छबीसौँ विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप निरोगी नेपाल अभियानको एउटा पाटो शुरु गर्यो। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेको हो । देशव्यापीरुपमा एकैपटक नयाँ कामको थालनी गर्नु आम नागरिक र देशकै लागि खुशीको कुरा हो।
‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरु’ मूल नारा रहेको यस वर्षको विश्व क्यान्सर दिवसको अवसर पारी माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी सञ्चालन हुने खोप अभियानमा १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने सरकारको तयारी छ। एचपीभी खोप नेपालमा गतवर्ष १० हजार किशोरीलाई पाइलटिङका रुपमा लगाइसकिएको छ। ती किशोरीले यसपटक खोप लगाउनु नपर्ने बताइएको छ।
सरकारले एकैसाथ देशव्यापी एचपीभी खोप अभियान शुरु गरी किशोरीहरुलाई खोप अभियानमा स्वस्फूर्तरुपमा सहभागी हुन आग्रह गरेको छ। एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो। यसले साधारण होइन, क्यान्सरजस्तो रोग लाग्नै नदिनु सुरक्षित भविष्यको संकेत हो । यसरी नै नागरिकलाई स्वस्थ बनाउन सरकारले जनस्वास्थ्यप्रति चनाखो हुनु आजको आवश्यकता हो। किशोरीलाई क्यान्सर खोप अभियानको शुरुवात गरेसँगै किशोरहरुका लागि पनि खोप लगाउने वातावरण बनाइयोस्।
एचपीभी खोप नेपालसहित १४५ देशले प्रयोग गरेका छन् । सन् २००६ मा अमेरिकाबाट शुरु गरिएको एचपीभी खोपको हालसम्म साइड इफेक्ट नभएको परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमको दाबी छ । कसै–कसैलाई सामान्य दुखाइ हुने, ज्वरो आउने, वाकवाकी लाग्ने, रिँगटा लाग्नेजस्ता समस्या हुनु सामान्य मानिन्छ । यो खोप गर्भवतीले लगाउनु हुँदैन र कुनै औषधि खाँदा एलर्जी हुनेले चिकित्सकको सल्लाह लिएर मात्र खोप लगाउनुपर्छ । मानिसले रोगलाई जित्न सक्छ भन्ने मान्यतालाई यो खोपले स्थापित गर्ने विश्वास लिइएको छ । नेपालले भविष्यमा पाठेघरको क्यान्सर नहोस् भनेर यो अभियान चलाएको हो।
खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)’ को सहयोग रहेको छ। गाभीले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको १७ लाख ७० हजार ४ सय भाइल खोप उपलब्ध गराएको छ । गतवर्ष २ डोज लगाएको यो खोप यो वर्षबाट एक डोज मात्रै लगाए हुन्छ भन्ने खोप सिफारिस समिति र विश्व स्वास्थ्य संगठनले निर्णय गरेसँगै अब एक डोज मात्र लगाइँदै छ। सरकारले यो वर्ष खोप अभियानको रुपमा शुरु गरे पनि अर्को वर्षदेखि नियमित खोप तालिकामा यो खोप राखिसकेको छ। किशोरी लक्षित यो खोप कार्यक्रम विशेष गरी विद्यालय केन्द्रित हुनेछ।
अभियानका लागि १८ हजार ९ सयवटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ। विद्यालयबाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २ सयवटा यस्ता केन्द्र तोकिएका छन् । अनुसन्धानले वार्षिक झन्डै २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको उल्लेख गरेको छ । त्यसैले यो खोप नेपाली किशोरीहरुका लागि उपयोगी देखिन्छ ।











प्रतिक्रिया