ट्रम्पको आप्रवासी नीतिको विरोध गरेपछि घटे सेलेनाका फलोअर्स


पपस्टार सेलेना गोमेजको इन्स्टाग्राम अकाउन्टबाट एकाएक सात लाख फलोअर्स घटेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीमाथिको कारवाहीलाई तीव्र तुल्याएपछि केही दिनअघि सेलेनाले ट्रम्पको विरोध गर्दै इन्स्टाग्राममा एक भिडियो पोष्ट गरेकी थिइन्।

सेलेनाले ट्रम्पको यो कार्यका कारण आफ्ना साथीहरूमाथि आक्रमण भइरहेको भन्दै दुःख व्यक्त गरेकी थिइन्। उनले रुँदै ‘मेरा सबै मानिसमाथि आक्रमण भइरहेको छ र त्यसमा बालबालिकालाई समेत छन्। म धेरै दुःखी छु, म केही गर्न चाहन्छु, तर सक्दिन। के गर्ने पनि थाहा छैन। तर म सक्दो प्रयास गर्ने प्रतिज्ञा गर्छु’ भनेकी थिइन्। सो भिडियो उनले हटाइसकेकी छन्। मेक्सिकन झण्डाको इमोजी र मलाई माफ गर्नुहोस् शीर्षकमा राखिएको सो भिडियो निकै भाइरल भएको थियो।


सेलेनाले सन् २०१९ मा टाइम म्यागजिनको लेखमा आफ्नो व्यक्तिगत जीवनका बारेमा खुलासा गर्दै आफू अमेरिका–मेक्सिको सीमा पार गर्ने परिवारको पहिलो सदस्य रहेको बताएकी थिइन्। अमेरिका र मेक्सिकोको सीमा क्षेत्रबारे बारम्बार विवाद भइरहन्छ।

राष्ट्रपतीय चुनावका बेला रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आफू जितेमा अमेरिकामा रहेका गैरकानुनी आप्रवासीविरुद्ध कारबाही गर्ने वाचा गरेका थिए। सोहीअनुसार ५ सयभन्दा धेरै पक्राउ परेका छन् र कतिपयलाई देश फिर्ता गराइएको छ।


ट्रम्पले आप्रवासीलाई धमाधम निकाला गर्दै गर्दा यसको विरोधमा मेकिस्कन झण्डासहित इन्स्टाग्राममा भावुक बनेको एउटै भिडियोका कारण सेलेनाको फलोअर्स भने सात लाखले घटेको हो। फलोअर्स घटेपछि पनि उनको फलोअर्स ४ सय २२ मिलियन रहेका छन्।