काठमाडौँ।
एन अटिजम केयर फाउन्डेसनले नेपालमा पहिलो पटक भारतीय गायक जुबिन नौटियालको लाइभ कन्सर्ट आयोजना गर्न लागेको छ । आगामी फागुन १७ गते (मार्च १, २०२५) काठमाडौँको हयात रिजेन्सी ग्राउन्ड, बौद्धमा भव्य संगीत कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त विशेष कन्सर्टमा नेपाली चर्चित गायकहरू कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहनेछ । कन्सर्टको मुख्य उद्देश्य काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत सङ्कलन गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अटिजम सचेतना र सहयोगको पहल
एन अटिजम केयर फाउन्डेसनले लामो समयदेखि अटिजम प्रभावित बालबालिकाका हकहितमा काम गर्दै आएको संस्थाकी अध्यक्ष रमिला श्रेष्ठ जनाइन् । उनका अनुसार, संगीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले यो कन्सर्ट आयोजना गरिएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाका लागि विशेष कार्यक्रमहरू सरकारको नीति तथा बजेटमार्फत अघि बढाइने प्रतिबद्धता जनाएका छन् । मन्त्री पौडेलका अनुसार, अटिजम भएका बालबालिकालाई सुरुवातदेखि नै विशेष शिक्षा, थेरापी, र मानसिक सशक्तिकरणको वातावरण दिनुपर्ने आवश्यकता छ।
कार्यक्रममा आरम्भ बाल केन्द्रका फाउण्डर डा. अच्युत भण्डारीले विशेष विद्यालय र अस्पतालको आवश्यकता औंल्याएको र स्पिच थेरापिस्ट डा. विद्वान भुषालले अटिजम भएका बालबालिकाको बीमा तथा जनचेतना विस्तारको खाँचो रहेको बताएका छन् ।
संस्थाका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यका अनुसार, यो कन्सर्टले अटिजमसम्बन्धी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, पीडित बालबालिकाको समयमै निदान तथा उपचारमा टेवा पुग्ने, र उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा सक्षम बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

उक्त कन्सर्टका टिकटहरू खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ। संगीतप्रेमी, समाजसेवी, कलाकार, सञ्चारकर्मी, तथा अटिजम सचेतनामा संलग्न संघ–संस्थाहरूलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न संस्थाले आग्रह गरेको छ ।
कन्सर्टबाट संकलित रकम अटिजम विद्यालयको पूर्वाधार निर्माण तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि सहायता कार्यक्रम सञ्चालन गर्न खर्च गरिने छ । यस ऐतिहासिक कन्सर्टले संगीत र समाजसेवाको अद्भुत संयोजन गर्दै नेपालमा पहिलो अटिजम विद्यालय स्थापनाको मार्ग प्रशस्त गर्नेछ एन अटिजम केयर फाउन्डेसनका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया