पर्यटकहरू प्रायः मनोरम दृश्य हेर्नका लागि नेपालमा आउने गर्दछन्। उनीहरूका लागि नेपाल विश्वमै एक आकर्षक देशका रुपमा रहेको छ। प्राकृतिक सम्पदादेखि मानवनिर्मित पर्यटकीय स्थलहरू पनि नेपालमा प्रशस्त मात्रामा रहेका छन्। यहाँको हावापानीले समुद्र सतहदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा समेट्ने भएकाले सबै प्रकारको तापक्रम यस देशमा पाइने गर्दछ। विश्वको जम्माजम्मी जनसङ्ख्याको करिब ७ प्रतिशत बौद्ध धर्मावलम्बीहरू छन्।
ती बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या ५० करोड पुगेको अनुमान छ । बौद्धधर्म मान्नेहरू प्रायः एसिया प्यासिफिक क्षेत्रमा बढी बसोबास गर्दछन् । ९९ प्रतिशत यस धर्म मान्नेहरूको सङ्ख्या यस क्षेत्रमा छ । चीनमा मात्रै जम्मा बौद्ध धर्मावलम्बीहरूको ५० प्रतिशत अथवा २५० मिलियन जनसङ्ख्या रहेको छ । बुद्धिष्टहरू भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र उनको मावली क्षेत्र बुटवलनजिक रहेकोले यी पवित्र स्थानहरूमा भ्रमण गर्न आउने गर्दछन् । प्राचीन कपिलवस्तु, तिलौराकोट आदिको भ्रमण गर्न र दर्शन गर्नका लागि पनि आइराखेका छन्। यो सङ्ख्या अत्यन्त ठूलो भएकाले उनीहरूलाई नेपालमा आकर्षित गर्न सक्ने सम्भावना प्रबल छ।
केही समयअघिसम्म विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या भएको देश चीन थियो। यस देशमा रहेका बौद्धधर्म मान्नेहरूमध्ये १० प्रतिशतले मात्र नेपालको भ्रमण गरे भने नेपालको अर्थ व्यवस्थामा अत्यन्त ठूलो सकारात्मक परिवर्तन आउँछ। यो सम्भावना पनि छ, किनकि चीन नै यस्तो देश हो जसले आफ्नो देशबाहेक अन्य देश नेपालमा मात्र बुद्ध स्तूप लुम्बिनीमा बनाएको छ। यसले पनि चिनियाँहरूले लुम्बिनीलाई आफ्नो पवित्र तीर्थस्थल बनाएकोमा सन्देह रहँदैन । केही समयअघिसम्म नेपाल विश्वमै एकमात्र हिन्दु राष्ट्र रहेको थियो । विश्वका हिन्दुहरूको सङ्ख्या १.२ अर्ब रहेको छ । हिन्दु धर्म मान्नेहरूले विश्व जनसङ्ख्याको तेस्रो क्रममा आफूलाई स्थापित गरेका छन्। ९० प्रतिशत हिन्दुहरु छिमेकी देश भारतमा छन्। नेपालमा ओमकार समाजसमेतलाई समावेश गर्दा हिन्दुहरूको सङ्ख्या जम्मा जनसङ्ख्याको ८९ प्रतिशत रहेको छ। नजिकै रहेको बंगलादेशमा पनि ठूलै सङ्ख्यामा हिन्दुहरू रहेका छन्। यसका अलावा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, मलेसिया, इन्डोनेसिया, पाकिस्तान, श्रीलंका आदि देशहरूमा पनि हिन्दुहरु छरिएर रहेका छन्। यो धर्म अत्यन्त उदार प्रकृतिको भएको कारण पनि विश्वभरका सबै धर्म मान्नेहरु हिन्दु धर्म मान्नेहरूसँग प्रगाढ सम्बन्ध राख्न आकर्षित हुन्छन् । यो ठूलो जनसङ्ख्याको आफ्नो आदर्श, आस्था र भक्तिभावको केन्द्र भनेकै विशेष गरी नेपाल हो। यस अर्थमा विश्वभर रहेका हिन्दुहरू नेपाल आउन उनीहरूको लागि ठूलो इच्छा हुने गर्दछ।
पर्यटन क्षेत्रको विकासका लागि हवाई यातायातको योगदान अत्यन्त महत्वपूर्ण देखिन्छ। यो सेवा तुलनात्मकरुपमा अन्य सेवाभन्दा सुविधायुक्त छ। कम लागतमा उडान भर्न पाइन्छ । समयको सदुपयोग हुन्छ। सबै प्रकारका यातायातका साधनमा सबैभन्दा सुरक्षित पनि मानिएको छ। यस क्षेत्रको विकास अत्यन्त तीव्र गतिमा हुँदै गएकाले सरकारी र निजी क्षेत्र दुवैले सेवा प्रदान गर्दै आएका छन्। यो यातायात सेवाको प्रतिस्पर्धा अत्यन्त बढिराखेको छ। प्रतिस्पर्धा बढेकै कारण हवाई सेवा बढी गुणस्तरयुक्त बनिराखेको छ। पर्यटन उद्योग हवाई यातायातमा अत्यन्त ज्यादा आधारित छ। यो सेवा प्रभावकारी हुँदा ठूलो संख्यामा पर्यटकहरु भित्रिन सक्दछन्। पर्यटकहरू अत्यन्त राम्रो गरी प्रवाह हुँदाखेरिको अवस्थामा हवाई यातायात फस्टाउन थाल्छ । यी यातायातका साधनको बीचमा स्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा पर्यटकले गुणस्तरयुक्त सेवा पाउँछन् र पर्यटक बढ्छन् । हवाई सेवा प्रवद्र्धन हुन पुग्छ । पर्यटन उद्योगको विकास र हवाई यातायातको प्रवद्र्धन एक–अर्काका परिपूरक हुन् । विशेष गरी अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने पर्यटकहरू बढ्दा हवाई यातायातको अवस्था सुदृढ हुन पुग्छ । आन्तरिक उडानसमेतले प्रशस्त काम पाउन थाल्छन्।
पर्यटकहरूको सङ्ख्या वृद्धि गर्नको लागि सतही यातायातभन्दा हवाई यातायातकै विकास र प्रवद्र्धन हुनु अत्यावश्यक छ । आफ्नै देशका एयरलाइनको विकास गर्दै गुणस्तरीय सेवा यदि यात्रुहरुलाई दिन सकियो भने यसबाट देशले अत्यन्त ठूलो फाइदा लिन सक्छ । थाई एयरवेज र तत्कालीन रोयल नेपाल एयरलाइन्स एकै दिन उडान प्रारम्भ गरेका हुन् । दुईवटाको तुलना गरेर हेर्दा नेपालका एयरलाइन्सहरू प्रायः गुमनाम भइसकेका छन् । तर थाई एयरवेजले अत्यन्त ठूलो प्रगति गरेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक एयरलाइनको बारेमा विश्लेषण गर्दा युरोपियन युनियनले नेपालमा रजिस्टर भएका एयरलाइनलाई आफ्नो भूभागमा उड्न प्रतिबन्ध लगाउने र आफ्ना नागरिकलाई यात्रा गर्दा ती विमानबाट नगर्न सूचित गरेको थियो। यसका पछाडिका कारणको बारेमा विश्लेषण गर्नुभन्दा पनि हामीले हाम्रो वायुसेवाको गुणस्तर र प्रख्याति विश्वबजारमा स्थापित गर्न सकेका छैनौं ।
नेपालका आफ्नै विशिष्ट विशेषता छन् । ऐतिहासिक र सांस्कृतिक धरोहरहरु पर्याप्त छन्।
राष्ट्रको पहिलो पहिचान विमानबाट अवतरण गर्नासाथ हुने गर्दछ । त्यहाँ भएका सुविधा, अध्यागमन सेवाको प्रभावकारिता, सुरक्षाको प्रत्याभूति, ब्यागेज क्लेम गर्ने व्यवस्था, भन्सार जाँचको स्थिति, बाहिर निस्किएपछि पाइने सुविधाहरू जस्तो– ट्याक्सी, टुरिस्ट गाइड, पोर्टर, होटेलको सुविधा आदिको मूल्यांकन पर्यटकहरुले राम्ररी गर्दछन्। उनीहरूले घुमफिर गरेका अन्य देशहरूका सेवा–सुविधा र वातावरणमैत्री अवस्थाको तुलना गर्दछन् । देश फर्किएपछि यी पक्षको मूल्यांकन हुन्छ।
गुम्बा, मन्दिर, अन्य आकर्षक स्थलहरू विश्वसम्पदा सूचीमा सूचीकृत भएका स्थानहरू थुप्रै छन्। काठमाडौँ उपत्यकामा मात्रै विश्वसम्पदा सूचीमा रहेका सात स्थान छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणका लागि व्यवस्थित गरिएका पार्कहरू, आरक्षणहरू थुप्रै छन्। बंगाली बाघ, एकसिंगे गैंडा, हात्ती, थरी–थरीका पक्षीहरू हेर्न पनि अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटकहरू आउने गर्दछन्। विश्वका १४ वटा उच्च शिखरहरु पनि नेपालमै छन्। अत्यन्त मनमोहक लस्कर मार्गहरू, पैदल मार्गहरू, पर्वतारोहणका लागि अत्यन्त लोभलाग्दा हिमालहरू नेपालमै छन्। अनि विकसित देशहरूको तुलनामा यहाँ आउने पर्यटकहरू अत्यन्त सुपथ मूल्यमै आफ्नो उद्देश्य प्राप्त गरेर फर्किन्छन्। पर्यटन क्षेत्रको यस प्रकारको सम्भाव्यता भएकै कारण र केही मात्रामा नेपाली पर्यटकहरू भित्र्याउन सकेका कारण देशभित्र रोजगारीका अवसरहरु सिर्जना भएका छन्। अन्तर्राष्ट्रिय व्यापार घाटालाई कम गर्न केही सहयोग मिलेको छ। उपभोक्ताका लागि बजार विस्तार हुन पुगेको छ। राष्ट्रिय अर्थतन्त्रको विभिन्न क्षेत्रमा यसले सहयोग पुर्याइरहेको छ। राजस्व वृद्धि र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न सहज भएको छ। वैदेशिक मुद्रा सञ्चितिको अवस्थामा उल्लेखनीय सुधार हुँदै आएको छ। पर्यटक भित्र्याउन सम्भाव्यता भएका देशहरूमा नेपालको क्रम आठौँमा छ। तर पर्यटक भित्र्याउने देशहरूको क्रममा नेपाल १०० भन्दा पनि तल रहेको अवस्था छ। सम्भाव्यताको हिसाबले यति राम्रो स्थिति नेपालको हुँदै गर्दा हामी अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटकहरू आकर्षण गर्न सफल हुन सकेका छैनौं । यो अवस्था सिर्जना हुनुको पछाडि केही समस्या र चुनौतीको सामना नेपालले गर्नुपरिराखेको छ ।
समस्या र चुनौतीहरू :
सबैभन्दा ठूलो समस्या भनेकै हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल नै हो । हामीले सञ्चालनमा ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा–सुविधा र आधारशिलालाई अध्ययन गर्ने हो भने यो आन्तरिक उडान भर्नको लागि मात्र पर्याप्त छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँभन्दा बाहिर व्यस्त शहरभन्दा केही फरकमा स्थापित हुनुपर्दछ । यो अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका विकृति र विसंगतिका कारण पनि पर्यटकहरु दोहोर्याएर नेपाल आउने धारणा परित्याग गर्दछन् । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अत्याधुनिक प्रविधिसहितको प्रयोग गरेर सुविधा सम्पन्न बनाइएका छन्। तर यी विमानस्थलले सहज एयर रुटसम्म पनि प्राप्त गर्न सकेका छैनन्। यसको प्रचारप्रसारको पनि कमी छ। अन्तर्राष्ट्रिय उडान भर्नका लागि खासै भूमिका निर्वाह गर्न सकेको छैन। त्यसले गर्दा यी दुवै विमानस्थलहरू ऋणबाट ठूलो लागतमा तयार भएका तर त्यो लागत उठाउन सक्ने सम्भावना न्यून हुँदै जाँदा राष्ट्रका लागि सेतो हात्ती बन्ने सम्भावना प्रबल हुँदै गएको छ। यस अवस्थामा विदेशी पर्यटकलाई नेपाल आकर्षण गर्ने जुन सपना यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको थियो, यसमा प्रश्नचिह्न खडा भएको छ।
पर्यटकलाई आकर्षित गरिने क्षेत्रहरूको संरक्षण र विस्तारीकरण तथा सुधार गर्दै जानुपर्नेमा यी क्षेत्रहरू प्रदूषित हुँदै गएका छन् । यस्ता सार्वजनिक क्षेत्रहरू व्यक्ति, संस्थाहरूले अतिक्रमण गर्दै गएको अवस्था छ । नेपालको सरकारले यो समस्यालाई समाधान गर्न प्रभावकारीरुपमा आफ्नो उपस्थिति दिन सकेको छैन । गुणस्तरयुक्त अथवा राम्रा डलरहरू खर्चिन सक्ने पर्यटकहरु भित्र्याउन सकेको छैन । नेपालमा प्रवेश गर्ने पर्यटकहरू अत्यन्त सुपथ मूल्यमा गुजारा गर्दै घुमफिर गरेर फर्कन्छन् । एउटा पर्यटकले दैनिक गर्ने खर्च १२५ डलर देखिएको छ । रकम खर्चिने गुणस्तरयुक्त टुरिस्ट आकर्षित गर्न यस क्षेत्रमा धेरै लगानी गर्नुपर्ने अवस्था छ । प्रत्यक्ष हवाई सम्पर्क रहेका देशहरूबाट पर्यटक सिधै उडान भरी आफ्नो गन्तव्य मुलुक प्रवेश गर्न चाहन्छन् । युरोपियन, अमेरिकन र अस्ट्रेलियन क्षेत्रमा सीधा उडान भर्न कठिन भइरहेको छ । यस अर्थमा हामीले पचिश्चमा देशहरूबाट गुणस्तरयुक्त पर्यटक भित्र्याउन खासै सकेका छैनौं । नेपालमा आउने पर्यटकहरू छिमेकी देशहरू भारत र चीनबाट बढी आउने गरेका छन् ।
देशका ५६ वटा आन्तरिक विमानस्थलमध्ये ३५ वटा मात्रै प्रयोगमा छन् । तीन भागको एक भाग विमानस्थलहरू प्रयोगविहीन भएर बसेका छन्। सतही मार्गहरूबाट ती क्षेत्रमा पर्यटकहरू जाने विषय जटिल हुन्छ । किनकि हाम्रो सडक पनि आधुनिक र सुविधायुक्त छैन। अत्यन्त सानो देश र नेपालको तुलनामा पर्यटकहरूको सम्भावना कम भएको माल्दिभ्सले नेपालको भन्दा बढी पर्यटक आकर्षित गरेको छ । हामीसँग सम्भावना धेरै हुँदा पनि पर्यटक आकर्षित हुन सकेनन्। नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था त छँदै छ।
नेपाल भित्रिएका विदेशीहरूले आफ्नो गन्तव्यमा पुग्न धेरै प्रकारका कठिनाइको सामना गर्नुपर्दछ । गन्तव्यसम्म पुग्ने पूर्वाधारहरूको अवस्था अत्यन्त कमजोर र कम गुणस्तरीय छ । एक गन्तव्यदेखि अर्को गन्तव्यसम्मको आन्तरिक सम्बन्धता पनि देखिँदैन । यसका लागि पूर्वाधारहरु छैनन् । देश संघीयतामा गइसकेपछि विभिन्न तहका सरकारले आपसी समन्वय प्रभावकारी बनाएर आ–आफ्ना क्षेत्रका पर्यटकीय स्थलहरूको सुधारमा पर्याप्त ध्यान दिन सकेका छैनन् । सरकारी प्रयासबाट मात्रै यो क्षेत्रको विकास गर्न सकिन्न । निजी क्षेत्रलाई साथसाथै लिएर हिँड्ने सन्दर्भ प्रभावकारी भएको छैन । नेपालले प्राचीन कपिलवस्तु आफ्नै देशमा रहेको दाबी गरिरहँदा नेपालको सीमा क्षेत्रबाट थोरै दूरीमा भारतीय पक्षले ठूलो खर्चमा प्राचीन कपिलवस्तु दाबी गर्दै निर्माण गरी प्रस्तुत गरिराखेका छन्।
बजारीकरण व्यापक रुपमा भइराखेको छ । हामीले प्राचीन कपिलवस्तु नेपालमै भएको भनिरहँदा बजारीकरण हुन सकेको छैन, आतिथ्यता प्रदान गर्ने जनशक्ति गुणस्तरयुक्त छैनन् । स्थलमार्गबाट नेपाल प्रवेश गर्न आउने पर्यटकहरू विशेष गरी दक्षिणी सिमानामा निरुत्साहित हुन्छन् । नेपालको निरपेक्ष गरिबी र बहुआयामिक गरिबीको निवारणका लागि धेरै कोणबाट पर्यटन व्यवसायले ठूलो योगदान पुर्याउन सक्छ । त्यसैले यो क्षेत्रलाई जुन हिसाबले राख्नुपर्ने हो त्यो हुन सकेको छैन । १० बर्से द्वन्द्वकालले नेपालका संरचनाहरू ध्वस्त बनाएको छ । पूर्ववत् अवस्थामा ती संरचनाहरू पूर्णतः तयार हुन सकेका छैनन् ।
समाधान :
पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना तयार बनाई त्यस योजनामा निजगढ, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जीवन्तता प्रदान गर्नेतर्फ सम्बन्धित क्षेत्र विशेष गम्भीर हुनु जरुरी छ। काठमाडौँबाहिर रहेका यी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू प्रभावकारीरुपमा सञ्चालनमा आएपश्चात् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आन्तरिक विमानस्थलका रुपमा मात्रै सीमित गर्ने विकल्पमा सोच्न सकिन्छ। दोस्रो विकल्प हो, यो विमानस्थललाई आन्तरिक विमानस्थलका रुपमा उपत्यकाभित्रै खुल्ला क्षेत्रमा निर्माण गर्न पनि सकिन्छ।
पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सेवाहरू एकल विन्दुबाट दिनु उपयुक्त हुन्छ । नेपालको भिसा प्रक्रिया पनि सहजीकरण गर्नु जरुरी हुन्छ । उदाहरणका लागि युरोपियन मुलुकको कुनै एक देशको सेन्जेन भिसा प्राप्त भएपश्चात् संयुक्त अधिराज्यबाहेक सबै युरोपियन मुलुकको भ्रमण गर्न पाइन्छ । त्यसैले प्याकेजमै युरोपको टुर पर्यटकहरुले गर्न सक्छन् । हामी पनि विशेष गरी चिनियाँ र भारतीय पर्यटकलाई आकर्षित गर्न पनि सार्क क्षेत्रका सबै देशको लागि एउटै भिसाले नेपालमा भ्रमण गर्न सक्ने अवस्था बनाइनुपर्दछ ।
देशका समग्र विमानस्थललाई अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक गरी ३ वर्गमा विभाजन गर्नु उपयुक्त हुन्छ । सोही अनुरुप सुधार जरुरी छ । हिन्दुहरूको ठूलो जनसङ्ख्या विश्वभर छ । आराध्यदेव पशुपतिनाथ नेपालमा छन् । बुद्धिस्टहरूको पावनस्थल लुम्बिनी हो, यसको बारेमा व्यापक प्रचारप्रसार गरिनु जरुरी छ । विभिन्न देशमा रहेका नेपालका कूटनीतिक नियोगहरुलाई प्रभावकारीरुपमा पर्यटन कूटनीति परिचालन गराइनुपर्दछ । नेपालमा हरेक क्षेत्रगत मन्त्रालय र विभागहरूले आ–आफ्नो स्वामित्वभाव लिने तर सरकारी स्वामित्वभावलाई कम प्राथमिकतामा राख्ने गरिआएका छन् । यसले गर्दा क्षेत्रगत कानुनहरू, नीतिहरू पर्यटन व्यवसायका लागि बाधक बनिराखेका छन्। यसमा पुनरावलोकन हुनु जरुरी छ।
राष्ट्रको पहिलो पहिचान विमानबाट अवतरण गर्नासाथ हुने गर्दछ। त्यहाँ भएका सुविधा, अध्यागमन सेवाको प्रभावकारिता, सुरक्षाको प्रत्याभूति, ब्यागेज क्लेम गर्ने व्यवस्था, भन्सार जाँचको स्थिति, बाहिर निस्किएपछि पाइने सुविधाहरू जस्तो– ट्याक्सी, टुरिस्ट गाइड, पोर्टर, होटेलको सुविधा आदिको मूल्यांकन पर्यटकहरुले राम्ररी गर्दछन्। उनीहरूले घुमफिर गरेका अन्य देशहरूका सेवा–सुविधा र वातावरणमैत्री अवस्थाको तुलना गर्दछन् । देश फर्किएपछि यी पक्षको मूल्यांकन हुन्छ । उसले दिएको सुझावको आधारमा त्यस देशका पर्यटकहरू नेपाल आउने वा नआउने, एकपटक आएका पर्यटकहरू अर्कोपटक फेरि आउने या नआउने निर्णय लिन पुग्छन् । यस अर्थमा नेपालमा सबै प्रकारको कमी–कमजोरी रहेको छ । यही कारणले गर्दा पर्यटनको आवागमन अपेक्षा गरेअनुसार हुन सकेको छैन । नेपालमा चीनबाट मात्रै उसको जनसङ्ख्याको १० प्रतिशत बुद्धिस्टहरुले नेपाल भ्रमण गरेमा २ करोड ५० लाख बुद्धिस्टले नेपालको भ्रमण गर्नेछन् । यो सङ्ख्या मात्रै नेपालमा आकर्षित गर्न सक्दा पर्यटन उद्योगको माध्यमबाट ठूलो आर्थिक फड्को मार्न सकिन्छ।
विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या भएको देश भारत हो । त्यहाँ पनि ठूलो संख्यामा हिन्दुहरू रहेका छन्। उनीहरू आराध्यदेव पशुपतिनाथको दर्शन गर्न लालायित हुन्छन् । नवविवाहित जोडीहरू मधुमास अवधि व्यतीत गर्न नेपालका हिमाली जिल्लातिर विशेष गरी आउने गर्दछन् । यस प्रकार दुई देशबाट आउने पर्यटकहरू धार्मिक हिसाबले बढी आउँछन्। अन्य मनोरञ्जन गर्न आउने पश्चिमा देशका उन्नत देशहरूका गुणस्तरयुक्त पर्यटकहरुलाई आकर्षण गर्ने सफल योजना र त्यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्र जुट्नुपर्दछ । हामी अत्यन्त न्यून पर्यटकहरूलाई स्वागत गरेर रमाएका छौं । सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटक आएकोमा सन् २०२४ को सेप्टेम्बरसम्म ८ लाख पर्यटक आएका छन्।
यति सानो संख्यामा नेपालमा पर्यटक भित्रिनु भनेको हामीले पर्यटन क्षेत्रमा केही पनि सुधार गर्न नसक्नुको परिणाम हो । नेपालमा आउने अन्तर्राष्ट्रिय हवाई यात्रीहरूमध्ये ७५.३ प्रतिशत एसिया प्यासिफिक क्षेत्रबाट, १६.४,प्रतिशत मध्यपूर्वबाट र ५.७ प्रतिशत युरोपबाट अनि बाँकी अन्य देशबाट आएको पाइन्छ । यो बजारलाई मध्यनजर राखी हाम्रा प्रचारप्रसार र सेवा–सुविधामा उल्लेख्य सुधार हुनु जरुरी छ । उल्लेख भएअनुसारका समाधानका उपायहरू अवलम्बन भएमा मात्र पर्यटन उद्योगले ठूलो टेवा दिन सक्छ र आर्थिक समुन्नति सम्भव हुन्छ ।
प्रतिक्रिया