काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमाअन्तर्गत पक्लिहवा क्याम्पसका निर्देशक र कीर्तिपुरस्थित स्नातकोत्तर तहको संयोजकसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन् ।
सो क्याम्पसका प्राध्यापकहरूको माग सम्बोधन नभएपछि सबै निर्देशक, सहायक क्याम्पस प्रमुख, संयोजक, तीन विभागीय प्रमुख र छात्रावास वार्डेनसहित सबै पदका प्राध्यापकले राजीनामा दिएका हुन् । माग पूरा गर्नुको साटो डीन कार्यालय र प्रशासनले डर त्रास धम्की दिएपछि राजीनामा दिएको उनीहरूले दाबी गरेका छन् ।
सामूहिक राजीनामा दिनेहरूमा भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. नारायण न्यौपाने, सहायक क्याम्पस प्रमुख एवं कीर्तिपुरको स्नातकोत्तर कार्यक्रमअन्तर्गत थेरियोजेनोलोजी विभाग संयोजक डा. शम्भु शाह, भेटेरिनरी प्याथोलोजी विभाग कीर्तिपुर स्नातकोत्तर कार्यक्रम संयोजक प्राडा यमबहादुर गुरुङ, पक्लिहवा क्याम्पस भेटेरिनरी मेडिसिन पब्लिक हेल्थ सर्जरी विभाग तथा फार्म प्रबन्धक डा.गंगाप्रसाद यादव, पक्लिहवा क्याम्पस भेटेरिनरी थेरियोजेनोलोजी र फिजियोलोजी विभाग प्रमुख डा. मनिस गौतम, सोही क्याम्पसका भेटेरिनरी पारासाइटोजी र माइक्रो बायोलोजी विभाग प्रमुख डा. सुवास रिमाल र क्याम्पसका छात्राबास वार्डेन डा. निसान्त साहले सामूहिक राजीनामा दिएका छन् ।
निर्देशकसहित सबै विभागीय प्रमुखले आइतबारबाटै राजीनामा स्वीकृत गर्न डीन कार्यालयलाई आग्रह गरेका छन् । साउन ३ र पुस २५ गते राखेको मागप्रति बेवास्ता गरेपछि आन्दोलनको कार्यक्रम घोषणा गरिएको थियो । प्राध्यापकले चालू आर्थिक वर्षमा दुईवटा स्नातक कार्यक्रमको नयाँ भर्नाका लागि गठित भर्ना समितिमा दुईमध्ये भेटेरिनरी शिक्षक समावेश गरी भर्ना समितिलाई तत्काल पुनर्गठन गर्र्नुपर्ने, अध्ययन संस्थानअन्तर्गतका विकास परिषद्, विद्यापरिषद्, कार्यान्वयन र परीक्षा समिति तथा डीन, सहायक डीन, निर्देशक र संयोजकजस्ता पदीय जिम्मेवारीमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग राखेका थिए ।
त्यस्तै, भेटेरिनरी संकायतर्फ एकमात्र विषय समितिलाई बढाएर तत्काल विषय समिति थप गर्नुपर्ने र दुरगामी महत्वसहित स्नातक र स्नातकोत्तर तह सञ्चालन गर्न भेटेरिनरी क्याम्पस स्थापना गर्नुपर्ने छ ।
डीन कार्यालयले मागको विषयमा छलफल गर्न छाडेर आन्दोलन दबाउने प्रपञ्चले प्राध्यापकलाई व्यक्तिगत र सामूहिक रूपमा दबाब दिई काम गर्ने वातावरण नभएकोले सामूहिक राजीनामा दिएका हौं– प्राध्यापक डा.शम्भु शाहले नेपाल समाचारपत्रसँग भन्नुभयो । आन्दोलनरत प्राध्यकपकले मागको विषयमा उपकुलपति, रेक्टर, रजिस्टार र क्याम्पस प्रमुखको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । माग पूरा गर्ने विषयमा बेवास्ता गरेपछि पक्लिहवा क्याम्पस, कीर्तिपुर स्नातकोत्तर तहका संयोजकले माघ ९ गते माग पूरा गराउन ध्यानाकर्षण गराएका थिए । पटक पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेपछि बाध्य भएर राजीनामा दिएको प्राध्यापकले जनाएका छन् ।
प्राध्यापक डा. शाहले संस्थान र प्रशासनले स्थानीयलाई उचालेर, जागिर खाइदिन्छु भन्नेजस्ता धम्की दिन थालेपछि राजीनामा दिएको बताउनुभयो । ‘अहिले हामी यहाँ बस्न सक्ने अवस्थामा छैनौं, कहिले विद्यार्थी उचाल्ने त कहिले स्थानीयलाई उचालेर हामीमाथि डर देखाइरहेको छ । हामी राजीनामा दिएका सबैजना सँगै छांै,बोर्डर साइडमा क्याम्पस छ, जुनसुकै बेला हामीमथि आक्रमण हुने भएले सबै एकै ठाउँमा बसेका छौं’ –डा. शाहको रोदन थियो ।
उहाँका अनुसार प्राध्यापकको मुख्य माग कृषिसँगै भेटेरिनरी अध्यापनरत सबै प्राध्यापकलाई समान व्यवहार गर्ने हो । अर्थात डीन कार्यालयले बनाएको समितिमा भेटेरिनरीलाई समेत समेट्नुपर्छ भन्ने हो । हरेक तह तप्कामा कृषिका साथीहरू हुने भेटेरिनरीको किन नहुने ? डीन, सहायक डीन, क्याम्पस प्रमुख नियुक्ति गर्दा भेटेनरी अध्यापन गरेका कसैलाई पनि समेटिएको छैन । उहाँले भन्नुभयो–संस्थानमा डीन नियुक्ति भए, दुई नयाँ सहायक डीन आए, पिजी संयोजक, निर्देशक भने कुनै पनि समितिमा नराखेपछि आन्दोलन गरेका हौं ।
समावेशीकरण नभएका कारण आन्दोलनमा उत्रेका हौं । शाहका अनुसार कृषि र भेटेरीनरी गरी दुई विषय छन् सबैखालको समिति बनाउँदा समावेशीकरण गर्न माग गरेको उहाँको गुनासो थियो । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान डीन किशोरचन्द्र दाहालले सो विषयमा आपूm बुझ्ने क्रममा रहेको बताउनुभयो । आन्दोलनको बारेमा अनविज्ञता प्रकट गर्दै भन्नुभयो–‘हामीले गर्न सकेजति गर्ने हो, नियम कानुनबाहेक जान सकिँदैन ।’ प्राध्यापकहरूले मागको बारेमा डीन दाहाललाई जानकारी गराउँदा बेवास्ता गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया