जुनाभित्र पीडादायी आमाको मुहार


काठमाडौं ।

आगामी माघ २५ गते अल नेपाल रिलिज हुने फिल्म जुनाः एक व्यथामा समावेश गीत आमाको मुहार सार्वजनिक गरिएको छ।
गीतमा जीवन सेन्चुरीको शब्द रचना, यदु राई लकान्द्रीको स्वर तथा रमेश सेन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढाव देखाइएको छ। विवाह गरेर गएपछि श्रीमान्ले दिएको यातना र सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ। गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ। भिडियोमा अस्मितास“गै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ। गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा दीपकप्रसाद घिमिरेद्वारा निर्मित फिल्म जीवन सेञ्चुरीले निर्देशन गरेका हुन्। उनले जुनाः एक व्यथा एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको दाबी गरेका छन्। निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए।

अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेको फिल्ममा राजबहादुर सानेको कथा, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द रचना, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर तथा रामेश्वर हुमागाईंको डिओपी छ।