मुलुकको राष्ट्रिय राजनीतिको आन्तरिक व्यवस्थापन सही ढंगले अघि बढ्न नसक्दा यसमा बाह्य क्षेत्रको हस्तक्षेप नजानिदो ढंगले बढ्न थालेको छ । कुनै न कुनै स्वार्थ प्रेरित प्रभाव नेपालमा पर्दै गएको पाइन्छ ।
यसका कारण नेपाल भूराजीतिक हिसाबले मात्र होइन, स्वार्थ समूहको चंगुलमा पर्न थालेको छ । सन् १९९० को सोभियत संघको विघटनपछि विश्व एक ध्रुवीय विश्वव्यवस्थाबाट पुनः दुई ध्रुव हुँदै अहिले बहुध्रुवीय अवस्थामा पुगेको छ । पहिलो र दोस्रो विश्वयुद्धपछि विश्व विभिन्न ध्रुवमा विभाजित भइरहेको बेला नेपाल भने असंलग्न आन्दोलनमा सहभागी हुन पुगेको थियो ।
नेपालमा पनि पञ्चायती व्यवस्थाको पतनसँगै स्वार्थ समूहले आफू अनुकूलको सरकार निर्माण गर्नेजस्ता काम गर्दै गए । बहुदलीय प्रतिस्पर्धाको नाममा भएको दल–दलबीचको बेमेल र एकले अर्को दललाई सिध्याउने नाममा विदेशी स्वार्थ समूहको इशारामा नेपालको राजनीति नाच्न थालेपछि अहिले स्वार्थ समूहको फुटबल मैदानको रुपमा नेपाल स्थापित हुन थालेको छ ।
नयाँ विश्व आर्थिक शक्तिको रुपमा चीन, ब्राजिल, साउदी अरेबिया, भियतनामलगायतका देशहरुको उदय र सैन्यशक्तिको रुपमा रसियाले आफूलाई पुनस्र्थापित गर्दै लगेपछि अमेरिकालगायत उसका अन्य शक्तिराष्ट्रहरु मिलेर बहुशक्ति केन्द्रको निर्माण गर्दै लगेपछि नेपाल अहिले यी राष्ट्र वा समूहको भुमरीमा पर्न थालेको छ । दक्षिण एसियाका साथै दक्षिण पूर्वी एसियामा यी शक्तिराष्ट्रहरुले आफ्नो बल प्रदर्शन गर्न थालेपछि त्यसको प्रत्यक्ष मारमा नेपाल र नेपाली पर्ने गरेका छन् ।
भुटानजस्तो देशले समेत नेपाललाई हल्लाइरहेको छ । कूटनीतिक हिसाबले भुटानले नेपाललाई आफ्नो काबुभित्र राख्ने प्रयास गरेको छ । नेपालले भुटानलाई समेत गतिलो जवाफ दिन सक्ने अवस्थामा नहुनुले नेपाल कुन अवस्थामा छ भनेर परिकल्पना गर्न सकिन्छ । यता कमजोर राजनीतिक अवस्थाको फाइदा उठाएर चीनले आफ्नो प्रभुत्व जमाउँदै गएको छ भने भारत, अमेरिकाजस्ता परम्परावादी शक्ति नेपालमा आफ्नो शक्ति झन् मजबुत बनाउन दलीय व्यवस्थामाथि प्रहार गर्दै राजनीति घृणित खेल हो भन्ने मान्यता स्थापित गराउन तल्लीन भएर लागेका छन् ।
चरम भ्रष्टाचार, कुशासन र दल–दलबीचको चरित्र हत्या गर्ने राजनीतिले जनतामा निराशा मात्र होइन, विद्रोहको भावसमेत जन्माउने अवस्था सिर्जना हुँदै गएको छ । त्यसको फाइदा अहिले शक्ति र स्वार्थ समूहले उठाउन थालेका छन् । मुलुकको हरेक क्षेत्र कमजोर हुँदै गएको छ भने विकास निर्माणमा देखिएको सुस्तता र नागरिकमा देखिएको बेथितिले मुलुकको सार्वभौमिकतामाथि नै प्रश्नचिह्न खडा गर्ने हो कि भन्ने भान हुन थालेको छ ।
एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नुले पनि मुलुकको राजनीति तरल हुँदै गएको छ । नेपालले सबै छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न नसक्दा कहिले दक्षिण त कहिले उत्तर हाबी हुने गरेको छ । त्यसैले सन्तुलित परराष्ट्र नीति आजको आवश्यकता हो ।











प्रतिक्रिया