनुसार नेपालबाट वार्षिक करिब १५ हजार विद्यार्थी भारतमा उच्चशिक्षा अध्ययन गर्न जाने गरेका छन् । भारतको देहरादुन, भुवनेश्वरी, बैङलोर, दिल्ली, मुम्बई, पुणेलगायत राज्यका विश्वविद्यालयमा अध्ययन गर्न जाने गरेको तथ्याङ्क छ ।
उडिसाको सो विश्वविद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । लम्सालले विश्वविद्यालयको होस्टलमा आत्महत्या गरेको घटना बाहिरिएपछि सो विश्वविद्यालयबाट सबै विद्यार्थी फर्कने मनस्थितिमा छन् । मन्त्रालयका प्रवक्ता सापकोटाले फर्कने र फर्कन चाहेका विद्यार्थी र अभिभावकलाई लक्षित गरी मंगलवारबाटै हेल्पसेन्टर शुरू गरेको र सो सेन्टरले अभिभावक र विद्यार्थीलाई सेवा दिने बताउनुभयो ।
घटनापछि मन्त्रालयले उडिसा राज्यमा नो अब्जेक्सन लेटर (एनओसी) बन्द गरेको छ । एनओसी शाखा प्रमुख रमेश घिमिरेले उडिसा राज्यमा अधययनका लागि एनओसी लेटर वितरण बन्द गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘भारतभर होइन, तत्कालका लागि उडिसामा एनओसी लेटर वितरण बन्द गरेका हौं ।’ उता, चालू आर्थिक वर्षको फागुन ३ गतेसम्म २ हजार १ सय १७ जनाले भारतमा उच्चशिक्षा अध्ययन गर्न एनओसी लेटर लिएको शाखा प्रमुख घिमिरेको भनाइ छ ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । घटनाको समाचार बाहिरिएलगत्तै महासंघले विज्ञप्ति जारी गरी घटनामा दोषीमाथि कारबाही गर्न माग गरेको छ । अध्यक्ष बरालले घटना छानबिन गर्न महासंघले सबै सहयोग गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया