काठमाडौं ।
स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिमा बुधबार राजधानीमा सांगीतिक र सम्मान कार्यक्रम गरिएको छ। उनको १९औैं पुण्यतिथिमा तारादेवी फाउन्डेसनले जमलस्थित राष्ट्रिय नाचघरमा सम्झनामा तारा देवी नामक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका–गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनीप्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।
कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत सुनगाभा जस्तो जीवन गाएर संगीतप्रेमीलाई मोहित बनाएकी थिइन् भने गायिका प्राश्ना शाक्यले यो दाग पिरतीको, शर्मीला वर्देवाले आमा भएर बोकी हेर, रिता के सीले उकाली ओरालीहरूमा, ममता गुरुङले रिमझिम रिमझिम, बबिना भट्टराईले तिमी तिरमा उभी देउ, जुनु गौतमले फूलै फूलको मौसम तिमीलाई, अञ्जुली हमालले तिमीले दिएका, सुधा शेर्पाले नौ सय खोला तरेर र सरस्वती मानन्धरले शुभकामना बोलका गीत गाएर संगीतप्रेमीलाई मोहित तुल्याएका थिए।
त्यसैगरी पूर्व राज्य मन्त्री रामवीर मानन्धरका साथमा त्रितिया गुरुङले ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो, सन्जिव आले मगर र अञ्जुली हमालले आज यौवनलाई, प्रितम गुरुङ र अनामिका सिंहले अँध्यारोमा एउटा बत्ती, रुपक चौधरी र झुमा निरौलाले फूलै फूलको मौसम तथा राजेन्द्र श्रेष्ठ र गीता पाण्डेले घाममा पनि माया प्रस्तुत गरेका थिए।
विभिन्न गायक गायिकाको समूहले उसको ममता मेरो बोलको गीत प्रस्तुत गरेको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारले फूलको थुङगा बहेर गयो गीतमा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए।
फाउण्डेसनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार स्व. चाँदनी शाह, संगीतकार सीके रसाईली र लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्रसहित स्वर किन्नरी स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएको थियो।
प्रतिक्रिया