उदयपुर।
कोइला खरिद गरेको रकम भुक्तानी नगर्दा उदयपुर सिमेन्ट उद्योगका सञ्चालक सदस्यले मुद्दा दर्ता गराएपछि सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका पूर्णरुपले बन्द भएको छ । गत मंसिर १९ गतेदेखि उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए ।
उद्योगका निमित्त महाप्रबन्धक साहका अनुसार उद्योग संग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा उद्योग बन्द गर्नु परेको हो । उनले भने; उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।
उता उद्योगको सम्पूर्ण बैंक खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैंक खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरु रोक्का गर्न अदालतले आदेश दिएको हो ।

उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरु कार्यरत रहेका छन । उनीहरुले पाँच महिना देखि तलवसमेत पाउन सकेका छैनन । उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महशुलको ३० करोड भुक्तान गर्न बाकि छ । बिगत २८ महिना देखि कर्मचारीको संचयकोष र नागरिक लगानिकोषमा समेत रकम जम्मा हुन सकेको छैन । रिटायर कर्मचारीको ४५ करोड भन्दा माथि भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिव डेढ अरव रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने निमित्त महाप्रबन्धक महेश साहले बताए । उनले भने, अहिले रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछी उक्त रिटको सुनुवाई गर्दै अदालतले उधोगका सबै बैंक खाता रोक्का गरेको बताए ।
रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैंक खाता रोक्का गर्ने निर्णय गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार, ‘सरकारी तथा निजी बैंकहरूमा भएका १६ वटा खाता रोक्का भएपछि अहिले उद्योगको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको छ ।’ राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायतका बैंकमा उद्योगका खाता रहेका थिए ।
उदयपुर सिमेन्ट उद्योगकाले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाकी छ। सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्ने सम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको निमित्त महाप्रवन्धक साहले बताए । उनले भने, ‘काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’
अहिले चालू, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मत–सम्भारको काम भइरहेको थियो । मर्मत–सम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि उद्योगलाई थप समस्या परेको हो ।
चालू आर्थिक वर्ष ०८१-८२मा उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको तर अहिले पछिल्लो समय मंसिर १९ गते देखि भने उद्योग पूर्णतः बन्द भएको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला खरिद गर्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द भएको हो ।’ उद्योग बन्द भएपछि घाटा बढिरहेको र उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ ।
प्रतिक्रिया