यति बेला नेपालका अधिकांश अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढेको छ ।
बिरामी हुनेमा विशेष गरी बालबालिकाहरु बढी रहेका छन् । बालबालिकासँगै अभिभावक र उच्च जोखिममा रहेको समूहमा पनि यो समस्या देखिएको छ । हरेक विद्यालयमा दैनिक विद्यार्थी बिरामी भएर घर फर्कने र अस्पतालमा ओपीडीमा जचाउँन जानेको क्रम पनि बढ्दो छ ।
यसमा कमी ल्याउन या सुधार गर्न सरकारले हाल देखिएको भाइरल कुन टाइपको हो भन्ने कुरामा अनुसन्धान गर्नुपर्छ र सोही अनुरुपको उपचार विधि अपनाउनुपर्छ । महामारीको रुप लिएपछि मात्र सरकारको ध्यान जाँदा उपचारमा निकै ढिला हुनुका साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले धान्नै नसक्ने अवस्था आउन सक्छ । जसरी कोभिड–१९ मा सचेतना फैलाएर हरेक व्यक्तिले आफ्नो सुरक्षाका लागि के–के अपनाउने भन्ने बारेमा जानकारी पाए त्यसरी नै हरेक खालका रोगमा नागरिकलाई सचेत गराउने दायित्व राज्यको हो ।
गतवर्ष यो समयमा यति धेरै भाइरलका बिरामी देखिएका थिएनन् । यस वर्ष भने गतवर्षको तुलनामा २५ प्रतिशतले बिरामीको चाप बढिसकेको छ । बिरामी हुनेमा बालबालिका बढी छन् । यसको प्रमुख कारण बालबालिकाहरु विद्यालय जान्छन्, समूहमा बस्छन्, समूहमा खेल्छन् ।
त्यसैले एकजनालाई भाइरल ज्वरो, रुघाखोकी लागेको छ भने एकैपटक ठूलो समूहमा फैलन सक्छ । यस्तो अवस्थामा बिरामी भएका बालबालिकालाई विद्यालयमा छुट्टी दिने र बाँकी विद्यार्थीका लागि स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ । विद्यालयमा धेरै बालबालिका एकैपटक बिरामी भए भने केही समयका लागि विद्यालय बिदा गरेर भए पनि समस्यालाई न्यूनीकरण गर्न सकिने स्वास्थ्य विज्ञहरुको ठम्याइप्रति सरकारको ध्यान पुगोस् ।
विद्यालय सञ्चालकहरुले पनि स्वास्थ्य सुरक्षाका लागि माक्स लगाउने, बारम्बार तातो पानी पिउने, सरसफाइमा ध्यान दिने, समूहमा भेला हुनबाट रोक्नेजस्ता काम गर्नुपर्छ । गत पुसको तेस्रो साताबाट बढेको भाइरल ज्वरो, रुघाखोकी छिटो–छिटो बढ्दै गएको छ । रोकथामका लागि घर–परिवार, विद्यालय र सरकारले समेत बालबालिकालाई सचेत गराउनुपर्ने देखिन्छ । कुनै पनि व्यक्तिलाई रोग लागेको छ भने अरुलाई अर्थात् उच्च जोखिममा रहेका बिरामी, बालबालिका, गर्भवती, दीर्घरोगीको छेउछाउमा नजाने, स्वास्थ्य सुरक्षा अपनाउनका लागि माक्स लगाउने, भीडभाडमा नजाने, ताजा र सफा खाना खाने, पिउने पानी उमालेर मात्र पिउने, हातको सरसफाइ राम्रोसँग गर्नेजस्ता कार्यहरु स्वास्थ्य सुरक्षाका उपाय हुन सक्छन् ।
यस्ता जनचेतनामूलक सन्देशहरु सरकारी निकाय, विद्यालय र घर–परिवारबाट सबैका माझ पुग्न सक्यो र कार्यान्वयन भयो भने रोगबाट बच्न सकिन्छ । बिरामी बालबालिकालाई निको नभएसम्म विद्यालय नपठाउने, चिकित्सकको सल्लाह र परामर्श लिनेजस्ता कार्य मात्र नभएर विद्यालय–नर्स अनिवार्य गरी हरेक विद्यालयमा स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा, सरसफाइका बारेमा ज्ञान दिनुपर्ने देखिन्छ ।
हरेक वर्ष जनवरीदेखि मार्च र अगस्टदेखि अक्टुबर रुघाखोकीको सिजन हो । स्वस्थ नागरिक भए मात्र देश स्वस्थ हुन्छ । त्यसैले समयसापेक्ष स्वास्थ्य शिक्षा र आवश्यकताअनुसारको उपचार पद्धतिमा राज्यको समयमै ध्यान पुगोस् ।











प्रतिक्रिया