काठमाडौं ।
आगामी १६ गते रिलिजमा आउने मल्टी स्टारर फिल्म एक्टरः टेक वनको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
राजन भुसालद्वारा निर्देशित फिल्मको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रबीचको द्वन्द्व प्रस्तुत गरेको छ। प्रेमकथा, द्वन्द्व, र सस्पेन्सको मिश्रण रहेको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई विशेष रूपमा फिचर गरिएको छ।
ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगारा पार गर्नुपर्छ। राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। चलचित्रमा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ।

ट्रेलर सार्वजनिक भएको दुई दिनमै नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। दर्शकको मन जित्दै यो ट्रेलर १९ लाखभन्दा बढी भ्युजसहित ट्रेन्डिङमा रहेको छ। फिल्ममा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतले अभिनय गरेका छन्।
राजनको यो डेब्यु निर्देशकीय फिल्म हो। यस फिल्मबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन्। अभिनेता दिलीप रायमाझी पुत्री दिव्या रायमाझीले यही फिल्मबाट नायिकाका रूपमा डेब्यु पाएकी छन्। अदृत फिल्म्स् र मोती फिल्म्स्को संयुक्त ब्यानरमा थमन कुमार भण्डारीद्वारा निर्मित फिल्ममा स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ भने अनिश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसर रहेका छन्।
फिल्ममा संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्की, द्वन्द्व निर्देशन अष्ट महर्जन, कला निर्देशन कृष्णमान तामाङ, कोरियोग्राफी शिशिर खाती र किरण थापा, छायांकन नरेन्द्र मैनाली र सम्पादन निमेष श्रेष्ठको रहेको छ।











प्रतिक्रिया