पाठक पत्र: मुलुकको विकास सम्भव छ तर कसरी ?


लागिपर्ने हो भने नेपालमा असम्भव भन्ने केही छैन। नयाँ तरिकाले बेरोजगारलाई काम गर्न दिएर देश बनाउन चाहने हो भने ‘नयाँ नेपाल’ बन्छ । नयाँ गर्न खोज्नेहरुलाई पुरानाले स्वागत गर्नै पर्छ। खाँचो अरु स्रोतको होइन, सकारात्मक सोच हो। त्यसैले साँच्चै देश बनाउने हो भने सोच परिवर्तन गर्नै पर्छ।

सर्वप्रथम हरेक जिल्लामा ठूला अस्पताल स्थापना गरी जनताको स्वास्थ्य बिमा गर्दै सबै रोगमा निःशुल्क, बिमा नगर्नेलाई न्यून र सामान्य शुल्कमा उपचार व्यवस्था गर्ने, ताकि सामान्य जनताले खर्च अभावमा मर्नु नपरोस्। अर्को कुरा, स्वदेशी कच्चा पदार्थमा आधारित नेपाली सीपोन्मुख उद्योगबारे विविध अनुसन्धान, लघु एवम् दीर्घ प्रयोग शैलीमा अध्यापन हुने नयाँ विश्वविद्यालयहरू खोल्न सकिन्छ। नेपालमा बाँस, मकै, माछा, पशुपक्षी, कीट, जङ्गली जडीबुटी, हिमाल आरोहण, पदयात्रा, मिथिला चित्रकला, थाङ्का आदि अनेक प्रकृति र विषयमा अध्यापन गराउन सकिन्छ । पारम्परिक विषयका अध्यापनलाई जारी राख्दै ‘प्लस टु’बाट १८ वर्ष नाघेका विद्यार्थीलाई मोबाइल, कम्प्युटर, टेलिभिजन आदिको मर्मत गर्नेजस्ता जीवनोपयोगी सीप र कमाइ हुने कार्यमा पनि लगाउन सकिन्छ।

खासै भन्ने हो भने ठेट नेपाली खाना–खाजा, सबै जनजातिका खाजाका परिकारहरू, नेवारीका ऐला, छोइला, कचिला, योमरी, जाँड, पूर्वी नेपालका राजवंशीका भक्का, चितवने तास, हेटौंडे चटपटीले स–साना समूह निर्मित उद्योगबाट उत्पादित हुन कहिले पाउने ? सोचनीय छ।

नेपाल अन्तर्राष्ट्रिय रिसर्च सेन्टरका नामबाट लोकबाजा, लोकनृत्य, लोकपहिरन, लोककथा, मिथक, भूतप्रेत, ऐतिहासिक पात्र, पुस्तकका कालजयी पात्र, सुविख्यात खेलाडीहरू, चलचित्रका नायक–नायिकाजस्ता समसामयिक विषयमा एनिमेटेड सिनेमा र चित्रकथाका साथै कमिक्सका एकीकृत उद्योगहरू पनि स्थापना गर्न सकिन्छ। यसमा राज्यले पहल गर्नुपर्छ। यस्तै गरी नेपाली समाजका गुन्द्रुक, सिन्की, मस्यौरा, तितौरा, फुरौला, खिर, रोटी, अचार, कुभिण्डोको मोरब्बा, खेलौना, डोको, डालो, पश्मिना, ढाका कपडा, चिया, कफी, फूल, फलफूलजस्ता कुटिर उद्योगमा महिलाका श्रम र सीपलाई तालिम एवं कार्यशालाका माध्यमबाट स्थानीय, केन्द्रीय र अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ।

सगरमाथाको पानी र बुद्ध तथा सीता–भूमिको माटो मिलाई आकर्षक मूर्ति निर्माण गरेर विश्वबजारमा प्याक बनाएर बेच्ने हो भने पनि आम्दानी बढ्छ। साथै नेपाल र नेपालीको काम र नामसमेत चम्कन्छ। यसको लागि देशले खाका बनाउनुपर्छ । सधैँ सत्ता टिकाउने खेलमा लागिरहनेहरुबाट आमूल परिवर्तन हुन सक्दैन। त्यसैले अहिलेको राजनीतिक माहोलमा आमूल परिवर्तन हुनुपर्छ । संकीर्ण सोच भएका नेतालाई पाखा लगाएर जोशिला युवाको प्रवेश हुनुपर्छ । अनि मात्र मुलुकको विकास सम्भव छ ।

– विवश ‘जुझारु’, काठमाडौं ।