सार्वजनिक सेवा प्राप्तिमा कठिनाइ


सार्वजनिक सेवा सहज र सरलरुपमा पाउनु सर्वसाधारण नागरिकको राज्यप्रदत्त अधिकार हो ।

यो कुरा सुन्दा जति आनन्द आउँछ, बोल्न जति सहज छ, व्यवहारमा पाउन त्यत्तिकै सकस छ । हरेक नागरिकले कुनै न कुनै रुपमा व्यवहारमा भोगिरहेका हुन्छन् । नागरिकता बनाउन जाँदा होस् वा सवारीको कर तिर्न जाँदा अथवा अन्य कुनै दैनिक जीवनसँग जोडिएको काम गर्न सरकारी निकायमा जाँदा, त्यहाँ गरिने व्यवहार, भोग्नुपर्ने कष्टलाई सम्झिने हो भने सार्वजनिक सेवा पाउने विषय जटिल र खर्चिलो बन्दै गएको देखिन्छ ।

सेवाप्रदायक निकायका अधिकारीहरुमा नागरिकलाई सेवा दिन बसिरहेको भावसमेत पाउन मुस्किल हुन्छ । उनीहरुको भावभंगी हेर्दा जनताको सेवा गर्न बसेका सेवक नभई शासक र दमन गर्न बसेका राज्यका संयन्त्रझैँ प्रतीत हुने गर्दछ । सरकारी कर्मचारीको व्यवहारमा नम्रता र मुस्कान मुस्किलले देख्न पाइन्छ ।

यसले गर्दा सरकारी सेवा लिने हरेक मानिसलाई सरकारी अड्डा, कार्यालय त जानै नपरोस् भन्ने लाग्छ । दैनिक जीवनमा देखिने यस किसिमको भोगाइले मानिसलाई राज्यप्रति विश्वास नभई ‘एलर्जिक’ भावना जागृत भएको आभास हुने गरेको छ ।


जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत, यातायातजस्ता कार्यालयका साथै स्थानीय तह, वडा कार्यालय, जहाँ सेवाग्राहीको भीडभाड अत्यधिक हुन्छ त्यहाँबाट सहज र सरलरुपमा सेवा लिन नसकिरहेको गुनासो धेरैको हुने गरेको छ । सेवाग्राहीको अत्यधिक चाप हुने कार्यालयहरु कर्मचारीवृत्तमा मालदार तथा कमाउ अड्डाका रुपमा चिनिन्छन् ।

नेपालको सन्दर्भमा सरकारी कार्यालयबाट सहज काम लिन कि चिनेको, कि आफन्त हुनुपर्दछ वा अतिरिक्त पैसा खुवाउनुपर्ने स्थिति छ । आम सरकारी कार्यालयको दैनिकी नै यस्तै बनिसकेको छ । केही कागजात अपुग हुनेबित्तिकै सहजीकरण गरिदिने भन्दा पनि त्यसको फाइदा कसरी उठाउने भन्ने कर्मचारीको ध्यान जाने गर्दछ ।

न्यायालयमा समेत यस्तै छ । बिचौलियाको सहयोग लिने हो भने काम तुरुन्तै फत्ते हुने गरेको छ । यस्तो स्थितिका कारण आम सर्वसाधारणले निकै दुःख, समस्याको सामना गर्र्नुपरिरहेको छ । यसतर्फ राज्य वा सरकारको ध्यान जाने कहिले ?
सरकार आफ्नो आसेपासेलाई रिझाउने र उनीहरुको स्वार्थ पूरा गर्ने ध्याउन्नमा छ । सर्वसाधारणले भोग्नुपरिरहेका समस्याबारे सम्बन्धित निकायको ध्यान कहिले जाने ? यसैले पनि नागरिकहरुमा अहिले देशभक्तिको भावना कमजोर हुँदै गएको छ भने राज्यसञ्चालनमा बसेका व्यक्तिहरुप्रति घृणा–द्वेषको भावना वृद्धि हुँदै गएको छ ।

यो स्थिति आउनु भनेको देशको निम्ति राम्रो अवश्य होइन । तैपनि यसमा जिम्मेवार तहमा बसेका मानिसको ध्यान गइरहेको छैन । नागरिकलाई सरल र सहज तरिकाले सेवा दिने सम्बन्धमा राज्य गम्भीर हुन नसकेमा यसले ल्याउने दुष्परिणाम भोग्न बाध्य हुन्ुपर्नेछ । सेवाप्रवाह सरल र सहज नभएमा बिचौलियाको प्रभाव बढ्नेछ ।

र बिचौलियाको मिलेमतोमा काम हुने प्रवृत्तिले सरकारी सेवा प्राप्तिमा आर्थिक स्तर कमजोर भएकाहरुले सेवा नपाउने खतरा बढ्नेछ । सर्वसाधारण नागरिकमा देशप्रति गौरवको भावना क्रमशः घट्दै जानेछ । यो स्थिति भनेको मुलुक आन्तरिकरुपमा कमजोर बन्नु हो, जुन काम अहिले भइरहेको छ । अतः सहज र सरल तरिकाले सेवा पाउन नसकेका ती क्षेत्रको सुधारको लागि विशेष कार्यक्रमहरु ल्याउनुपर्ने खाँचो छ ।