निफमा ४० देशका ८७ फिल्म


काठमाडौं ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यस वर्ष पनि अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ।
आठौं संस्करणको निफ आगामी चैत्र ७ देखि ११ गतेसम्म आयोजना हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी गराए।

महोत्सवमा विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्म देखाइनेछ भने समसामयिक विषयमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वबीच छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशाला सञ्चालन हुने आयोजकले जनाएका छन्। निफ अध्यक्ष पाठकका अनुसार ७० देशबाट प्राप्त ६ सयभन्दा धेरै फिल्ममध्येबाट ४० देशका ८७ फिल्म छानिएको छ। छनोटमा परेका थुप्रै फिल्म बुसान, कान्स, लोकार्नो, बर्लिनालजस्ता प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन्।

फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरी, दुवै वर्गीकरणमा फिचर र लघु फिल्मका साथै वृत्तचित्र विधामा अवार्ड प्रदान गरिनेछ। महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट कुनै एक फिल्मलाई अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघको तर्फबाट अवार्ड प्रदान गरिनेछ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मलाई ५ सय डलरको वागमती अवार्ड प्रदान गरिनेछ भने एआई फिल्मलाई ५ सय अमेरिकी डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिने छ।

यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी तथा उत्कृष्ट सर्ट फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ। रास्ट्रिय सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने रास्ट्रिय फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफीद्वारा सम्मानित गरिनेछ।