सुन र भेप तस्करको पर्दाफास गर


राजस्व छली गरेर अवैधरुपमा सुन ल्याउने र विद्युतीय चुरोट (भेप)को तस्करी गर्नेहरु सलबलाउन थालेका छन् । यसो त हामीकहाँ दण्डहीनता मौलाउँदा र कानुनी शासन कमजोर बन्न पुग्दा अवैध वस्तुहरु भित्र्याएर बेच्ने र राजस्व छली गर्ने क्रम दिनानुदिन बढ्दो छ।

सुन र भेप तस्करहरु सलबलाउने क्रमसँगै राजस्व अनुसन्धान विभागले सक्रियता बढाएको भए पनि तस्करहरु सलबलाउने क्रम भने यथावत् छ । अहिले पनि सुन र भेप तस्कर गर्नेहरु विभिन्न योजनाका साथ परिचालन भइरहेको र सरकारी निकायको आँखा छलेर वा कर्मचारीहरुसँगै मिलेमतो गरी तस्करी गर्ने कार्यमा सरिक भइरहेको पाइन्छ ।

राजस्व अनुसन्धान विभागले पछिल्ला दिनमा गरेका विभिन्न कारबाहीले सुन र भेप तस्करहरु सक्रिय भइरहेको पुष्टि हुन्छ । पछिल्ला दिनमा राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न दर्जन बढी व्यक्तिहरुका विरुद्ध मुद्दा दायर गर्नुका साथै उनीहरुसँग करोडौँ रुपियाँ बिगो माग गर्नुलाई सकारात्मकरुपमा लिन सकिन्छ । यसै गरी विभागले केही दिनअघि मात्रै १ लाख २० हजार थान भेप बरामद गरेको छ । साथै भेप तस्करीमा संलग्न दुईजनालाई पक्राउसमेत गरी भेप तस्करीको जालो खोज्ने काम गरिरहेको छ । विभागका अधिकारीहरुका अनुसार सुन तस्करी र भेप तस्करीको जालो उपल्लो तहसम्ममा नै रहेको देखिन्छ । यद्यपि शक्तिकेन्द्रका विभिन्न दबाबका कारण तस्करीमा संलग्न माथिल्लो पक्ष कारबाहीको दायरामा आउन सकिरहेका छैनन् । राजस्व अनुसन्धान विभागले भेप तस्करीमा संलग्न भएको पाइएपछि मुस्ताङ भन्सार कार्यालयका केही कर्मचारीलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । यसले पनि तस्करीमा कर्मचारीहरु नै संलग्न रहेको देखिन्छ । राष्ट्रसेवक कर्मचारीहरु आफैँ तस्करीमा संलग्न हुनुलाई विडम्बना मान्नुपर्छ ।

तस्करहरुले नेपाललाई भेप तस्करीको ट्रान्जिट बनाउने प्रयास गरेको पाइएको छ। विभागका अनुसार चीनबाट मुख्यतया रसुवागढी र तातोपानी नाकामार्फत भेप आयात हुँदै आएको थियो। तर यसपटक भने तस्करहरुले कोरला नाकाको पनि प्रयोग गरेका छन्। यसरी मुलुकमा सुन, भेपजस्ता वस्तुको अवैध तस्करी भइरहेको र तस्करले मुलुककै बेइज्जत हुने गरी ट्रान्जिट बनाउने काम गरेकाले तस्करहरुको सम्पूर्ण प्रकारको जालोको पर्दाफास हुन जरुरी छ। यसका लागि राजस्व अनुसन्धान विभागको एक्लो प्रयासले मात्रै हुँदैन । सरकारका सरोकारवाला निकाय विशेष गरी सुरक्षा निकायको प्रभावकारी भूमिका अत्यावश्यक रहन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि तस्करीको जालो पत्ता लगाएर कारबाही गर्न सम्बन्धित निकायहरुलाई प्रभावकारी समन्वय गर्नुपर्ने आवश्यकता बढेर गएको छ। तस्करीको जालो माथिसम्ममा नै फैलिएर रहेकाले त्यसरी शक्ति र सत्तामा रहेर अपराध गरेका जोसुकै भए पनि छानबिन गरेर कानुनी दायरामा ल्याउन ढिलाइ गर्नुहुँदैन। भरियाहरुलाई मात्रै पक्राउ गरेर कानुनी कारबाहीमा ल्याउनुको खासै अर्थ रहँदैन। त्यसैले मुख्य व्यक्ति र योजनाकार पत्ता लगाएर उनीहरुलाई आवश्यक कारबाही गर्न सकेमा मात्रै सुन, भेपलगायतका वस्तुको तस्करी गर्ने तस्करहरुको जालो तोडिन सक्छ। अन्यथा भरिया मात्रै पक्राउ पर्ने तर माथिल्लो तहमा रहेकाहरु कारबाही नपर्ने अवस्था रहँदासम्म तस्करी रोकिने अवस्था रहँदैन।