पाठक पत्र: ऋण लिएर शहरमा घर बनाउँदाको परिणाम


सञ्चारमाध्यमहरुमा दिनहुँ कोही न कोही प्रहरी हिरासतमा पुगेको समाचार आउँछन्। कसैले भने आत्महत्या गरिरहेका छन् भने कोही देशै छोडेर भागेका छन् वा सम्पर्कविहीन भएका छन्। यो सबैको एउटा कारण छ, ऋण तिर्न नसक्नु । बूढापाकाले भन्थे, ‘ऋण भनेको घिन हो ।’ रुखमुनिको बाली फल्दैन, ऋण लिने मान्छे कहिल्यै उँभो लाग्दैन भनिन्छ। अहिले यी सबै उखान आम नागरिकको जीवनसँग मेल खान पुगेका छन् । सरकारले करको निम्ति बैंक, वित्तीय संस्था, सहकारी खोल्न लाइसेन्स दियो । बैंक, वित्तीय संस्थाहरुले सेवा दिने नाममा जनतालाई ऋण बोकाइदिए । मिटर ब्याजमा ऋण प्रवाह गर्न थाले । अनि त्यही ऋण तिर्न नसकेर जनता मर्नु कि बाँच्नु अवस्थामा पुगेका हुन् ।

पहिला–पहिला डाँडाकाँडा, उब्जनी नहुने जमिनमा घर बनाइन्थ्यो । किनकि त्यस्तो जग्गामा घर बनाएपछि अन्य खेतीयोग्य जमिनमा खेतीपाती गर्न पाइन्थ्यो। त्यति बेला मानिसहरुले ढुंगा र माटोबाट घर बनाउँथे । घर बनाउँदा कसैसँग ऋण लिँदैनथे अथवा घरमा खर्च नै गरिँदैनथ्यो। आफ्नै खेतबारीमा भएको काठलगायत सामानहरुबाट घर निर्माण गरिन्थ्यो । अहिलेजस्तो घर बनाउन कामदार खटाइँदैनथ्यो। एकको घर बनाउँदा अर्कोले सहयोग गथ्र्यो भने अर्कोको घर बनाउँदा उसले पनि सहायता गथ्र्यो । घरको छानो पराल, झिँगटी, खरको हुन्थ्यो। कोही–कोहीले मात्रै जस्ताको छानो हाल्थे । त्यति बेला मानिसहरुको सोचाइ थियो, घर भनेको बस्ने बास मात्र हो । यसमा धेरै खर्च गर्नुहुन्न । बरु जग्गा भयो भने त कमाएर खान सकिन्छ । त्यसैले, घर बनाउँदा न ऋण लिइन्थ्यो, न धेरै जग्गा मासिन्थ्यो।

घरमा लगानी गर्नुभन्दा कृषि, पशुपालनमा वा जग्गामा मानिसहरु लगानी गर्थे । एउटै व्यक्तिको जमिन सयौं रोपनीसम्म हुन्थ्यो । खेतीपाती गरेरै जीविकोपार्जन गरिन्थ्यो । रोचक कुरा त के छ भने, अहिलेजस्तो ठूला घर नभए पनि त्यति बेलाका मानिसहरु खुशी थिए । किनकि उनीहरु ऋणी थिएनन् । खेतबारी आफ्नै नाममा थियो ।

कुनै बैंक, वित्तीय संस्थाको ऋणी थिएनन् । यसैले, मानिसहरु दिनभर आफ्नो खेतबारीमा काम गर्थे अनि राति आनन्दले सुत्थे । बिहान ३–४ बजे उठिसक्थे । उठेर घर लितपोत गर्नेदेखि धाराबाट पानी ल्याउने, पशुलाई आहार दिने, दूध दुहुनेलगायत कामहरु मानिसहरु उज्यालो हुँदा सकिसक्थे । अधिकांशले बिहानै घरको काम सक्थे अनि खेतबारीमा काम गर्न जान्थे । दिनभर खेतबारीमै व्यस्त हुन्थे ।

त्यति बेला मानिसहरु चौबीसै घण्टा व्यस्त हुन्थे । जसका कारण उनीहरु स्वस्थ्य रहनुका साथै गलत बाटो वा सोचाइमा जाँदैनथिए । ०४२ सालदेखि भूमाफिया, दलालीहरुले नयाँ पोलिसी ल्याए । विकास गर्ने भन्दै खेतीयोग्य जमिन, डाँडाकाँडा सबै प्लटिङ गर्न थाले । अनि काठमाडौं उपत्यकासहित देशभर पुराना घरहरु विस्थापित भए । खेतीयोग्य जमिनसमेत खण्डीकरण गरेर सकियो ।

पहिले–पहिले घर र मतान हुन्थ्यो । सबैका गाईवस्तु हुन्थे । मतानमा पशु राखिन्थ्यो । तर, पछिल्लो समय पशुपालन गर्नेहरु भेटिनै मुस्किल छ । अहिले सिमेन्टी र सिसाबाट घर बनाइएको छ, त्यो पनि खेतीयोग्य जमिनमा । घर बनाउँदा बैंक, वित्तीय संस्थाबाट लाखदेखि करोडौं ऋण लिएको हुन्छ । अनि त्यही ऋण कसरी तिर्ने ? भनेर मानिसहरु रातभर निदाउन सक्दैनन् ।
घर त ठूलो महलजस्तो छ । तर, जति ठूलो र राम्रो घर भए पनि मानिस खुशी, सुखी र आनन्द नभएपछि के गर्नु ? ०४२ सालअघि उपत्यकामा एउटैको १५ रोपनीदेखि सयौं रोपनीसम्म जमिन थियो । जमिनमा फलेको अन्नले उनीहरुलाई वर्षभरि खान पुग्थ्यो । र, अहिलेजस्तो ग्यासमा खाना पकाइँदैनथ्यो । दाउरा, मकैको खोया तथा ढोड, काठको धूलो, गोबरलगायतबाट खाना पकाइन्थ्यो।

त्यति बेला मानिसहरु खुशी थिए । न कसैको ऋण थियो, न एक टुक्रा जग्गा बेच्नुपरेको थियो । न कोही भोको नै बस्नुपथ्र्यो । दही, दूध आफ्नै घरमा उत्पादन गरिन्थ्यो । केही पनि किन्नै पर्दैनथ्यो । तर, जब भूमाफिया, दलालीहरुले जग्गा प्लटिङ गर्न थाले तब उनीहरु फसे । एक हजार आनामा बिक्री नहुने जमिन दलालीहरुले पाँच हजार दिन्छु भने । यसरी आनाकै हजारौं रुपियाँ फाइदा हुने देखेपछि मानिसहरुले धमाधम जग्गा बेच्न थाले ।

भूमाफिया, दलालीहरुले एकैचोटि रोपनीका रोपनी जग्गा किने । अनि यही जग्गामा डोजर चलाई टुक्राटुक्रा बनाए । ०५२ सालमा माओवादीले जनयुद्ध शुरु ग¥यो । गाउँमा माओवादीले आतंक मच्चाएपछि मानिसहरु शहर आए । शहर आएपछि बस्ने बास चाहियो । अनि मानिसहरुले गाउँको जमिन बेचेर शहरमा जग्गा किन्न थाले । शहरमा नागरिकको बढ्दो भीडभाडको फाइदा भूमाफिया, दलालीहरुले उठाउनु उठाए ।

निःमुखा, गरिब जनताबाट आनाको पाँच हजारमा किनेको जमिन उनीहरुले लाखदेखि करोडसम्ममा बेचबिखन गर्न थाले । फेरि शहर बस्नै पर्ने बाध्यता भएपछि माओवादीबाट बचेर आएकाहरुले पनि यहाँ जग्गा किनेर बास बसाए । पहिला १५ देखि ८० रोपनी जग्गा भएकाहरुसँग अहिले चार आना जग्गा छ । त्यो पनि बैंक, वित्तीय संस्थाको नाममा । ७४ जिल्लाका मानिसहरुले तीन जिल्ला– भक्तपुर, ललितपुर र काठमाडौंमा जग्गा किनेर घर बनाएका छन् । यहाँ घर बनाएपछि गाउँको जग्गा बाँझै छोडे । कतिपयले बेचे । गाउँमा भएका घर र मतानमा ताल्चा लगाए र पशु पनि बेचे ।

यहाँ घर बनाएपछि काम गर्न पनि मान्छे राख्न थाले । गाउँमा बिहान ३–४ बजे उठ्नेहरु शहरमा ८ बजेसम्म सुत्न थाले । गाउँमा रोपनीका रोपनी जग्गा हुँदा घमण्ड नभएकाहरु यहाँ तीन–चार आना जमिनमा घर बनाएपछि मै हुँ भन्न थाले । गाउँमा जमिन बाँझै बस्यो। छिमेकी मुलुकमा विषादी हालेर उब्जनी गरिएको अन्न खान थालियो । दिनभर छिमेकीसँग कुराकानी गरेर वा मोबाइल चलाएर दिन कटायो। घर भाडामा लगाएकै पैसाले जीविकोपार्जन गर्न थाले । तर, कोरोना महामारीपछि आएको मन्दीले अहिले उनीहरु घर बनाउँदा बैंक, वित्तीय संस्थाबाट लिएको ऋणका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
दलाली, भूमाफियाहरुले जनतालाई घर बनाउन उक्साए।

शहरमा घर बनाएमा ठूलै उपलिब्ध हुने ठानेर दलालीको लहैलहैमा लागेर बैंक, वित्तीय संस्थाबाट महँगो ब्याजमा कर्जा लिएर घर बनाइयो । जनताले दलालीहरुको खेल बुझेनन् वा ढिलो बुझे। अहिले दलालीहरुबाट आफूहरु फसेको अधिकांशले बुझेका छन् । तर, फसेपछि वा डुबेपछि बुझेर के गर्नु ? शहरमा साहु बनेकाहरु बैंक, वित्तीय संस्थाले घर लिलाम गरेपछि सुकुम्बासी अवस्थामा पुगेका छन्।

हिजो गाउँ छोडी–छोडी शहर आएका उनीहरु अहिले धमाधम आत्महत्या गरिरहेका छन्। मानिसले आफ्नो पृष्ठभूमि कहिल्यै बिर्सिनुहुन्न । बूढोपाकाले भन्थे, नसक्ने भारी कहिल्यै नबोक्नु। मानिसहरुले आफन्तसामु ठूलो बन्न बैंक, वित्तीय संस्थाबाट ऋण लिई–लिई घरजग्गा किने । तर, अहिले त्यही घरजग्गाका कारण आत्महत्या गर्नुपर्ने अवस्था आयो। आफन्तसामु मुख देखाउने अवस्था रहेन भने जेलको चिसो भुइँसमेत सहनुपर्ने अवस्था आएको छ।

– रुषा थापा, भक्तपुर ।