स्वच्छ ऊर्जा अबको आवश्यकता


संयुक्त राष्ट्रसंघले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण, समावेशी रुपान्तरणको लागि सचेतना जगाउने अनि सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’का रुपमा मनाउने घोषणा गरेको छ।

सोहीअनुसार आज विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइँदै छ। विश्वव्यापी रूपमा उक्त दिवस मनाउँदै गर्दा नेपालमा यसको सान्दर्भिकता अझै बढेको पाइन्छ।

हिमाली देश नेपालमा जलवायु परिवर्तनको प्रभाव गम्भीररूपमा पर्दै गएको छ। यसले प्राकृतिक स्रोत र जनजीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेको सन्दर्भमा स्वच्छ ऊर्जा अर्थात् नवीकरणीय ऊर्जा नेपालका लागि वातावरणीय, सामाजिक र आर्थिक हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ। नेपालमा नवीकरणीय ऊर्जाको उपयोग केही हदसम्म भए पनि यसको पूर्ण सम्भावनाको उपयोग हुन सकेको छैन। नेपालको नवीकरणीय ऊर्जामा जलविद्युत्को हिस्सा धेरै छ। यद्यपि, सबै जलविद्युत् परियोजना स्वच्छ ऊर्जाअन्र्तगत हुँदैनन्। नेपालमा अहिलेसम्म ठूला जलाशययुक्त जलविद्युत् परियोजना निर्माण भई नसकेको हुँदा त्यसतर्फ कम चर्चा छ।

जलविद्युत्पछि नेपाललगायत विश्वजत्मा नै सौर्य ऊर्जाको विकास तीव्ररुपमा भइरहेको छ। नेपालको शहरदेखि गाउँसम्म यसको प्रयोग बढ्दै गएको छ। तथापि, ग्रामीण क्षेत्रमा सोलार होम सिस्टम बढी छ। भौगोलिकरूपमा विकट रहेका स्थानमा लघु जलविद्युत् परियोजनाहरूले सकारात्मक प्रभाव पारिरहेका छन् । सँगसँगै बायोग्यास र बायोमासको उपयोग विशेष गरी ग्रामीण क्षेत्रमा खाना पकाउन र उज्यालोको लागि भइरहेको छ।

नेपालमा वायु ऊर्जाको प्रयोग नगन्य छ । तर, हिमाली क्षेत्रमा यसको सम्भावना व्यापक मानिन्छ। त्यस्तै नेपालमा भूतापीय ऊर्जाको सम्भावना रहे पनि यसको अनुसन्धान र विकास प्राथमिकतामा परेको छैन। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार अहिलेसम्म नेपालका करिब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुगेको छ। कुल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब ६ प्रतिशत रहेको छ। नवीकरणीय ऊर्जाको क्षेत्रमा ५ सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन्। यसबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ।

जलवायु परिवर्तन र वातावरणीय संकटसँग जुध्न नेपालले नवीकरणीय ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउनु अपरिहार्य छ। किनकि नेपालमा हिमताल विस्फोटको खतरा वृद्धि हुँदै गएको छ। पछिल्लो समयमा प्राकृतिक प्रकोपहरूका घटनामा वृद्धि भएका छन् । हिउँद र वर्षामा पानीको असन्तुलन बढेको छ।

खेतीयोग्य जमिनमा कमी हुँदै गएको र एउटै मात्र ऊर्जाको स्रोतमा निर्भर नहुँदा जोखिम बढी हुने भएकाले मिश्रित ऊर्जाको प्रयोगलाई व्यापकता दिन स्वच्छ ऊर्जाको उपयोगलाई बढाउँदै लैजानुपर्छ। त्यस्तै परम्परागत जीवाष्म इन्धनको सट्टा स्वच्छ ऊर्जा प्रयोग गर्दा कार्बन उत्सर्जन घटाउन सकिने तथा व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुर्‍याउन सक्छ। औद्योगिकीकरण र शहरीकरणले नेपालमा ऊर्जाको माग तीव्ररूपमा बढाएको छ।

तसर्थ, नेपालजस्तो जलवायु परिवर्तनका कारण उच्च जोखिममा परेको देशका लागि नवीकरणीय ऊर्जाको महत्व धेरै छ। यसैले जलवायु अनुकूलनमा योगदान पुर्‍याउनुका साथै वातावरणीय दिगोपन, सामाजिक विकास र आर्थिक समृद्धि हासिल गर्न जलविद्युत्, सौर्य ऊर्जा र बायोग्यासको विकासलाई प्राथमिकता दिने सरकारी नीति र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनु अबको आवश्यकता हो।

जलवायु परिवर्तनको असर न्यून पार्दै ऊर्जामा आत्मनिर्भर राष्ट्र बन्ने दिशामा नवीकरणीय ऊर्जा प्रमुख माध्यम बन्न सक्ने भएकाले अब सरकारले स्पष्ट नीति, कार्ययोजनासहितको लगानीको वातावरण बनाउनुपर्दछ ।