भिडियोमा जंगली काँडा


काठमाडौं ।

पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र मोडल बादल श्रेष्ठले अभिनय गरेको जंगली काँडा बोलको गीत भिडियोसहित इटहरीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

सिलाम साक्मा प्रोडक्सन हाउसको ब्यानरमा निर्मित गीतको भिडियो बारत लिम्बूको निर्देशनमा तयार गरिएको हो। होम स्टेमा आएको पाहुनाले आफूले मन पराएको मान्छेमाथि नजर लगाएपछि देखिएको शंका र आक्रोश भिडियोमा समावेश गरिएको छ। साँचो प्रेम कहिले पनि टुट्दैन भन्ने उदाहरण भिडियोले दिएको छ। सार्वजनिक भिडियोमा बादल र सुरेन्द्रका साथमा क्रिस गुरुङ र तुल्सा सारुमगरले अभिनय गरेका छन्।

नन्दु गुरुङको स्वर रहेको गीत कुमार गुरुङले लेखेका छन् भने उनैले संगीतवद्ध गरेका छन्। गीतको संगीत संयोजन अशोक थापाले गरेका छन्। भिडियोमा छायांकन सुमन तामाङ र सम्पादन विकास धमलाको छ। भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।