काठमाडौं ।
नाट्य शिरोमणि भैरवबहादुर थापाको कृति भैरव अल्फा साइन्स अब हिन्दी, अरबी र उर्दु भाषामा प्रकाशित हुने भएको छ।
थापाको ग्रन्थ भारतको एपीजे अब्दुल कलाम फाउन्डेसनले हिन्दी, अरबिक र उर्दु भाषामा प्रकाशन गर्न लागेको हो।
यसका लागि थापा र एपीजे अब्दुल कलाम फाउन्डेसनबीच सम्झौता भएको छ। सो कृतिलाई ती भाषामा अनुवाद गर्न डा. रमजान अलिमियालाई हस्तान्तरण गरिएको छ। भैरव अल्फा साइन्स थापाद्वारा लिखित एक नयाँ नाट्य भाषा हो। यो विश्व उपयोगी नृत्य लिपिको व्याकरण पनि हो।

यो कृति सन् २०२३ को अगस्ट महिनामा नेपाल सरकारको साहित्यिक संस्था साझा प्रकाशनबाट प्रकाशित भएको थियो। यसलाई थापाले मानवका अङ्ग–प्रत्यङ्गबाट व्यक्त हुने विविध मुद्रालाई साङ्केतिक चिन्हमार्फत बुझाउन सकिने अद्वितीय वेदरूपी शास्त्र भनेका छन्।
‘जसरी संगीतमा स्टाफ नोटेसनको माध्यमबाट संगीतको साहित्यिक संरचना र भाव स्पष्ट हुन्छ, त्यस्तै यो ग्रन्थले पनि नृत्याभिनयका सांकेतिक भाषालाई बोध गराउँछ। यो ग्रन्थ नवीन प्रविधि र कलात्मक साहित्य ज्ञानको क्षेत्रमा पनि अनुपम मार्गनिर्देश गर्ने आधारस्तम्भ बनेको छ। यसले नृत्याभिनयलाई वैज्ञानिक र व्यावहारिक रूपमा अध्ययन गर्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ’ थापाको भनाइ छ ‘यसको महत्व केवल वर्तमानमा सीमित रहने छैन। यसले भविष्यका पुस्तालाई पनि सृजनशीलता र नवीनताका लागि प्रेरणा दिनेछ।’
प्रतिक्रिया