सितारा जडेको मायावी


काठमाडौं ।

आगामी फागुन १४ गते रिलिजमा आउने फिल्म मायाबीमा समावेश गीत सितारा जडेको सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत तथा दयाराम पाण्डे र सो फिल्मका निर्देशक दिवाकर भट्टराईको शब्द रचना रहेका छ।

निर्देशक भट्टराईले नै कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक पल शाह, नायिका दीपिका प्रसाईं, नव–नायक समिम खान, कलाकारहरू प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठलगायतलाई प्रस्तुत गरिएको छ। गीतको अडियो कर्णप्रिय छ। गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ।

गीतले फिल्मको कथावस्तुको बारेमा केही गहनता बोलेको छ। फिल्ममा पल र दीपिकाको सम्बन्ध के, उनको भावुकताको कारण के हो भन्ने कौतुहलता पैदा गराई दिन्छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, दीपिका प्रसाईं, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाललगायतका कलाकारले अभिनय गरेका छन्।

ध्रुव न्यौपाने, राज कटुवाल, नेम महर्जन र चन्द्र पन्तद्वारा निर्मित फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माता, प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेका छन्। फिल्ममा राजु विक्रम थापाको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।