पुराना दलले नेपाल निर्माणका लागि केही नगरेको भन्दै केही वर्षअघि जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगीमा परेपछि सो पार्टीका कार्यकर्ताले देखाएको चरित्र हेर्दा उनीहरुमा धैर्य गर्ने क्षमताको कमी भएको महसुस हुन थालेको छ। लामिछाने मात्रै राम्रा, अरु सबै नराम्रा र लामिछानेले जे–जस्तो अपराध गरे पनि अनुसन्धान नै हुन नहुने अनि अरुमाथि मात्रै अनुसन्धान तथा तहकिकात हुनुपर्नेजस्ता उच्छृङ्खल व्यवहारका कारण उनीहरुमाथि भरोसा राख्नेहरु पनि बिस्तारै शिथिल हुन थालेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरी देशका गरिब, बूढापाका, लोग्नेमान्छे तथा महिलालाई समेत प्रयोग गरेर दलका नेतालाई जथाभावी गाली गर्न लगाउने अनि त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरेर पाँडेगाली गर्ने काम रास्वपाका कार्यकर्ताबाट पछिल्लो चरणमा तीव्र हुँदै आएको देखिन्छ। सो पार्टीका कार्यकर्तामा देखिएको अराजकताले जनतामा थप त्रास पैदा गराएको छ। सहकारी ठगीमा संलग्न रहेको भनी विभिन्न जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दै मुद्दा दायर गरेपछि नैतिकताको समेत ख्याल नगरी रास्वपाका नेता तथा कार्यकर्ता पञ्चायतका बेला मण्डलेहरुले बहुदलवादीमाथि गर्ने दमनको शैलीमा उत्रिनु पक्कै पनि राम्रो होइन।
भीड जम्मा गरेर कानुनलाई नै प्रभावित पार्ने रास्वपाको पछिल्लो शैलीले उनीहरुलाई नाफाभन्दा पनि घाटा नै पुर्याउने देखिन्छ। न्यायालयलाई नै प्रभावित पार्न सामाजिक सञ्जालको दुरुपयोगले उनीहरुलाई कालान्तरमा फाइदा गर्ने देखिँदैन। एकैछिन्को न्यानोका लागि रास्वपाका कार्यकर्ताले गरेको सामाजिक सञ्जालको दुरुपोग उनीहरुमाथि नै नखनिएला भन्न सकिन्न। रास्वपाका सभापति लामिछानेले सहकारी ठगी गरेकै हो भनेर बहस गर्ने कानुन व्यवसायीमाथि आक्रमण गरेर न्यायालयलाई प्रभावित गर्ने जुन काम अराजक भीडबाट भइरहेको छ, यसले मुलुकमा हिंसा निम्त्याउन सक्ने भएकाले त्यसतर्फ उनीहरुको ध्यान जान जरुरी छ।
सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको भए अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिन्थ्यो होला । तर अदालतले सहकारी ठगीमा लामिछाने निर्दोष हुन् भन्ने आधार नदेखिएकाले ६० लाख धरौटी माग गर्ने ठहर गर्दा पनि कार्यकर्ताले ‘रवि दाइ हाई हाई’ भन्दै नारा लगाउनु कति युक्तिसंगत होला ?
युद्ध जितेर फर्केको सिपाहीले हात हल्लाएझैँ लामिछानेले देशमा न्याय नमरेको भन्दै जनतामा थप भ्रम छर्दै हिँडेका छन्। यसरी भ्रमको खेती गर्दै अन्य दललाई सत्तोसराप गरेर देश अघि बढ्ने त पक्कै होइन होला, तर पनि रास्वपाको हर्कत हेर्दा भने लामिछाने कहीँ कतै दोषी होइन, राज्यसत्ताले फसाउन खोजेको भनेर प्रमाणित गर्न खोज्नुलाई मूर्खताबाहेक केही भन्न सकिँदैन। आफू पनि सक्किने र देशलाई पनि डुबाउने अभियान पक्कै पनि मुलुकका लागि सुहाउँदो विषय होइन। दोषी भए कारबाहीको दायरामा ल्याउन दिने वातावरण निर्माण गर्न सक्नुपर्छ । त्यसले मात्रै देशमा सुशासन कायम हुने देखिन्छ।











प्रतिक्रिया