अधिकारीको कलमका डोबहरू सार्वजनिक


काठमाडौं ।

गीतकार तथा सञ्चारकर्मी गीता अधिकारीले हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच आलेख संग्रह मेरा कलमका डोबहरू सार्वजनिक गरेकी छन्। पुस्तक नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द र चैत्यदेवी सिंहले सार्वजनिक गरेका हुन्।

कलाकार उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तककी लेखिका अधिकारीले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आफ्ना आलेखलाई मेरा कलमका डोबहरूमा समावेश गरेको जानकारी गराइन्।

मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसालले लेखिका अधिकारीले ती आलेखले त्यो समयका विभिन्न विषय जानकारी दिने बताए। त्यस्तै, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीले लेखिकाबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताए।

मिलाप पब्लिकेसन प्रालिद्वारा प्रकाशित ४ सय ७७ पृष्ठको पुस्तकको मूल्य ९ सय ९९ रुपैयाँ राखिएको छ। अधिकारीले यसअघि मैले पढेका ५१ पुस्तक पाठकमाझ ल्याएकी थिइन्।