छिमेकी मुलुक चीनले परम्परागत नयाँ वर्ष आज बुधबारबाट आफ्नो मुलुकलगायत विश्वभर मनाउने भएको छ। एक हप्तासम्म मनाइने यो पर्व चीनको सबैभन्दा ठूलो पर्वको रुपमा लिने गरिएको छ। विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ नागरिकहरु आफ्नो देश फर्केर पारिवारिक मिलनसँगै यो चाड मनाउने गरेको पाइन्छ।
चिनियाँ स्प्रिङ फेस्टिबलको नामले समेत प्रख्यात रहेको यो चाडलाई चिनियाँ नागरिकले विभिन्न देशमा समेत मनाउने गरेका छन्। लामो समयदेखि नेपालमा बस्दै आएका चिनियाँ नागरिकहरुले उक्त पर्व नेपालमा समेत मनाउने तयारी गरे पनि नेपालले भने भनेको ठाउँमा चाड मनाउन नदिने प्रपञ्च रचेपछि दुई देशबीचको कूटनीतिक संम्बन्धमा दरार आउने सम्भावना बढ्नु नेपालका लागि चिन्ताको विषय बन्नुपर्ने हो। नेपालस्थित चिनियाँ दूतावासले नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा उक्त पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकासँग अनुमति मागेको भए पनि महनागरपालिकाले औपचारिक जवाफ नै नदिएर कूटनीतिक मूल्य र मान्यता विपरीत अघि बढ्नुले उसको केटाकेटीपन भएको भन्दै महानगरपालिकाको नेतृत्वमाथि प्रश्न उठेको छ।
चिनियाँ दूतावासले ठाउँ उपलब्ध गराइदिन गरेको अनुरोधलाई बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका कर्मचारीलाई प्रयोग गरेर चीनले नेपालमा बनाइदिने कलंकीदेखि महाराजगन्जसम्मको बाटो नबनाएकाले ठमेलमा अनुमति नदिएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रवाह गरेर दुईदेशबीचको सम्बन्धमा दरार पैदा गर्ने काम गर्नु पक्कै महनागरपालिकाका लागि सुहाउँदो विषय होइन। औपचारिकरुपमा कुनै जवाफ नदिएको महानगरपालिकाले सचिवालयलाई प्रयोग गरेर सञ्चारमाध्यममा कलंकीदेखि महाराजगन्ज क्षेत्रमा उक्त कार्यक्रम गर्न भन्दै गरिएको प्रचारले कूटनीतिमा कस्ताृे असर गर्ला ? सचिवालयमा बस्ने सल्लाहकारहरुले बुझ्नुपर्ने विषय हो । संघीय सरकारले चीन सरकारलाई उक्त सडक विस्तार गर्न अनुरोध गरिरहेको र चीन सरकारले पनि अनुदानमा बनाइदिने उक्त बाटो निर्माणको चरणमा नै रहेको बेला काठमाडौँ महानगरपालिकाले गरेको व्यवहारले कतै चीन सरकार बिच्कने त हैन भन्ने आम प्रश्न उठेको छ।
चीन सरकारले पनि भनेको समयमा उक्त सडक निर्माण प्रक्रिया अघि नबढाएर नेपाली जनताको चित्त दुखाउने काम गरेको छ। चीनले समयमा नै बाटो निर्माण प्रक्रिया अघि बढाएन भनेर जुन केटाकेटी खेल महानगरपालिकाले गरेको छ यसले उसको हाइट घटाउने काम गरेको छ। क्षणिक सुखका लागि यस्ता कार्यले वाहीवाही पाए पनि दीर्घकालमा भने यस्ता निर्णयले मुलुकलाई हानि पुर्याउने निश्चितजस्तै छ। त्यसैले कुनै पनि निर्णय गर्दा त्यसले मुलुकलाई कस्तो असर गर्दछ भनेर बालेनजस्ता जनप्रतिनिधिले सोच्नुपर्ने बेला आएको छ। सस्तो लोकप्रियताका लागि जथाभावी निर्णय गर्दा त्यसले पार्ने प्रभावका बारेमा बेलैमा सोच्न सकिएन भने ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। त्यसैले समयमा नै सचेत बन्ने गरौँ।
प्रतिक्रिया