स्याङ्जामा ९९ प्रतिशतमा एचपीभी खोप

5.55k
Shares

स्याङ्जा। 

माघ २२ गतेबाट सुरु भएको एचपीभी खोप अहिलेसम्म ९९.३ प्रतिशतले लगाएका छन् । २२ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एचपीभी खोप स्याङ्जामा ९९.३ प्रतिशतले लगाएका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले दिएको जानकारी अनुसार जिल्लाका ११ पालिकामा एचपीभी  खोप लगाउनेको संख्या लक्ष्य अनुसार नै सम्पन्न भएको बताएको छ ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध कक्षा ६ देखी १० सम्मका र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समूहका बालबालिकालाई एचपिभि खोप दिइएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका अनुसार ६ दिन सम्म चलेको खोप अभियानमा पुतलीबजारमा ९१.५, भीरकोटमा १००.६, वालिङमा ९८.३, गल्याङ्मा १०१.५  र चापाकोट नगरपालिकामा ९९.९ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । त्यसैगरी फेदिखोलामा १०२.८, आँधीखोलामा १००.५, अर्जुनचौपारीमा १०२.१, हरिनासमा १०३, बिरुवामा ९९.५ र कालीगण्डकी गाउँपालिकामा १०९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ ।

स्याङ्जामा ९ हजार ३ सय १९ जना बालबालिकालाई यो खोप लगाउने लक्ष्य स्वास्थ्यको थियो । अहिले सम्म ९ हजार २ सय ५१ जना बालबालिकालाई यो खोप लगाइ सकिएको स्वास्थ्यले जनाएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका ११ तहमा माघ २२ देखी २८ गतेसम्म यो अभियान सञ्चालन गरेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाँईका अनुसार खोप लगाउने अन्तिम चरणमा पुगेको र लक्ष्य अनुसार सफलता मिलेको भनाई छ ।

हालसम्म पुतलीबजार नगरपालिकामा १ हजार ७ सय २० मध्ये १ हजार ५ सय ७४ जना, भीरकोट नगरपालिकामा ८ सय ३३ मध्ये ८ सय ३८ जना, वालिङ् नगरपालिकामा १ हजार ९ सय ८० मध्ये १ हजार ९ सय ४७ जना, गल्याङ नगरपालिकामा १ हजार १ सय ११ मध्ये १ हजार १ सय २८ जना, चापाकोट नगरपालिकामा ८ सय ९० मध्ये ८ सय ८९ जना किशोरीले खोप लगाएका छन् ।

 यस्तै, अर्जुनचौपारी गाउँपालिकामा ४ सय ३७ मध्ये ४ सय ७५ जना, आँधीखोला गाउँपालिकामा ३ सय ९९ मध्ये ४ सय १ जना, फेदीखोला गाउँपालिकामा ४ सय ६४ मध्ये ४ सय ७७ जना, बिरुवा गाउँपालिकामा ४ सय २६ मध्ये ४ सय २४ जना, हरिनास गाउँपालिकामा ४ सय ६१ मध्ये ४ सय ७५ जना, कालीगण्डकी गाउँपालिकामा ५ सय ९८ मध्ये ६ सय ५२ जना किशोरीलाई खोप लगाइएको प्रमुख चापागाईंले बताए ।

हरेक बर्ष पाठेघरको मुखको क्यान्सर रोगबाट धेरै महिलाहरुले ज्यान गुमाउन थालेपछि नेपाल सरकारले यो खोप अभियान सुरु गरेको हो । स्याङ्जामा स्वास्थ्य कार्यालयले ३ सय १९ खोप केन्द्र मार्फत एचपिभी खोप सञ्चालन गरेको थियो । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपीभी  भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ ।