नागरिक कर्तव्यच्युत नहोऔँ


राजनीतिक दलहरू भ्रष्ट भए भने नागरिक निराश हुन्छन् । हुन त राजनीतिक दल खराब हुनुमा राजनीतिक दलमा रहेका व्यक्ति मात्र दोषी हुँदैनन्, यसमा जनता पनि जिम्मेवार हुन्छन्। यसमा नागरिकले आफ्नो भूमिका बिर्सिए भने राजनीतिक दलमा रहेका मुख्य नेता निरङ्कुश हुँदै जान्छन्।

मुख्यरुपमा राजनीतिक दलले गर्ने भ्रष्टाचार नियन्त्रण गर्न नागरिकले भ्रष्टाचारसम्बन्धमा सही जानकारी राख्नु र अरूलाई पनि जागरूक बनाउनुपर्छ । त्यसका साथै स्वतन्त्र मिडिया, सामाजिक सञ्जाल र जनचेतना अभियानमार्फत भ्रष्टाचारका मुद्दाहरू उठाउनुपर्छ । लोकतान्त्रिक अधिकारको उपयोग गर्नुपर्छ ।

स्वतन्त्र र निष्पक्षरुपमा निर्वाचन गरी योग्य र इमानदार उम्मेदवार चयन गर्नु नागरिकको अधिकार हो । तर यहाँ केही सीमित राजनीतिक दलले अधिकांश क्षेत्रमा आफ्नो पकड जमाएका छन् । दलले सबै क्षेत्रमा भ्रातृ संगठन विस्तार गर्दा नागरिक नै नभएको जस्तो महसुस भएको छ। यसले गर्दा नेपालमा निष्पक्ष नेपाली नागरिकभन्दा पनि कार्यकर्ताको संख्या बढी देखिएको छ। कार्यकर्ता देशप्रति भन्दा दलप्रति निम्मेवार हुने गरेका छन्। यसले गर्दा राजनीतिक दल बिस्तारै निरङ्कुश बन्दै गइरहेको आभास भएको छ। यस्तो प्रवृत्ति लोकतन्त्रका लागि घातक पक्ष हो। भ्रष्ट नेताहरूलाई अस्वीकार गर्न जनसंगठन, प्रदर्शन र अभियान चलाउनु नागरिकको कर्तव्य भए पनि यस्तो कार्य भएको छैन। नागरिकले सरकार र राजनीतिक दलहरूको गतिविधिमा निगरानी राख्न सकेका छैनन्।

त्यस्तै यहाँ सूचनाको अधिकार प्रयोग कमै मात्र भएको छ । कानुनी प्रक्रियामार्फत पारदर्शिता सुनिश्चित गर्न नागरिकले सकेका छैनन्। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी उजुरी दर्ता गर्न नागरिक समाजले सकेका छैनन्। देशमा नागरिक समाज पनि दलको भइसकेपछि देश र जनताको आवाज उठाउने नागरिक पाउन टुकी बालेर खोज्नुपरेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने आयोग वा सम्बन्धित निकायमा मुद्दा लगेर न्यायको माग गर्न सकिएको छैन। किनभने भ्रष्टाचार छानबिन गर्ने निकायको प्रमुख नै राजनीतिक दलले नियुक्त गरेका प्रतिनिधि छन् । जुन प्रमुख दलप्रति बफादार हुनु स्वाभाविक पनि हो।

त्यसै गरी नेपालमा नयाँ राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारहरूको समर्थन गरेर परम्परागत भ्रष्ट दलहरूलाई चुनौती दिने कार्य हुन लागे पनि अवस्था चुनौतीपूर्ण छ । सामाजिक सुधारका लागि गैरराजनीतिक अभियानहरू शुरु गर्नु आजको आवश्यकता भइसकेको छ । दलहरुको गलत क्रियाकलापको लागि भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था वा दातृ निकायहरूको ध्यानाकर्षण गराउनु पनि नागरिकको दायित्व हो तर यस्तो कार्य हुन सकेको छैन।

आफू इमानदार तथा पारदर्शी भई समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्ने नागरिको कर्तव्य हो। यो देश मेरो हो भन्ने भावना सबैमा जागृत हुनुपर्छ। व्यक्तिगतरूपमा भ्रष्ट गतिविधिहरूको विरोध गर्नु र कुनै पनि घुस वा गैरकानुनी काममा संलग्न नहुनु नागरिकको कर्तव्य हो। भ्रष्टाचारविरुद्धको लडाइँ दीर्घकालीन प्रक्रिया हो। लगातार दबाब र सुधारात्मक कदमहरूमार्फत मात्र सुधार सम्भव छ। यसका लागि नागरिक सचेत हुनुपर्छ। भ्रष्ट राजनीतिक दललाई चुनावबाटै तह लगाउनुपर्छ । नागरिक पहिला देशको भएपछि मात्र राजनीतिक दलको हुनु उचित हुन्छ।