सहमतीपछि एक्टर : टेक वन आजबाट रिलिजमा


काठमाडौं ।

फिल्मको प्रदर्शनमा रोक लगाई क्षतिपूर्ति दिलाउन जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको सुनुवाई नहुँदै एक्टर : टेक वन नामक फिल्म आज शुक्रवारबाट रिलिजमा आउने भएको छ।

केहीअघि रिलिजमा आएको फिल्म एक्टरको निर्माण संस्थाले एक्टर : टेक वन उस्तै नामको फिल्म भएकाले आफ्नो फिल्म प्रभावित भएका कारण सोको प्रदर्शनमा रोक लगाउन माग गर्दै मुद्दा दायर गरेपछि अदालतले हाललाई त्यसको रिलिज रोक्न आदेश दिएको थियो।

आदेशसँगै तामझामका साथ प्रिमियर गरी बुधबार रिलिज गर्ने तयारी गरिएको फिल्मको प्रदर्शन रोकिएको थियो। बिहीबार दुई फिल्मका निर्माण संस्थाबीच समझदारी भएसँगै एक्टर : टेक वन आज शुक्रवारबाट रिलिजमा आउने भएको हो।

दुई निर्माण संस्थाबीच एक्टरको निर्माण संस्थाले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सहमति भएपछि यो फिल्म रिलिजमा आउन लागेको हो। यसस“गस“गै हलहरूले फिल्मको अग्रिम बुकिङ खुल्ला गरेका छन्। फिल्मका निर्माताले बिहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक्टर : टेक वन आजबाट रिलिज हुने जानकारी गराए।

एक्टरतर्फका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शुक्रबार अदालत खुल्ने वित्तिकै मुद्दा फिर्ता लिएर तामेलीमा राखिने जानकारी गराएका छन्।

राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला, सुशील सिटौैला, सृजना अधिकारी, उषा रजकलगायतले अभिनय गरेका छन्।

थमन भण्डारी र मोती कार्कीद्वारा निर्मित फिल्ममा आकाश बराल र राजन भुसालको लेखन, अष्ट महर्जनको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।