ममता कुलकर्णीले लिइन् सन्यास


एजेन्सी ।

एक जमानामा हट एण्ड बोल्ड बलिउड अभिनेत्रीको रूपमा चर्चा कमाएकी अभिनेत्री ममता कुलकर्णीले अध्यात्मको बाटो रोजेकी छन्। उनले हालै सन्यासी जीवन अपनाएकी हुन्।

योसँगै उनी किन्नर अखाडाकी महामण्डलेश्वर बनेकी छिन् भने अब उनको नाम श्रीयमाई ममतानन्द गिरी भएको छ। उनले शुक्रवार राति भारतको प्रयागराजस्थित चलिरहेको महाकुम्भ मेलामा सामेल भएर सांसारिक जीवन त्याग्दै सन्यास दिक्षा लिएकी हुन्। त्यस क्रममा उनले गेरू वस्त्र धारण गरेकी थिइन्।

पछिल्लो २३ वर्षदेखि धर्मको मार्गमा हिँडेर भूमिगतरूपमा साध्वीको जीवन बाँचेको बताउने उनी २५ वर्षपछि केही समयअघि मात्र भारत फर्केकी थिइन्। उनी भारत फर्केपछि बलिउडमा पुनरागमन गर्ने अपेक्षा गरिएको थियो। तर उनले अचानक सन्यासी जीवन धारण गरेपछि चर्चामा छिन्।

५२ वर्षीया ममताले आफू महाकुम्भ मेलामा सहभागी हुनु र त्यहाँको भव्यता अवलोकन गर्नु आफ्नो लागि निकै यादगार पल भएको बताएकी छन् भने सन्यासी बनेपछि आफ्नो २३ वर्षदेखिको तपस्या पुरा भएको जनाएकी छन्।

‘म आदिशक्ति र अर्धनारीश्वर स्वरूपद्वारा अभिषिक्त भएको छु। यो भन्दा ठूलो के हुन सक्छ र ? अब मेरो बलिउडसँग कुनै सम्बन्ध छैन’ उनले भारतीय सञ्चार माध्यमसँग भनेकी छन्।

ममतामाथि दुबईस्थित अन्डरवल्र्ड ड्रग माफिया विक्की गोस्वामीका साथ विवाह गरेको आरोप लागेको थियो। ममताले भने यो अफवाह भएको बताउ“दै आएकी छन्। यो सत्य हो कि म विक्कीलाई माया गर्छु, तर उसलाई यो पनि थाहा हुनुपर्छ कि अब मेरो पहिलो माया भगवान हो’ उनले भनेकी छन्।

सन् १९७२ अप्रिल २० मा मुम्बईमा जन्मिएकी ममताले सन् १९९१ मा तमिल फिल्म नानबर्गलबाट फिल्मी करिअर शुरू गरेकी थिइन् भने सन् १९९१ मा नै मेरा दिल तेरे लिए नामक हिन्दी फिल्मबाट बलिउड डेब्यु गरेकी थिइन्। सन् १९९३ मा फिल्म आशिक आवाराबाट फिल्मफेयर अवार्डसमेत जितेकी थिइन्।

सन् १९९३ मा ममताले स्टारडम म्यागेजिनका लागि टपलेस फोटोसुट गराएकी थिइन्। शाहरुख खान, सलमान खान, अजय देवगन, अनिल कपूरजस्ता बलिउडका ठूला स्टारका साथ स्क्रिन सेयर गरेकी उनको अन्तिम फिल्म कभी तुम कभी हम सन् २००२ मा रिलिज भएको थियो।