लगनगाँठो, दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ: एलिना चौहान


गायिका एलिना चौहान र उनका गायक पति विष्णु सापकोटाबीच सम्बन्ध विच्छेद भएको छ। गायिका चौहानले मंगलबार सामाजिक सञ्जालमार्फत पतिसंग सम्बन्धबिच्छेद भएको जनाउँदै लामो भावनापूर्ण स्ट्याटस सेयर गरेकी छन्। ‘प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिन्छिन् आवाज अझै उस्तै छन्।

हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँछ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ’ एलिनाले भावुक हुँदै फेसबुकमा लेखेकी छन् ‘जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पुर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आप्mनो गन्तव्य तय गर्न बाटो खुलेको छ।’


उनले पति सापकोटाबाट अंशवापत पाउने सम्पत्ति नलिने उल्लेख गर्दै लेखेकी छन् ‘पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।’ एलिनाले स्ट्याटससँगै विवाहका महत्वपूर्ण पलका तस्वीर पनि सार्वजनिक गरेकी छन्।