दुःखी आत्मा प्रेम भावमा


काठमाडौं ।

प्रेम दिवसको अवसर पारेर आगामी फागुन २ गते रिलिज हुने फिल्म दुःखी आत्माको ट्रेलर सार्वजनिक गरिएको छ।

नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन? बगरले नदीलाई जवाफ दिइन् युगौँदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु।
ट्रेलरमा समावेश कवितामा भनिएको यो भावनाले फिल्मको विषयवस्तुलाई झल्काएको छ।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश छन्। सार्वजनिक ट्रेलरमा दयाहाङ र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ।

सार्वजनिक भएको ३ घन्टामै ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ। युट्युबको सिनेमा सेक्सनअन्तर्गतको ट्रेन्डिङमा प्रवेश गरेको यो ट्रेलरले दर्शकको उत्साहजनक साथ पाएको छ। ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ।

क्लर्क वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाद्वारा निर्मित फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायतका कलाकारले अभिनय गरेका छन्।

सुदीप ढकाल कार्यकारी निर्माता रहेको यौन मनोविज्ञानमा निर्मित फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।