राज्यबाट उपलब्ध हुने सेवासुविधा प्राप्तिका निम्ति आम नागरिक सरकारी कार्यालय जान्छन् । तर, सरकारी कार्यालय पुग्नासाथ दलाली, बिचौलियासँग उनीहरु ठोक्किन पुग्छन् । संविधान, ऐन, कानुनबमोजिम जनताले राज्यबाट पाउनुपर्ने सेवासुविधा उनीहरुले दलाली, बिचौलियाकहाँ नपुगी पाउँदैनन् । यातायात कार्यालयदेखि मालपोत, सिडियो, वडा कार्यालयसम्म दलाली, बिचौलियाको बिगबिगी छ ।
उनीहरु आफूलाई कानुन व्यवसायी वा लेखनदास बताउँछन् । अनि सेवा लिनका लागि आएका नागरिकलाई दुई–चार दिन लाग्ने वा माथि कर्मचारीले गर्न नमानेको कामसमेत एकैछिन्मा गरिदिने भन्दै लुट्छन् । अहिले मालपोत, यातायात, सिडियो कार्यालयमा जाँदा एक सेवाग्राहीको पछाडि दशजना दलाली झुन्डिछन् । बूढापाकाले भन्थे, ‘खान नपाए मागेर खानु तर अरुको चोरेर, लुटेर, ठगेर नखानु ।’ तर, हामीकहाँ जनताको मौलिक हक–अधिकार खोसेर उनीहरुलाई नै लुटेर कमाउने गरिएको छ । दलालीले भनेजति पैसा दिएमा सरकारी कर्मचारीले पनि तुरुन्तै काम गरिदिने । नभए सोझासाझा जनतालाई त विभिन्न ऐन, कानुन देखाएर महिनौं दिन झुलाइदिने गरिन्छ । राष्ट्र सेवक कर्मचारीहरु नै दलाली, बिचौलियासँग मिलेपछि जनताले कसरी छिटोछरितो रुपमा सेवा प्राप्त गर्छन् ? राज्यको ढुकुटीमा कसरी राजस्व जम्मा हुन्छ ?
अहिले हरेक क्षेत्रमा दलाली, बिचौलिया हाबी भएका छन्। यहाँ आफन्त नै आफन्तबाट ठगिएका छन्। अर्काले भन्दा आफ्नैबाट मानिसहरु पीडित बनेका छन् । कोठा खोजिदिने, विदेश पठाइदिने, जागिर दिलाइदिने भन्दै विभिन्न बहानामा ठगी गर्ने दलाल, बिचौलियाहरु बढ्दै गएका छन् । यता, सस्तोमा घरजग्गा, शेयर, गाडी देखाई कमिसन खाएर अरुलाई डुबाउने पनि उत्तिकै छन् । त्यसो त दलाली, बिचौलियाकै कारण सहकारीमा लाखौं सर्वसाधारणको खर्बौं रकम डुब्यो।
सहकारीमा रकम डुब्नुमा अधिकांशको आफन्त नै दोषी छन् । उनीहरुले सहकारीसँग कमिसन खाएर बचत गर्न लगाए । उनीहरुको त केही डुबेन तर, उनीहरुका आफन्त घर न घाटको अवस्थामा पुगेका छन् । अहिले यो कुरा बुझेका कतिपयको आफन्तसँगको सम्बन्धमा समेत दरार उत्पन्न भएको छ। यहाँ हरेक क्षेत्रमा सेटिङ गरिएको हुन्छ । चाहे त्यो निजी होस् या सरकारी । फेरि आफन्तले नै आफन्तलाई फसाएको पाइन्छ।
व्यक्तिगत स्वार्थ पूरा गर्नका निम्ति जो आफ्नो सम्पर्क हुन्छ, उसैलाई प्रयोग गरिन्छ। आफन्तलाई नै ठग्न सफल भएपछि अन्यलाई लुट्न थालिन्छ। बैंक, वित्तीय संस्थामा पनि दलाली, बिचौलियाकै बिगबिगी रहिआएको कुरा नकार्न सकिँदैन । बैंक, वित्तीय संस्थामा भएको रकम सर्वसाधारण जनताको हो। विडम्बना, त्यसमा रजगज भने बैंकका अध्यक्ष, सञ्चालक र दलालीहरुको रहने गरेको छ । कोही जनता बैंकमा ऋण माग्न जाँदा बैंकले दिँदैनथ्यो। तर, दलालीकहाँ पुगेमा एकै दिनमा ऋण पाइन्थ्यो । वर्षौं बैंक धाउँदासमेत नपाएको ऋण दलालीले एकैछिन्मा मिलाइदिन्थ्यो। एक करोडको धितो राखेर ६० लाख कर्जा पाइन्थ्यो । दलालीलाई पन्ध्र लाख दिनुपथ्र्यो।
उता, बैंकले नकार्दै आएको धितो पनि दलालीले भनेपछि एकै दिनमा मालपोत, यातायात कार्यालयमा गएर रोक्का गरिन्थ्यो । ऋणीको हातमा ४५ लाख रुपियाँ पर्दथ्यो । तर, उसले ६० लाखकै तीन प्रतिशतका दरले सेवाशुल्क र १२ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म तिर्दथ्यो ।
अनि त्यो ऋण नतिरेमा बैंकले करोडौंको धितो आधामै पचाइदिन्थ्यो । यसरी बैंक, वित्तीय संस्थामा त दलालीको रजगज हुँदा सरकारी कार्यालयमा पनि हुनु स्वाभाविकै भनौं। अहिले बजारमा जताततै सुनिन्छ, ‘आफन्तले भनेर मैले फलानो सहकारी, लघुवित्त, फाइनान्समा पैसा राखेँ तर अहिले डुबेँ।’ मानिसहरुले बुझेनन् कि आफन्तले कमिसन खाएर उनीहरुलाई सहकारीलगायत वित्तीय संस्थामा रकम राख्न लगाएका थिए।
अहिले आफन्त नै सम्पर्कविहीन भएका छन् । फेरि आफ्नाविरुद्ध मुद्दा हाल्ने कुरा पनि भएन । प्रमाण पनि त के नै छ र ? जुनै क्षेत्रमा पनि बिचौलिया, दलालीहरु मौलाएका छन् । तैपनि राज्य यस्तालाई कारबाही गर्दैन । दलालहरुकै कारण सरकारी, सार्वजनिक, गुठी, मठमन्दिर, ताल, पोखरीका जग्गा पनि व्यक्तिको नाममा गयो । सरकारी सम्पत्ति सबै दुरुपयोग भइरहेको छ । दलालहरुले जनतालाई त ठगे तर राज्यलाई समेत छोडेनन् ।
दुर्भाग्यको कुरा त के छ भने, दलाल, बिचौलियाहरुले यत्रो आतंक मच्चाउँदासमेत सरकार केही गर्दैन । उनीहरुलाई कारबाही गर्न सरकार डराउँछ, किन ? के राज्यभन्दा ठूला हुन् उनीहरु ? बूढापाकाले अहिले पनि भन्छन्, ‘कालो कोट, सेतो कोट र पेटिकोट लगाउनेसँग सधैँ डराउनुपर्छ ।’ तर, पछिल्लो समय यी तीनभन्दा पनि दलाल, बिचौलियाबाट बढी डराउनुपर्ने अवस्था छ । अहिले दलाल, बिचौलियाहरु पनि कोट लगाएर बसेका हुन्छन् ।
त्यही कोट लगाएर उनीहरुले लाखौं जनता ठग्छन् । राज्यलाई लुट्छन् । त्यसकारण अब कालो कोट, सेतो कोट र पेटिकोटभन्दा पनि दलाल, बिचौलियाहरुले लगाउने कोट खतरापूर्ण भएको छ । अफिसरजस्तो चिटिक्क परेर जनता ठग्ने पोलिसी दलाल, बिचौलियाहरुले लिँदै आएका छन्। अनि सोझासाझा जनता राम्रो कपडा लगाएको र मीठो बोलीबचन सुनेर उनीहरुको कुरामा आउँदा नराम्ररी ठगिन पुग्छन्। हातमा दुईवटा महँगा मोबाइल बोक्छन्। राम्रा कपडा लगाउँछन् अनि सरकारी उच्च पदस्थका व्यक्तिहरु चिनेको भन्दै सेवा दिने नाममा लुटिन्छ, सीधासाधी सर्वसाधारणलाई।
त्यसो त दलाल, बिचौलियाहरु पनि राजनीतिक दलबाटै परिचालित भएको पाइन्छ । यिनीहरुले दलको सदस्यता लिनुका साथै लेबी पनि तिर्छन् । दलहरुले पनि सत्तामा पुग्न र पार्टीलाई ठूलो, बलियो बनाउन जनता ठग्ने दलालदेखि व्यापारी, गुण्डा, कर्मचारीलाई समेत सदस्य बनाएर लेबी उठाइरहेको छ । यसकारण जनता ठग्ने र देश लुट्नेमा जति दलाल, बिचौलियाहरुको हात छ, त्यति नै राजनीतिक दलहरुको पनि छ ।
वर्तमान सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी हप्तैपिच्छे मुख्यसचिव र सचिवहरुलाई सिंहदरबार बोलाएर जनताको काम छिटोछरितो गर्न निर्देशन दिन्छन् । रोचक कुरा त के छ भने, सरकारी कार्यालयहरुमा परिचालित अधिकांश दलाल, बिचौलिया एमालेमै आबद्ध छन् । यतिमात्र नभई घुस माग्ने अधिकांश कर्मचारी अनि जनताको पैसा सहकारीमार्फत डुबाउनेमा पनि एमालेकै नेता, कार्यकर्ता वा सदस्य भेटिन्छन् ।
एमाले मात्र हैन, अन्य कांग्रेस, माओवादी, राप्रपा, रास्वपालगायत सबै राजनीतिक दलहरुले कुनै न कुनै तवरले जनतालाई ठगेको पाइन्छ । यहाँ कोही पनि जनता र राष्ट्रप्रति जवाफदेही र जिम्मेवार छैनन् । सबैलाई आफ्नो स्वार्थ पूरा गर्न पाए पुग्यो । सरकारी कर्मचारीहरु घुस खान्छन् अनि सरुवा, बढुवाका निम्ति नेतालाई बुझाउँछन् । दलाल, बिचौलियाहरु सेवा दिने नाममा जनता ठग्छन् । अनि त्यही पैसा पार्टीलाई बुझाउँछन् ।
यता, उद्योगी, व्यापारीहरु पनि जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै गुणस्तरहीन सामान महँगोमा बेचबिखन गरेर लुट्छन् । त्यसरी कमाएको रकम उनीहरुले राजस्व छल्न नेता र पार्टीलाई नै बुझाउँछन् । यसबाट स्पष्ट हुन्छ कि जनता ठग्नुमा कर्मचारी, दलाल, बिचौलिया, व्यापारीहरुको जति हात छ, त्यति नै दल र नेताको पनि । दलहरु पनि गुण्डाहरुलाई मन्त्री बनाउँछन् । अनि यस्ता व्यक्तिहरु मन्त्री बनेपछि जनता ठगिनु, लुटिनु कुनै नौलो भएन ।
– रुषा थापा ।
प्रतिक्रिया