जल–कलशद्वारा काभ्रेका ५५ विपन्न विद्यार्थीलाई सहयोग


काठमाडौं ।

आमा जल, छोरी कलश अर्थात् जल–कलश। अमेरिकामा रहँदै आएकी लोकप्रिय अभिनेत्री जल शाहकी छोरी कलशले नेपाल आएर विकट गाउँको विपन्न विद्यार्थीलाई सहयोग गरेकी छिन्।

विद्यार्थीलाई सघाउनकै लागि जलका साथमा हालै काठमाडौं आएकी १६ वर्षीया कलशले काभ्रे पुगेर ५५ जना विद्यार्थीलाई सहयोग गरेकी हुन्।

उनले पकेट मनी र पार्ट–टाइम जबबाट बचाएको रकमबाट काभ्रेको चौँरी देउराली गाउँपालिकाका ४ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लत्ताकपडा, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्सलगायत खाद्य सामग्री सहयोग गरेकी हुन्।

नेपाली भाषा र संस्कृतिमा पोख्त कलशले दुई विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक विद्यालय शुल्कस्वरूप जनही ३५ हजारका दरले ७० हजार रुपैयाँसमेत प्रदान गरेकी छन्।

बाल्य उमेरदेखि नै समाजसेवामा रुचि राख्ने कलशले शिक्षा फाउन्डेसन शुरू गर्दै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन्। ‘विद्यार्थीलाई भेटेर सहयोग गर्न पाउँदा खुसी लागेको छ। आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु’ कलशले लत्ताकपडा तथा शैक्षिक र खाद्य सामग्री सहयोग गरेपछि भनिने ‘मलाई सबैले आशीर्वाद र हौसला दिनुहोला।’

अभिनेत्री जल शाहले छोरीको समाजसेवाप्रति गर्व व्यक्त गर्दै उनको इच्छालाई पूर्णरूपमा साथ दिने बताइन्। कलशद्वारा सहयोग सामग्री ग्रहण गरेपछि विद्यार्थीले गीत गाएर र नृत्य गरेर खुशी व्यक्त गरेका थिए। सञ्चारकर्मी उत्सव रसाइलीले आफ्नो जन्मगाउँका विपन्न विद्यार्थीलाई सहयोग गरिनु गर्वको विषय भएको बताए।

साहित्यकार हजुरआमा प्रेमा शाहको हुर्काइबाट साहित्य लेखन र नेपाली भाषाको उचारण तथा लेखनमा अब्बल राख्दै आएकी कलश पढाईमा पनि जेहेन्दार छिन्। बसाईं अमेरिका भए पनि नेपालप्रति उनको विशेष लगाव छ।