काठमाडौं ।
बाल विवाह तथा महिला हिंंसामाथि निर्मित फिल्म जुना : एक व्यथाको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्मको राजधानीमा हालै आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिकाको भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडा देखाइएको छ। केटी माग्न गएको दृश्यबाट शुरू हुने ट्रेलरमा विवाहपछि बालिकालाई पति र सासुले दिएको दुःख र पीडाको कुरूप अनुहार प्रस्तुत गरिएको छ।
खलपात्रले उनलाई लगाएको कुदृष्टिलाई पनि ट्रेलरमा स्थान दिइएको छ। ट्रेलर निकै मार्मिक बनेको छ। बाल विवाह गरेपछि एउटा बालिकाको जीवनमा आइपर्ने पीडा र दुःखका दिन शुृरूवात हुन्छ भन्ने ट्रेलरमा देखाइएको छ।

ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा दीपकप्रसाद घिमिरेद्वारा निर्मित फिल्म जीवन सेञ्चुरीले निर्देशन गरेका हुन्। निर्माता घिमिरेले फिल्ममा वास्तविकता भएकाले दर्शकलाई छुने बताए।
‘हामी जुनसुकै पेशा व्यवसायमा भए पनि यो हाम्रै घरको र गाउँको कथा हो। यस्ता घटना नेपालमा मात्र नभई दक्षिण एसियामै प्रशस्त छन्। यस्तो फिल्मले त्यस्तो हिंसाबाट बचाउन सहयोग गर्छ भन्नेमा हामी आशावादी छौँ’ कार्यक्रममा उनले भने।
निर्देशक सेञ्चुरीले फिल्मले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहु विवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गराउन समाजमा चेतना फैलाउन प्रेरित गर्ने बताए।
अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेको फिल्म पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको छ।
जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द रचना, राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर तथा रामेश्वर हुमागाईंको डिओपी रहेको फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।
प्रतिक्रिया