चिसोमा हुने रुघाखोकीलाई साधारण रुपमा नलिऔं

11.75k
Shares

जाडो महिनामा श्वासप्रश्वासका समस्या बढी देखिन्छन्। त्यसमा पनि भाइरसबाट हुने रोग बढी मात्रामा हुने गर्छ भने ब्याक्टेरियाबाट हुने निमोनिया पनि देखिने गर्छ । भाइरसको कुरा गर्दा कोरोना, इन्फ्लुयन्जालगायतका भाइरसका कारण नाक तथा घाँटीको संक्रमण हुन्छ । साथै यस्ता भाइरसले फोक्सोमा गएर निमोनिया पैदा गर्छन्।

जाडो महिनामा पानी नपर्ने या कम पर्ने भएकाले मौसम सुख्खा हुन्छ। वातावरणमा धूलोका कण हुन्छन्, जसले गर्दा श्वासप्रश्वासका माध्यमबाट त्यस्ता धूलोका कण शरीरभित्र प्रवेश गर्छन्। यस्तै चिसो ठाउँमा फङ्गस पलाउने र त्यसमार्फत विभिन्न कीटाणुको संक्रमण हुने हुन्छ । त्यसैले जाडो मौसममा श्वासप्रश्वासका रोग बढी देखिने गर्छन् ।

लक्षण :
भाइरसबाट हुने रोगमा ज्वरो आउने, नाकबाट पानी बग्ने तथा खोकी लाग्ने हुन्छ। शुरुमा सुख्खा खोकी लाग्ने हुन्छ। संक्रमण बढ्दै जाँदा खोकीमा खकार आउन थाल्छ र बिरामीलाई गम्भीर बनाउँछ। मांसपेशी तथा जोर्नी दुख्ने, खानामा अरुचि हुने, चिसो पसिना आउने र बिरामी गल्दै जाने हुन्छ।

संक्रमण फोक्सोमा पुगेपछि भाइरसबाट हुने निमोनिया हुन्छ र पछि ब्याक्टेरियल संक्रमण हुन्छ। र, अन्ततः आईसीयु तथा भेन्टिलेटरमा पनि राख्नुपर्ने हुन सक्छ । त्यसैले समयमै ख्याल गरिएन भने यस्ता समस्याले जीवन नै जोखिममा पनि पार्न सक्छन्।

पूर्वसावधानीका उपाय :
भाइरसको संक्रमण फैलन नदिन सबैभन्दा पहिले व्यक्तिगत सरसफाइ कायम गर्नुपर्ने हुन्छ। रुघाखोकी, श्वासप्रश्वास तथा दमका बिरामीसँग बस्दा मास्कको प्रयोग गर्ने तथा बाहिर जाँदा पनि मास्क लगाउनुर्छ।

प्रायजसो यस्ता भाइरसजन्य संक्रमण स्कुले केटाकेटीमार्फत घरमा प्रवेश गर्ने हुन्छ। उनीहरुमा विभिन्न माध्यमबाट एक–अर्कामा सर्छ र घरमा आएपछि आमाबुबा र आफन्तलाई संक्रमण सर्छ । रुघाखोकी लगाउने भाइरसको संक्रमण एकजनालाई भएपछि सबैलाई सर्छ । कोरोना भाइरसजस्तै यसमा पनि व्यक्तिगत सरसफाइ र सतर्कता महत्वपूर्ण हुन्छ । हात धुने, हातले निधार नछुने, स्यानिटाइजरको प्रयोग गर्ने र साबुनपानीले हात धोइहाल्नुपर्छ।

यस्तै, मौसम धेरै सुख्खा हुने भएकाले हुयमिडिफायरको प्रयोग गर्न सकिन्छ। धुवाँ–धूलोबाट बच्नै पर्छ । त्यस्तै भाइरस संक्रमणबाट जोगिन खोपको पनि प्रयोग गर्न सकिन्छ । इन्फ्लुयन्जाको खोप वर्षको एकपटक लगाउन सकिन्छ। यो सामान्यतः जाडो महिना शुरु हुनुअघि दशैं–तिहारका बेला लगाउन सकिन्छ, जसले एक वर्षसम्मका लागि सुरक्षा दिन्छ।
कसलाई लगाउने खोप ?

५ वर्षमुनिका र ६५ वर्ष नाघेका सबैलाई रुघाखोकीको खोप लगाउनुपर्ने हुन्छ । यसबाहेक जुन व्यक्तिलाई पहिलेदेखि नै फोक्सोको समस्या छ, उनीहरु जसले पनि लगाउन मिल्छ, उमेरको बन्देज छैन । यसबाहेक जसलाई छिटो–छिटो रुघाखोकी लाग्छ, उनीहरुले लगाएमा ७० देखि ८० प्रतिशत सुरक्षा यसले दिन्छ ।

उपचार विधि :
पहिले त लक्षणबाटै थाहा हुन्छ– रुघाखोकी भाइरसका कारण हो कि ब्याक्टेरियाका कारण हो भनेर । घाँटीको स्वाब, खकारको जाँच, नाकको स्वाब लिएर केन्द्रीय ल्याबमा पठाएपछि कुन प्रकारको भाइरस हो पत्ता लगाउन सकिन्छ । सामान्यतया इन्फ्लुयन्जा भाइरस ए, बी र सी प्रकारका हुन्छन् । त्यसमध्ये इन्फ्लुयन्जा ए र बी बढी संक्रामक हुन्छन् । उनीहरुबाट संक्रमण चाँडै फैलने भएकाले बिरामीलाई सिकिस्त पनि पार्न सक्छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या पहिचान भइसकेपछि घरमै बसेर पनि उपचार गर्न सकिन्छ । तातो पानी खाने, नुनपानीले कुल्ला गर्ने, बाफ लिने गर्न सकिन्छ । ज्यान दुखाइ पनि कम गर्ने भएकाले सिटामोल भएका औषधि प्रयोग गर्न सकिन्छ । २४ देखि ४८ घण्टासम्म निको भएन भने अस्पताल गएर डाक्टरलाई भेट्नुपर्ने हुन्छ । रोग लाग्न नदिन पानी अथवा झोलिलो पदार्थ प्रशस्त प्रयोग गर्नुपर्छ र खान पनि छाड्नुहुन्न । व्यक्तिगत सरसफाइ कायम राख्नुपर्छ । तर, बिरामीलाई कहिलेकाहीँ भर्ना नै गर्नुपर्ने स्थिति पनि आउन सक्छ।

धुवाँ, धूलो, रसायन या कुनै पनि कडा खालको गन्धले पनि रुघाखोकी लाग्न सक्छ । यसलाई हामी एलर्जी राइनाइटिस भन्छौं । जुन व्यक्तिलाई छिटो–छिटो रुघाखोकी लागिरहन्छ, त्यस्ता व्यक्तिलाई एलर्जी राइनाइटिसबाट शुरु हुन्छ । एकपटक संक्रमण भइसकेपछि नाकबाट घाँटी हुँदै फोक्सोमा जान्छ । जसको रोकथामका उपायबारे मैले छोटो चर्चा गरेँ ।

ख्याल गरौं :
रुघाखोकीलाई हामी अधिकांशले साधारणरुपमा लिन्छौं । तर, कहिलकाहीँ गम्भीर समस्या पनि हुन सक्छ र अस्पताल भर्ना गरेर भेन्टिलेटरमा बस्नुपर्ने स्थितिसमेत आउन सक्छ। घरमै उपचार गर्दासमेत २४ देखि ४८ घण्टासम्म पनि सन्चो भएन भने तत्काल चिकित्सकसँग सल्लाह लिनुपर्छ।

खोकी लागेर व्यक्तिलाई खकार पहेँलो आउने, ज्वरो आउने, ज्यान बढी दुख्ने हुन्छ भने अरु रोगका पनि लक्षण हुन सक्छन्। डेंगु अथवा स्क्रब टाइफस पनि हुन सक्छ, जसको पहिचान र निदानका लागि अस्पताल जानुपर्छ।

(डा. श्रीवास्तव नर्भिक इन्टरनेसनल अस्पतालका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट हुनुहुन्छ ।)