हामीले खोजिरहेको आनन्द हामीभित्रै छ

5.08k
Shares

यदि हामी आफ्नो बाहिरी स्थितिलाई बदल्न चाहन्छौँ भने सबैभन्दा पहिला हामीले आफूभित्रको परिवेशलाई बदल्नु आवश्यक छ। हामीले म को हुँ भन्ने कुरालाई बुझ्नु आवश्यक छ ! किनभने, आजकल मानिसमा कति धेरै विभाजन छ ? यदि तपाईँ एक शिक्षक हुनुहुन्छ अनि तपाईँको परिचय गराइँदै छ भने तपाईँलाई मानिसका हिसाबले परिचित गराउनुको साटो एक शिक्षकका रूपमा परिचय गराइनेछ। तपाईँ डाक्टर हुनुहुन्छ, तपाईँ वकिल हुनुहुन्छ, तपाईँ इन्जिनियर हुनुहुन्छ, तपाईँ वरिष्ठ प्रहरी अधिकृत हुनुहुन्छ, तपाईँ सिपाही हुनुहुन्छ, तपाईँ प्रधान सेनापति हुनुहुन्छ, तपाईँ कर्नेल (महासेनानी) हुनुहुन्छ । मानिस सोच्न थाल्छ, ‘म यही हुँ । मेरो पहिचान यही हो।’

हामी यसै कुरालाई वास्तविक मान्छौँ । यो वास्तविकता त तपाईँले सास लिइरहुन्जेलसम्मका लागि मात्र हो । त्यसपश्चात् यी सबै कुरा समाप्त हुनेछन् । त्यसपश्चात् तपाईँका नातासम्बन्ध समाप्त हुनेछन् । त्यसपछि त जतिसुकै राम्रो चलचित्र आए पनि तपाईँ त्यो चलचित्र हेर्न जानुहुनेछैन । मानौँ मैले आफ्ना लागि कुनै आदर्श, कुनै लक्ष्य तय गरेको छु। त्यो लक्ष्यमा म यहाँसम्म पुग्छु भन्ने छ। यदि कुनै कारणवश म त्यहाँसम्म पुग्न सकिन भने ममा निराशा आउनेछ । तथापि, यो निराशा स्वयंसँग छ अनि म यसलाई कसरी व्यक्त गर्छु ? म यसलाई मेरो नजिकको व्यक्तिसँग क्रोधका माध्यमबाट व्यक्त गर्छु । तथापि, आफैँसँग कसरी क्रोध गर्नुहुन्छ ? तर, निराशा त हुन्छ नै । आफू पुग्न चाहेको स्थानसम्म पुग्न सकिएन । त्यसपछि यी सबै कुरा त्यही कारणले भइरहेको छ । मानिसहरूसँग रिस उठिरहेको हुन्छ, दुनियाँसँग रिस उठिरहेको हुन्छ तर स्वयंलाई नियाल्न सकेको हुँदैन । उसले स्वयंलाई हेर्न थालेपछि उसलाई एउटा कुरा महसुस हुन्छ, ‘म आफूले आफूलाई बदल्न सक्छु।’

हामी अर्कोमाथि दोष थोपरिरहन्छौँ । अर्कालाई दोष दिने कुरा एकदमै सजिलो हुन्छ । आफूले आफैँलाई दोषी देख्नु एकदमै गाह्रो कुरा हो । तपाईँको आँखाले सबैका आँखालाई देख्न सक्छ तर त्यसले आफ्नै आँखालाई देख्न सक्दैन । यसका लागि तपाईँलाई ऐनाको आवश्यकता पर्छ । यदि ऐना छैन भने तपाईँले आफ्नो अनुहार आफैँले समेत देख्न सक्नुहुन्न।
हामीबाट हराइसकेको एउटा क्षमता बालबच्चासँग हुन्छ। तिनीहरूले कसैलाई हेर्दा कुनै ऐनाका माध्यमबाट वा कुनै चश्मा लगाएर फरक आँखाले हेरिरहेका हुँदैनन्। उनीहरूले तपाईँ जस्तो हुनुहुन्छ नि त्यही नजरले हेर्छन् । उनीहरूले तपाईँसँग यस्तो हुनुपर्छ, त्यस्तो हुनुपर्छ भनेर अपेक्षा राख्दैनन्। बालबालिकाले कुनै चिजलाई भेदभाव गर्दैनन्। म एउटा कुरा सोध्न चाहन्छु, तपाईँको एक वर्षवाला त्यो बालापन कहाँ गयो ? त्यो कहाँ गयो ? त्यो दुई वर्षको बच्चा कहाँ गयो ? यथार्थ त के हो भने, त्यो अहिले पनि जीवित छ अनि त्यो आफैँभित्र छ । तथापि, हामीले त्यस चिजलाई पहिचान गर्न बिर्सिएका छौँ ।

हाम्रो दिमागमा दुई खाले सिकाइ हुन्छ । एउटा हामीले अनुभवका आधारमा सिकेका छौँ, अर्कोचाहिँ हामीले घोकेर सिकेका हुन्छौँ । जसलाई अङ्ग्रेजीमा रोट भनिन्छ अर्थात् घोकेर सिक्ने कुरा । जस्तो– गणना गर्नु, भाषा सिक्नु । रटेर सिकेको भाषाको कुनै अर्थ हुँदैन । हामीभित्रको रटानको कुरामा कुनै तर्क गर्न सकिँदैन । यसमा कुनै तर्क नै हुँदैन । तपाईँलाई कसैले यस्तो किन हुन्छ भन्यो । तपाईँले त्यो कुरालाई बुझाउनै सक्नुहुन्न । एकलाई किन एक भनिन्छ ? यसलाई तपाईँले कसरी बुझाउनुहुन्छ ? यो त एक हो । तर, एक किन हो ? तपाईँ सानै हुँदा तपाईँकी आमा या त तपाईँका बुबाले तपाईँलाई भन्नुभएको थियो होला– ‘यो नछोऊ, यो तातो छ । यसलाई छुनुहुँदैन ! पोल्छ ।’ तपाईँले मान्नुभयो ? एकदिन तपाईँले जतिसुकै सम्झाए पनि छोइदिनुभयो अनि तपाईँलाई पोलेपछि तपाईँले भन्नुभयो, आत्था ! यो त अनुभव हो। एउटा शब्द छ– महसुस ! यो एकदमै सुन्दर शब्द हो । हामी फरक–फरक स्थानमा फरक–फरक भावनालाई महुसस गर्छौँ । महसुसको कुनै प्रमाण हुँदैन । महसुसलाई केवल अनुभव गर्न सकिन्छ।

म एकजना मानिस हुँ । यदि मैले आफूलाई अरूभन्दा फरकरूपमा देख्न थालेँ भने मानवताका हिसाबले मैले कहिल्यै पनि सहयोग गर्न सक्दिन । वास्तवमा आज मानवतालाई जोगाउनु अति आवश्यक छ । हामीले म मानिस हुँ भन्ने कुरै बिर्सिसक्यौँ । एउटा मानिसले अर्को मानिसलाई मानिसका रूपमा हेर्नै छोड्यो । हामी सबै एकै हौँ भन्ने कुरालाई कसले बुझाउँछ ? हामीले एक भएर शान्ति हाम्रो आवश्यकता हो भन्ने कुरालाई नबुझेसम्म शान्ति कसरी हुन्छ ? किनभने, यो दुनियाँमा जे जति पनि भइरहेको छ– जे जति पनि गलत कार्य भइरहेका छन् नि, यसमा मेवा वा तरबुजाको कुनै दोष छैन । यसको मुख्य जिम्मेवार पनि मानिस नै हो ।

एउटा मैनबत्ती बलिरहेको छ। अर्को मैनबत्ती निभेको छ। यदि तपाईँले बलिरहेको मैनबत्तीलाई निभेको मैनबत्तीसँग जोड्नुभयो भने निभेको मैनबत्तीले बलेको मैनबत्तीलाई निभाउँदैन। यस विपरीत बलेको मैनबत्तीले निभेको मैनबत्तीलाई बाल्छ।
शान्ति मानिसभित्र छ। यो श्वासको आउनु–जानु नै सृष्टिकर्ताको कृपा हो । सृष्टिकर्ताले कृपा गरेका कारण तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ। तपाईँ कसरी यो श्वासप्रति आभार व्यक्त गरिरहनुभएको छ ? आफ्ना सबै समस्यालाई एकातिर राखेर हेर्नुहोस्। हामीलाई प्राप्त भएको मानव शरीर यो भवसागर पार गर्ने एउटा साधन हो। आफूले आफूलाई चिन्नुहोस् । हाम्रो जीवनमा कृतज्ञता, आभार हुनु अति आवश्यक छ। यसको अर्थ यदि तपाईँको जीवनमा आभार भयो भने तपाईँले आफ्ना अगाडि भएको, तपाईँको छेउमा भएको, त्यसको असलपनलाई स्वीकार गरिरहनुभएको छ। आफूभित्रको शक्तिको स्थितिलाई बुझ्नुहोस् अनि आफ्नो जीवनमा शान्ति र आभारलाई अनुभव गर्नुहोस्। यही नै साँचो मानवताको पहिचान हो।

हामी अर्कोमाथि दोष थोपरिरहन्छौँ । अर्कालाई दोष दिने कुरा एकदमै सजिलो हुन्छ। आफूले आफैँलाई दोषी देख्नु एकदमै गाह्रो कुरा हो। तपाईँको आँखाले सबैका आँखालाई देख्न सक्छ तर त्यसले आफ्नै आँखालाई देख्न सक्दैन। यसका लागि तपाईँलाई ऐनाको आवश्यकता पर्छ। यदि ऐना छैन भने तपाईँले आफ्नो अनुहार आफैँले समेत देख्न सक्नुहुन्न।

यो संसारमा बाँचुन्जेल हरेक मानिसले यस्तो कार्य गर्ने कोशि गरिरहन्छ, जसको परिणामले उसका लागि वास्तविक आनन्द र शान्ति प्रदान गरोस् । तर, प्रायः धेरै कुरा पाएपश्चात् पनि जिन्दगीमा केही न केही कमी भएको महसुस भइरहन्छ। त्यसलाई उसको हृदयले प्राप्त गर्न चाहेको हुन्छ । भित्री खुशी, आनन्द र सन्तुष्टिको चाहना हरेक मानिसको आवश्यकता हो।


हामीले सुनेका या पढेका पनि छौँ– ‘जुन चीजलाई हामी खोजिरहेका छौँ त्यो हामीभन्दा टाढा छैन। त्यो हामीभित्रै छ।’ केवल पढे–सुनेका भरमा मात्र ‘त्यो हामीभित्र छ’ भन्ने कुरालाई धेरैजसोले बुझ्न सक्दैनन् । किनभने, खालि पढे–सुनेको मात्रै हो ‘भित्र छ’ भनेर, तर अनुभव गरेको छैन । यो त कस्तो कुरा भयो भने ‘हजुर, पेरिसमा ‘आइफल टावर’ छ तर मैले देखेको छैन ।’ यदि कसैले चर्चा ग¥यो भने हामी भन्छौँ, ‘हजुर, मैले नाम सुनेको छु ।’ तर, प्रत्यक्षरूपमा नदेखेसम्म त्यो के चिज हो भनेर कसरी थाहा पाउने ? त्यो कस्तो देखिँदो हो ? हुन सक्छ, फोटोमा देखेको होला तर ‘आइफल टावर’ को रूपरङ्गलाई त्यहाँ पुगेर प्रत्यक्ष देख्नु र फोटोमा हेर्नुमा धेरै अन्तर हुन्छ ।

यो त एउटा उदाहरण मात्र हो। वास्तवमा यो कुरा यो श्वास छँदै आनन्दलाई पाउने विषयका बारेमा हो । हामी सबै चाहन्छौँ, हाम्रो जीवनमा आनन्द होओस् । हामी त्यो आनन्दलाई प्राप्त गर्ने कोशिश पनि गर्छौँ । तर, मानिसले जुन आनन्दलाई बाहिर खोजिरहेको छ त्यो आनन्द असीमित मात्रामा पहिलेदेखि नै उसैभित्र रहेको छ। त्यसलाई केवल अनुभव गर्नु आवश्यक छ।
उदाहरणका लागि एउटा कथा छ।

एकपटक एकजना रानी महलको छतमा कपाल सुकाउनका लागि गइन् । उनले आफ्नो गलामा हीराको हार लगाएकी थिइन् । त्यसलाई निकालेर टेबुलमा राखिन् र उनी कपाल सुकाउनतिरै भुलिरहिन् । यत्तिकैमा एउटा काग आयो । त्यो चम्किलो चिजलाई देखेपछि त्यसले आफ्नो चुच्चोमा च्यापेर उड्यो अनि एउटा रुखमा बसेर त्यो हारलाई खाने कोशिश गर्न थाल्यो । तर, खान त मिलेन, त्यसपछि हारलाई त्यहीँ छोडेर उडेर गयो । त्यो रुख सुनसान ठाउँमा नदीको किनारमा थियो। कपाल सुकिसकेपछि रानीले हेर्दा हार त त्यहाँ थिएन। उनी राजाकहाँ गएर रुन थालिन्। राजाले भने, ‘किन रुन्छ्यौ ! म अर्को हीराको हार बनाइदिउँला।’ रानीले भनिन्, ‘होइन, मलाई त्यही हार चाहिन्छ।’ अनि, राजाले घोषणा गरिदिए, ‘जसले त्यो हारलाई खोजेर ल्याउँछ, म त्यसलाई आधा राज्य दिनेछु ।’ सबै मानिसहरू खोज्नतिर लागे तर कसैले पनि हार भेट्टाउन सकेनन्। खोज्दाखोज्दै मानिसहरू त्यही रुखको नजिकमा पुगे। उनीहरूले देखे– हार त नदीमै छ। मानिसहरूले नदीभित्र पसेर खोजे तर हार भेट्न सकेनन्। मानिसहरू जसै हाम्फाल्थे, हार हराउँथ्यो । यत्तिकैमा अर्काेतिरबाट एकजना विद्वान् गइरहेका थिए। उनी टक्क अडिए। सबै कुरा थाहा भएपछि उनले भने– ‘माथितिर हेर्नुहोस् ! हार त्यहाँ हाँगामा झुन्डिएको छ। नदीमा त त्यसको छाया मात्र देखिएको हो । यदि हार चाहिन्छ भने रुखमा चढ्नुहोस् ।’ कथाको सार के हो भने, जुन आनन्दरूपी हारको हामीलाई आवश्यकता छ, त्यो हामीले खोजिरहेको ठाउँमा छैन । त्यो हामीभित्रै छ।

यसै सिलसिलामा एउटा प्रश्न पनि उब्जिन्छ– के तपाईँ जीवनमा वास्तविक आनन्द आफैँभित्र छ भन्ने कुरालाई स्वीकार गर्नुहुन्छ ? दोस्रो प्रश्न के छ भने, तपाईँलाई यसको तिर्खा कसरी लाग्यो ? यो आनन्दलाई प्राप्त गर्ने तिर्खा मानिसभित्रै स्वाभाविकरूपमा छ भन्ने कुरा थाहा भएपछि तपाईँलाई खुशी लाग्छ होला। यसलाई तपाईँ बदल्न सक्नुहुन्न। तपाईँ खुशीमा मुस्कुराउनुहुन्छ र दुःखमा रुनुहुन्छ। सुन्दर चिजलाई देखेपछि आनन्दको अनुभूति हुन्छ। यी कुरालाई त सिक्नुपर्ने आवश्यकता नै पर्दैन । किनभने, आनन्द र शान्तिपूर्वक बाँच्नु त मानिसको प्राकृतिक स्वभाव हो। हरेक मानिसले यही स्वभावअनुसार शान्तिका लागि प्रयास गर्दागर्दै वास्तविक आनन्दको कडीसँग जोडिएर आफ्नो जीवनलाई सफल बनाउन सक्छ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल