काठमाडौं ।
उद्योगपति शेखर गोल्छा फिल्म निर्माणमा अगाडि आएका छन्। उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले प्रिज्मा एडभटाईजिङका प्रमुख रन्जित आचार्यसँगको सहकार्यमा परान नामक फिल्म निर्माण गर्न लागेका हुन्।
बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा बुधबार राजधानीमा आयोजित एक समारोहमा उक्त फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्म लोकप्रिय हास्य टेलिसिरियल सक्किगो निमा काकु नामले चर्चित कलाकार दीपक आचार्यले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशनको फिल्म हुनेछ। फिल्ममा कथा पनि उनकै रहनेछ।
‘फिल्म निर्माणका लागि सन् २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ। अब निरन्तर नेपालीपन बोकेको फिल्म निर्माण गर्नेछौँ’ कार्यक्रममा निर्माता आचार्यले भने। अर्का निर्माता गोल्छाले घरेलु फिल्मबाट मौलिकता हराएकोमा चिन्ता व्यक्त गर्दै मौलिकता, व्यवसायिकता कायम राख्ने र कर्पोरेट संस्कृति सिर्जना गर्ने उद्देश्यले फिल्म निर्माणमा आएको बताए।
‘हाम्रो फिल्ममा हाम्रो मौलिकता हराएजस्तो लाग्छ। त्यो मौलिकता आउनुपर्छ। हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन’ उद्योगपति गोल्छाको भनाइ थियो ‘यो फिल्म गर्नुमा व्यावसायिक कारण त छँदैछ। मौलिकता पनि होस्, व्यावसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् भनेर निर्माण गर्न लागेका हौँ।’ कार्यक्रममा अभिनेता राजेश हमालले धैर्यता बोकेर यो क्षेत्रमा लाग्न सुझाव दिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो फिल्म रिलिजमा आउ“दा निर्माताले रियल टाइम बक्सअफिस हेर्न पाउने दाबी गरे।
नीर शाह, मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रविण खतिवडा, महेश त्रिपाठी, यमन श्रेष्ठ, बबिन राई, बाल कलाकार आर्यदीप आचार्यलगायतका कलाकार प्रमुख भूमिकामा देखिने फिल्म फागुन पहिलो साताबाट सुटिङ फ्लोरमा जानेछ। फिल्मको सुटिङ धनकुटामा हुनेछ। फिल्ममा छायांकन शिवराम श्रेष्ठ र सम्पादन मित्रदेव गुरुङको रहनेछ।











प्रतिक्रिया