चौतर्फी आलोचनाका बीच पार्टीमा फर्कंदै पूर्वउपराष्ट्रपति पुन

2.82k
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको बैठकमा सहभागी हुन थाल्नुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर अन्ततः पार्टीका उपाध्यक्ष बनेर सक्रिय राजनीतिमा फर्कने हुनुभएको छ।

माओवादी केन्द्रले पुनलाई केही समयमै उपाध्यक्षको जिम्मेवारीसहित पार्टीमा स्वागत गर्ने तयारी गरेको हो। सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले पुनलाई सक्रिय राजनीतिमा फर्काउने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ।

‘औपचारिक रूपमा उपाध्यक्ष बनाइएको छैन’, नेकपा माओवादी केन्द्रका सचिव राम कार्की (पार्थ) ले भन्नुभयो– ‘उहाँलाई पार्टीले जिम्मेवारी दिएर मूल राजनीतिमा फर्काउने निर्णय गरिसकेको छ । अरू ठाउँ त छैन उपाध्यक्षको जिम्मेवारी दिने करिब पक्काजस्तै भएको छ ।’

पार्टीले निर्णय नै गरिसकेपछि पार्टीभित्र उक्त विषयमा मतमतान्तर नभएको कार्कीले नेपाल समाचारपत्रलाई बताउनुभयो।

देशको उपराष्ट्रपतिजस्तो गरिमामय पदमा बहाल भइसकेका व्यक्ति फेरि राजनीतिमा फर्कने विषयलाई लिएर टिप्पणीहरू भइरहे पनि पुनको इच्छा र पार्टीको आवश्यकताअनुसार पार्टी राजनीतिमा स्वागत गर्न लागेको माओवादी नेताहरूले बताएका छन् ।

पुस २१ देखि २३ मा काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई उपाध्यक्ष सोसरहको हैसियत दिएर ड्यासमा राख्नुभएको थियो । यद्यपि, उहाँलाई त्यस बेला आमन्त्रित सदस्यको हैसियतमात्र दिइएको सचिव देवेन्द्र पौडेलले बताउनुभयो ।

माओवादी केन्द्रमा अहिले नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्षहरू छन् । पुनलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछाडिको वरीयतासहित उपाध्यक्ष बनाउने तयारी भएको छ। सभामुखबाट बाहिरनुभएका अग्नि सापकोटालाई माओवादीले यसअघि उपाध्यक्ष बनाएर पार्टीमा फर्काएको थियो । पुनलाई पार्टी राजनीतिमा फर्काउने विषयमा शुरूमा फरक मत दर्ज भए पनि पछिल्लो समय यस विषयमा कोही नेताहरू बोलेका छैनन्।

पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरको प्रभाव बढ्दै अध्यक्ष प्रचण्डसँगै प्रतिस्पर्धामा उत्रने संकेत देखिएपछि प्रचण्डले आफ्नो शक्ति सञ्चयका लागि पूर्वउपराष्ट्रपतिलाई नेता बनाएर पार्टीमा भित्र्याउन खोजेको शर्मा पक्षका नेताहरूले बताएका छन्।

‘बाहिर सार्वजनिक गर्न सक्ने परिस्थिति पार्टीमा छैन’, एक केन्द्रीय सदस्यले भने– ‘पार्टीमा नयाँ पुस्ताका रूपमा उदाएका नेता प्रभाकरको प्रभाव बढ्दै जाँदा आफ्नो पक्ष बलियो बनाइराख्नका लागि पनि यो निर्णय लिएको हुनसक्छ । तर, नन्दबहादुरजी आउँदा पार्टीलाई घाटा भने हुँदैन।’

गत पार्टीका बैठकहरूमा पुनले पार्टी आफ्नो घर भएकाले घरमा काम गर्ने चाहना रहेको बताउँदै आउनुभएको थियो । उहाँलाई अहिले पार्टीले उद्योग तथा उत्पादन क्षेत्रको प्रमुखको जिम्मेवारी दिइएको छ।

‘यहाँहरूले नै उपराष्ट्रपतिमा पठाउनुभयो। म पार्टीको मान्छे हुँ । अरू पुँजीपति र बुर्जुवामा के हुन्छ ? हेर्ने कुरा भएन, हामी त कम्युनिस्ट हौँ । यहाँहरूले उपराष्ट्रपति बनाउनुभयो, अब यहाँहरूसँगै आएको छु’ गत सचिवालय बैठकमा पुनले भन्नुभएको थियो– ‘मैले अहिलेसम्म पार्टीलाई आँच आउने काम गरेको छैन । उमेर पनि छ । यहाँहरूले दिएको भूमिकालाई कुशलतापूर्वक निभाउने छु । उद्योग र उत्पादन क्षेत्रमा पार्टीले मानक स्थापना गर्न सक्छ।’

माओवादी लडाकुका कमान्डर पुन १० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियासम्म जनसेनाको नेतृत्व गर्नुभएको थियो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापासँग पराजित पुनलाई २०७२ कात्तिक १३ गते पार्टीले उपराष्ट्रपति बनाएको थियो। राष्ट्रपति विद्या भण्डारीसँगै दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारीमा बस्नुभएको थियो। पार्टी राजनीति छाडेको ९ वर्षपछि उहाँ माओवादीमा जोडिन आउनुभएको हो।