काठमाडौं ।
पछिल्लो समय नेपाली राजनीतिलाई ‘सत्ता केन्द्रित मनोरोग’का रूपमा हेर्न थालिएको छ। राजनीतिक दलका नेतृत्वकर्ताले आम नागरिकका सवाललाई छाडेर सत्तास्वार्थमा मात्रै रुमल्लिइरहने प्रवृत्तिलाई बढावा दिँदै जाँदा उनीहरुका लागि राजनीति ‘सत्ताको मनोरोग’ बन्दै गएको आम अनुभूति हुन थालेको हो।
दलहरूले एउटै विषयलाई सत्तामा रहँदा र सत्ता बाहिर पुग्दा फरकफरक व्याख्या गर्ने गरेका छन् । यसले आम नागरिक र देशका लागिभन्दा पनि व्यक्ति केन्द्रित, दल केन्द्रित र सत्ता केन्द्रित प्रवृत्तिलाई पुष्टि गरेको छ। नागरिकलाई संवैधानिक हिसाबले अधिकार सम्पन्न बनाउँदै सेवाप्रवाह, सुशासन, विकास र भ्रष्टाचारमुक्त समाज निर्माणको योजना लिएर परिवर्तनको आन्दोलनमा होमिएका दलहरू राजनीतिक परिवर्तनपछिको दशकसम्म आफै सुशासित हुन सकेका छैनन् । भ्रष्टाचार र बेथितिहरू उत्तिकै छन्।
तर, दलहरूले सत्ताको भर्याङका रूपमा यी सबै विषयवस्तुलाई एउटै डालोमा लिएर हिँड्ने गरेको वरिष्ठ पत्रकार एवं विश्लेषक ध्रुवहरि अधिकारीले बताउनुभयो।
‘नेपाली राजनीति गन्तव्यहीन बनेको छ’, उहाँले भन्नुभयो– ‘अहिलेका नेताहरूले देश र नागरिकको भविष्यको कुनै बाटो तय गर्न सक्ने अवस्था देखिँदैन। दलहरूको पहिला सत्तामा जाने र सत्तामा पुगेकालाई कसरी खसाल्नेबाहेक अरू देश र जनताका पक्षमा दीर्घकालीन वा अल्पकालीन सोच बनाउने उनीहरूलाई फुर्सदै छैन।’
सत्ता पाउनासाथ यी सबै कुराको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका नेताहरू सत्तामा पुगेपछि सेटिङमै मस्त हुने गरेका छन् । प्रतिपक्षमा बसेकाहरू पनि आफ्नो जिम्मेवारी बहन गर्नेभन्दा सत्तासीनलाई कसरी खुइल्याएर सक्ने र आफू त्यहाँ पुग्ने भन्नेबाहेक कुनै पनि योजना बनाउन छाडेको विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन्।
सत्ता बाहिर बसेकाले सत्ता पक्षलाई सत्ता दुरुपयोगको आरोप लगाउने र प्रतिपक्षलाई सत्ता छटपटाहटको पीडाबोध भएको प्रतिउत्तर दिँदैमा वर्षौं बितिसकेको छ। उनीहरूको यस्तो मनोरोग ठीक हुनुको साटो थप बल्झिँदै गएको राजनीतिलाई नजिकबाट नियाल्नेहरूको टिप्पणी छ।
यही चरित्रलाई अहिले सदनदेखि सडकसम्म देख्न पाइएको छ । शनिवारमात्रै प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई ठगेको आरोप लगाउनुभयो।
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको उहाँको दाबी छ । ‘त्यही प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधन गर्नु छ भन्ने ? गफै हाँकेको हो भने त्यो गफको के काम ?’ – नेपालले प्रश्न गर्नुभयो।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएको सात महिनामा वर्तमान सरकारी गठबन्धनलाई दर्जन बढी आरोपहरू लगाइसक्नुभएको छ। दाहाल आफैं प्रधानमन्त्री हुँदा प्रारम्भ गरेका कतिपय विषयहरूमा समेत प्रतिपक्षमा पुगेसँगै फरक दृष्टिकोणबाट दाहालले व्याख्या गर्न थाल्नुभएको छ।
उता, सत्तासीन दलहरूले त्यसलाई प्रतिरक्षा गर्ने काममा छन्। संसद्मा सहभागी अधिकांश दलहरु प्रतिपक्षमा हुँदा आक्रमक र सत्तामा आएपछि रक्षात्मक बन्ने बाहेक मुलुक र जनताको भविष्यप्रति इमानदारिताका साथ लागेको देखिँदैन। यस्तो राजनीतिले दलहरूमाथिको वितृष्णालाई थप बढावा दिने र नागरिकमा राजनीतिप्रतिको सोच नै अझै नकारात्मक बन्दै जाँदा मुलुक दुर्घटनामा पर्न सक्ने पूर्वमन्त्रीसमेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहालले बताउनुभयो।
प्रतिक्रिया