नेपाली फिल्मको भाषामाथि बहस


काठमाडौं ।

नेपाल फिल्म सोसाईटीले राजधानीमा नेपाली फिल्ममा भाषा विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
विशालनगरस्थित नेपाल चलचित्र संघको हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नयाँदेखि पुरानासम्मका फिल्मकर्मीले सो विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।

समारोहमा बोल्दै सोसाईटिका अध्यक्ष, कार्यक्रमका सभापति एवम् अभिनेता कृष्ण मल्लले नेपाली फिल्म क्षेत्रको संवर्धन, प्रवर्धन तथा गुणात्मक कार्यका लागि अन्र्तक्रिया कार्यक्रमको शुरूवात गरिएको र विस्तारै प्रदेशस्तरमा आयोजना गरिने जानकारी दिए।

‘अहिलेका नेपाली फिल्मको नाम र यसमा प्रयोग गरिएका भाषा देख्दा कतै यी नेपाली फिल्म होइनन् कि, हलिउडका पो हुन् कि भन्ने लाग्छ। मेरो अनुभवमा नेपाली माटो नेपाली सुगन्ध र नेपाली शीर्षक भएका फिल्ममात्र सफल भएका छन्। आमा, माइतीघर, कान्छीदेखि पछिल्लो समय अत्यन्तै सफल भएको पूर्ण बहादुरको सारंगी हेरौं यी फिल्मलाई कुनै पनि अंग्रेजी शीर्षकको आवश्यकता परेन। जब नामै अंग्रेजी हुन्छ भने फिल्म कस्तो बन्छ?’

मल्लको प्रश्न थियो। उनले नेपाली फिल्मकर्मीको कर्तव्य नेपाली भाषालाई जिउँदो राख्ने र भविष्यका सन्ततिलाई भाषाको ज्ञान दिनुपर्नेमा जोड दिए। समारोहमा निर्देशक, कलाकार तथा पशुपति विकास कोषका पूर्व निर्देशक डा. घनश्याम खतिवडाले नेपाली फिल्ममा भाषा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली फिल्म क्षेत्रमा भाषाबारे निकै कम चर्चा हुने गरेको बताए।

कार्यपत्रमाथि टिप्पणी गर्दै निर्देशक मनोज पण्डितले नेपाली फिल्मको कलाकारले बोल्ने भाषाभन्दा पनि फिल्मको भाषालाई ध्यान दिनुपर्ने धारणा राखे।

‘आजको ग्लोबलाईज्ड जमानाको फिल्ममा भाषाको शुद्धाशुद्धीको विषयलाई लिएर यति रिजिड पनि नबनौं, किनभने आजको मनोविज्ञान नै बहुलतालाई स्विकार्ने हो। आज नेपाली फिल्ममा खाटी नेपाली भाषा प्रयोग गर्नुपर्छ र नेपाली भाषाको शुद्धीकरण बिना बन्ने सिनेमा नेपाली होइन भन्नाले हामी कति धेरै पछाडि छौं भन्ने देखाउँछ। सिनेमा आफैँमा एउटा कम्प्लेक्स भाषा हो। त्यसको बारेमा चाहि ज्ञान चाहिन्छ। आजको पुस्तालाई कस्तो फिल्म बनाउने र दर्शकले कस्ता फिल्म रुचाउँछन् भन्ने सिकाइरहन जरुरी छैन’ पण्डितको भनाई थियो ‘किनभने उनीहरूले संसारभरका फिल्म हेरेका छन् र विभिन्न ठाउबाट पढेर आएका छन्। त्यसैले उनीहरूलाई यति धेरै कमजोर पनि नमानौं। मेरो ठम्याईमा विगतका पुस्ताले नेपाली सिनेमा यस्तो हो भनेर सिनेम्याटिक भाषा नै स्थापित गर्न सकेन। अहिलेसम्म हामीले लगभग नेपाली सिनेमा बनाएका छैनौं। नेपाली सिनेमा बनाउन नेपाली भाषा नै चाहिन्छ भन्ने छैन।’

भाषाविद् डा. गाउँले बलदेवले भाषालाई काम चलाउको रूपमा मात्र लिनाले भाषाको लोप हुनेमा जोड दि“दै नेपाली फिल्ममा पात्रअनुसारको भाषा, शुद्धाशुद्धी र उच्चारणको प्रयोग हुनुपर्ने बताए। आज जापान अमेरीका, कोरिया चीनजस्ता देशहरू भाषाको कारण जीवित छन् भन्दै नेपाली फिल्ममा नेपाली भाषा मात्र प्रयोग गनुपर्ने र त्यसको ह्रस्वदीर्घ उच्चारण समेत सहि हुनुपर्नेमा जोड दिए।

सोसाईटीका सल्लाहकार तथा कलाकार कृष्ण ढुंगानाले नेपाली फिल्मको भाषाबारे २०६९ सालतिर एक किसिमको बहस शुरू भएको स्मरण गर्दै नेपाली फिल्ममा भाषाको स्तर खस्केको बतँए। ‘शब्दलाई मात्र भाषा भनिदैन फिल्ममा प्रयोग हुने हाउभाउ, ध्वनि संस्कृति सबै भाषा हुन्’ उनको भनाई थियो।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले कार्यपत्रमाथि टिप्पणी गर्दै फिल्मलाई दृश्य साहित्य भनिने र यो जसरी पनि कोर्न सकिने भएकाले संवादविनाको फिल्मको पनि भाषा हुने बताए।

‘अहिलेको समयमा संसारभरका भाषा सुनिरहेका छन् अहिलेका नया“ भाईबहिनीहरूलाई हाम्रो मौलिकताबारे सिकाउन जरुरी छ र त्यसको लागि यस्ता अन्तक्र्रिया आवश्यक छ’ उनले भने। कार्यक्रममा बोल्दै कलाकार मिलन गर्तौलाले भाषा विना देश र संस्कृति मर्ने र सिनेमामा पात्रअनुसार भाषा प्रयोग गर्नुपर्ने भएकाले शुद्धाशुद्धी र व्यावहारिकतालाई ध्यानमा राखेर भाषाको सापेक्षिक प्रयोग गर्नुपर्नेमा जोड दिए।

अभिनेता मदनदास श्रेष्ठले नेपाली बोलीचालीमा रहेका विदेशी भाषाको नेपाली शब्द नै नभएकाले ती शब्दहरूलाई स्विकार गर्नुपर्ने र भौगोलिक र सांस्कृतिक कारण मानिसको शब्द उच्चारण फरक हुने भएकाले समाज र परिवेशअनुसार भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिए। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अभिनेता हरिहर शर्माले अन्तक्र्रिया कार्यक्रममा विभिन्न कोणबाट विचार आएको भन्दै फिल्मका विभिन्न भाषाबारे चर्चा गरे।

‘फिल्ममा आञ्चलिक भाषा हुनुपर्छ। फिल्ममा चरित्र अनुसारको भाषा र लवज हुनुपर्छ र भाषामा शुद्धता हुनुपर्छ’ उनले भने। शर्माले नेपाली फिल्ममा नकरात्मक तरिकाले प्रयोग गरिने द्विअर्थी शब्दबारे आपत्ति जनाउ“दै सेन्सर गर्ने बेलामा यस्ता कुरामा ध्यान दिन सकेमा फिल्मको गुणस्तरमा सुधार हुने बताए।

नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले नेपाली फिल्मले नेपाली स्वाभिमान, संस्कृति र भाषाजस्ता पक्षको सुहाउ“दो प्रयोग गर्दै संसारका सिनेमासँग प्रतिस्पर्धा गर्नुपर्ने बताए। चलचित्र बिकास बोर्डका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि दिनेश डिसीले सम्पूर्ण वक्ताको यस्ता विषयमा छलफलबाट निचोड निकाल्नुपर्नेमा जोड दिए।