काठमाडौं ।
नाटक अभिनयमा डेढ दशक बढी समय बिताएका कलाकार कृष्णप्रसाद धिताल आगामी शुक्रवार रिलिज हुने फिल्म जुनाः एक व्यथामार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन्।
फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान् बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट आशावादी छन्।
रत्नपार्कमा सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म जुनाः एक व्यथामा अभिनयको अवसर प्राप्त भएको थियो।
‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ र मेरो काम मन पराउनु भएछ। फिल्मका लागि म फिट हुने ठान्नु भएछ र कामको लागि प्रस्ताव गर्नुभयो’, कृष्णले सुुनाए ‘हामीले मञ्चन गरेका अधिकांश नाटक बाल विवाह, अनमेल विवाह, महिला हिंसासँग सम्बन्धित थिए। फिल्मको विषयवस्तु र नाटकको विषयवस्तु मिलेकाले फिल्ममा सुरुवाती दिनमा काम गर्न केही असहज भए पनि विस्तारै सहज भयो। सुटिङअघिको वर्कसपले मजबुत बनायो।’
फिल्मको कथाले नै आफूलाई जुनाः एक व्यथामा तानेको उनले बताए। ‘हामी वर्षौदेखि यही सामाजिक विषयमा नाटक गरिरहेका थियौं। बाल विवाह, लैंगिक हिंसा, लागु औषधका कुरा नाटकमा हुन्थे। धेरै नाटक बाल विवाहसँग सम्बन्धित नै थिए। फिल्ममा अभिनय गर्नुपर्ने प्रस्ताव र कथा पनि मिल्ने भएकाले फिल्मले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने लाग्यो र काम गरेँ’, उनी भन्छन्। कृष्ण स्टेण्डअप कमेडीबाट उदाएका कलाकार हुन्।
म्यूजिक भिडियो सम्पादन र निर्देशन गरिरहेका निर्देशक जीवन सेञ्चुरीले कुनै दिन देखेको चरित्र प्रदान फिल्मको सपना अहिले जुनाः एक व्यथाले पूरा गरिदिएको छ। जीवनले राजबहादुर सानेस“ग आफूले राख्न चाहेको पात्रमा फिल्म बनाउने योजना सुनाए। सोहीअनुसार राजबहादुरबाट स्क्रिप्ट लिएपछि उनले शुरूमा ४२ मिनेटको सर्ट फिल्म बनाए।
फिल्म सम्पादन गरेर हेरेपछि उनले तत्कालै सर्ट फिल्मको सट्टा ठूलो फिल्म बनाउने निर्णय गरे। जीवनलाई फिल्मको शीर्ष कलाकार खोज्न निकै कठिन भयो।
‘प्रमुख पात्रका लागि झण्डै ७५ जना बालिकालाई भेटे। अधिकांश बालिका फिल्मको क्लाइमेक्स सुनेपछि डराउनुभयो’ उनले सुनाए ‘यसै क्रममा फेसबुकमा अस्मिता ढकाललाई भेट्टाएँ। उहाँको घर नजिकैको कल्चर सेन्टर भाडामा लिएर १३ महिनासम्म अभिनय सिकायौँ।’
फिल्ममा केही कलाकारबाहेक अधिकांश अनुहार नयाँ छन्। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेका छन्।
अर्कातिर झण्डै ३० वर्षअघि हिरो वा कलाकार बन्ने सपना पालेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे यही फिल्मबाट निर्माताका रूपमा आउँदैछन्। सरकारी सेवामा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी जुनाः एक व्यथाको स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन्।
‘जीवनजीको फिल्मप्रतिको लगाव, माया र उहाँले मेरो लागि फिल्म नै सबैथोक हो, फिल्मबाटै आफ्नो लगानी र क्यारियरलाई बलियो र सुरक्षित बनाउनेछु भनेपछि उहाँको लगावप्रति म नतमस्तक भएँ। अनि फिल्म बनाउन सहमत भएँ’ दीपकले सुनाए।
प्रतिक्रिया