काठमाडौं ।
जेली जस्तो हालसम्मकै सर्वाधिक यादगार र सार्थक लोकप्रिय सामाजिक टेलिश्रृंखलाका निर्देशक दीपेन्द्र गौचनद्वारा निर्देशित फिल्म मिसिङः केटी हराएको सूचना भोलि शुक्रवारबाट रिलिजमा आउँदैछ। गौचनले २२ वर्षपछिको आफ्नो कामका लागि चुनौतीपूर्ण कमब्याक मानेका छन्। उनी २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमब्याक भएका हुन्।
मिसिङः केटी हराएको सूचनाको कथा लेखनको शुरूवात निकै रोचक भएको दीपेन्द्रले खुलाए। ‘म कम्बोडियामा पढाउँछु। विद्यार्थीले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक हो। मैले दुईजना पात्रको एउटा कथा लेख्नु भनेर विद्यार्थीलाई अह्राएँ। उनीहरूले दुई हप्ताको समयमा कथा त लेखे, तर सबै मैले अस्वीकृत गरिदिएँ। किनकि त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ। तर विद्यार्थीले अन्य कथा ल्याएनन्। उल्टो उनीहरूले मलाई तपाईं नै कथा लेखेर देखाउनुहोस् भनेर चुनौती दिए’ दीपेन्द्रले सुनाए ‘विद्यार्थीको चुनौतीलाई स्वीकारेर एउटा कथा लेखेँ, सर्ट फिल्म बनाएँ। त्यो फिल्मले फेस्टिभलमा अवार्ड नै जित्यो।’ कम्बोडिया बसाईको २२ वर्षपछि नेपाल फर्किंदा दीपेन्द्र त्यही कथा बोकेर आए।

‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन सुहाउँदो र अझ प्रगाढ हुने पाएँ। मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो फिल्मको कथा लेखेँ’ उनले सुनाए ‘स्क्रिप्ट फाइनल गर्न झण्डै तीन महिना लाग्यो। अङ्ग्रेजीमा लेखेको स्क्रिप्ट म, अमित पोखरेल र अमितेष शाह मिलेर नेपालीकरण गर्यौँ। हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो। त्यो पात्र हामीले नाजिरमा पायौँ। पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन्। किनकि उसलाई भेट्ने बित्तिकै म प्रभावित भएँ। गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो। मधेसको पात्र बनाएपछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ। मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो। मधेसको जोकोही पात्रलाई नेपालीपनको भावना अवश्य नै हुन्छ। जतिसुकै हासखेल रमाइलो गरे पनि राष्ट्रियताको मामलामा उसको अडान हुन्छ। यही कुरा फिल्ममा पस्केको छु।
दीपेन्द्रका अनुसार मिसिङः केटी हराएको सूचना महिला केन्द्रित छ। ‘यो फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन। राम नाजिर कि सीता सृष्टि? दुवैको भूमिका बराबरी छ। त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो। महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरञ्जित पनि गर्नुहुँदैन। म नेचुरल किसिमले होस् भन्ने चाहन्छु। मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ’ उनी भन्छन्।











प्रतिक्रिया